शिक्षक परीक्षामा अख्तियारले डामेका व्यक्ति नै सेवा आयोगको सदस्य नियुक्त – Nepal Press

शिक्षक परीक्षामा अख्तियारले डामेका व्यक्ति नै सेवा आयोगको सदस्य नियुक्त

काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारवाहीमा परेका व्यक्तिलाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त गरेको खुलेको छ ।

शिक्षक सेवा आयोगमा नवनियुक्त सदस्य डिल्लीराम रिमाललाई अख्तियारले २०६३ सालमा आफन्तलाई शिक्षक सेवामा पास गराइ भ्रष्टाचारजन्य कार्य गरेको ठहर गरेको थियो ।

माध्यमिक तहका शिक्षक पदको लेखा विषयका प्रश्नपत्र निर्माण, मोडरेशन,उत्तरपुस्तिका परीक्षणलगायतका काममा संलग्न भइ आफन्तलाई पास गराएको लाई माध्यमिक तहका शिक्षक पदको परीक्षामा आफन्तलाई उत्तीर्ण गराएको भन्दै रिमाललाई अख्तियारले कारवाहीको निर्देशन दिएको थियो ।

शिक्षा मन्त्रालयको उपसचिव रहँदा रिमाललाई प्रश्नपत्र निर्माणको कार्यमा विशेषज्ञका रूपमा पठाएको र सोही विषयको उत्तर पुस्तिका परीक्षण पनि उनैले गरेर भाइ नाता पर्ने लेखनाथ रिमाललाई पास गराई अन्तर्वार्तामा सामेल गराएको अख्तियारको छानविनले पुष्टी गरेको थियो ।

तत्कालीन अवस्थामा रिमाल सिरहाको जिल्ला शिक्षा अधिकारी रहे पनि कार्यालयबाट बिदा लिई काठमाडौं आएको र लेखा विषयका उत्तरपुस्तिका परीक्षण गरेको अख्तियारको निर्णयमा उल्लेख छ ।

अख्तियारले थप कारवाहीका लागि शिक्षक सेवा आयोगमा लेखेर पठाएको थियो । तर, यसबीचमा रिमाल शिक्षा मन्त्रालयको सहसचिवबाट अवकाश भइसकेर शिक्षक सेवा आयोगकै सदस्यमा नियुक्त भएका छन् ।

शिक्षकको परीक्षामा भ्रष्टाचारजन्य कार्य गरेको भनेर अख्तियारले किटान गरेका व्यक्तिलाई नै शिक्षक सेवा आयोगको सदस्य बनाइएपछि आयोगको निष्पक्षमा प्रश्न उठ्ने भन्दै नियुक्ति बदर गर्न उच्च अधिकारीहरूले सुझाव दिएका छन् ।

यो विषय पुनः अख्तियारमा लैजाने तयारी समेत शिक्षा मन्त्रालयका कर्मचारी संगठनहरूले गरेका छन् ।

गत असोजबाट नेतृत्वविहीन बनेको आयोगमा नयाँ सरकार आएपछि अध्यक्षमा मधुप्रसाद रेग्मीसहित पदाधिकारी नियुक्त भएका हुन् । नियुक्तिमा भएको ढिलाइका कारण नयाँ शिक्षक छनौट र शिक्षकहरुको वृत्ति विकास ठप्प भएको थियो ।

 


प्रतिक्रिया

3 thoughts on “शिक्षक परीक्षामा अख्तियारले डामेका व्यक्ति नै सेवा आयोगको सदस्य नियुक्त

    1. रिमाल थर हुनेवित्तिकै देशभरिका रिमाल कसरी नाता पर्छ ? गलत काम भएको ठहर भएको भए अख्तियारले त्यत्तिबेला नै वदर गरेर कारबाही गर्थ्यो । यो त शिक्षक सेवा आयोगमा कर्मचारी भएर बसेका कुनै सहसचिवले आयोगको सदस्यमा प्रतस्पर्धा गरेको र छनौटमा नपरेकाले रिसइवी साधना गर्न लगाएको हो भन्ने जस्तो देखियो । यस्ता कुराकोपछि लाग्नु भनेको प्रधानमन्त्री र मन्त्री भएका सवैले वालुवाटार बेचेको हो भने जस्तै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर