पारसका भावी योजना : क्यानको नेतृत्वदेखि राजनीतिसम्म – Nepal Press

पारसका भावी योजना : क्यानको नेतृत्वदेखि राजनीतिसम्म

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले सन्न्यास घोषणापछि नेपाली क्रिकेटको व्यवस्थापनमा आउने चाहना व्यक्त गरेका छन् । सन्न्यासपछि पहिलोपटक पत्रकारहरूसँग प्रस्तुत भएका उनले आफ्ना अरु पनि भावी योजना सुनाए ।

पारसका अनुसार तत्काल उनले आफ्नो क्रिकेट एकेडेमीलाई अघि बढाउने सोचेका छन् । यो एकेडेमीलाई ३-४ वर्षमा देशभर विस्तार गर्ने लक्ष्य रहेको उनले बताए । दुई वर्षपछि नेपाल क्रिकेट संघको नेतृत्वमा आउने उनको योजना छ ।

‘अहिले आफ्नो एकेडेमीलाई राम्रो तरिकाले लैजाने सोचेको छु, भविष्यका लागि अरु पनि विकल्पहरू छन्,’ पारसले भने । आफूले पहिलेदेखि नै क्रिकेट व्यवस्थापनमा आउने योजना बनाएको उनले सुनाए ।

पारसले भने, ‘सन्न्यासपछि के गर्ने भन्दा यही नै विकल्प देखेको थिएँ । तर, म आएर मात्रै सबै ठीक हुने होइन । सबैको साथ चाहिन्छ ।’

राष्ट्रिय क्रिकेट खेलाडीले खेलबाट सन्न्यास लिएको दुई वर्षपछि मात्रै क्यानको चुनाव लड्न सक्ने प्रावधान रहेकाले आफूसँग केही समय रहेको पारसले बताए ।

‘मसँग दुई वर्ष समय छ । यो बीचमा अरु पनि विकल्प छन् । क्रिकेट प्रशिक्षकका रूपमा हुन सक्छ वा कमेन्ट्रीमा पनि हुन सक्छ,’ उनले भने । क्रिकेट संघमा आउने चाहना भए पनि यो चुनौतिपूर्ण रहेको पारसले स्वीकारे ।

उनले भने, ‘पक्कै पनि सजिलो छैन । चुनावी प्रक्रियाबाट आउनुपर्ने हुन्छ । जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म आउनुपर्ने हुन्छ । आएर पनि एक्लैले गर्न सक्छु भन्ने होइन । सबैको सहयोग चाहिन्छ ।’

आगामी दिनमा घरेलु प्रतियोगिता खेल्ने भए पनि त्यसमा धेरै फोकस नहुने पारसले संकेत गरे । ‘घरेलु प्रतियोगिता अलिकति खेल्छु होला, अहिलेसम्म खेल्छु नै भन्ने छ,’ उनले भने ।

पछि राजनीतिमा जम्प गर्ने सम्भावना छ कि छैन भन्ने पत्रकारको प्रश्नमा पारसले पूर्ण इन्कार गरेनन् । राम्रो अवसर पाएमा राजनीतिमा जान सक्ने उनले बताए ।

‘यदि राम्रो अवसरहरु आउँछ भने ह्वाइ नट । तर त्योभन्दा पहिले मैले क्रिकेट व्यवस्थापनमा आफूलाई प्रमाणित गर्न पर्‍यो । त्यसपछि भविष्यमा  कुनै संस्थासँग वा कुनै पार्टीसँग जोडिएर राम्रो गर्न सकिन्छ भन्न लाग्यो भने त्याे पनि सोच्ने छु,’ पारसले भने ।

आफ्नो किताब लेख्ने इच्छा रहेको उनले बताए । क्रिकेट करिअरमा धेरै स्मरणीय क्षणहरु रहेको भन्दै उनले यसलाई किताबमा उतार्ने चाहना रहेको प्रष्ट पारे ।

आफूले सन्न्यास घोषणा गरेपछि क्यानका अध्यक्षले पुनर्विचार गर्न सुझाएको भन्दै उनले आफ्नो निर्णय परिवर्तन नगर्ने बताए । ‘म धेरै सोचेर निर्णय लिन्छु र निर्णय गरेपछि ब्याक हुन्न,’ उनले भने, ‘मैले निकै साेचविचार गरेर निर्णय लिएको हुँ ।’

उनले आजसम्म आफ्नो प्यासनले काम गरेको भन्दै आजबाट करिअरको शुरूवात भएको बताए । त्यो करिअर क्रिकेटमा नै खोज्ने उनकाे भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *