एक वर्ष अघि उपेन्द्रलाई ‘रेस्क्यू’ गरेका महन्थ आफैं दुर्घटनामा – Nepal Press

एक वर्ष अघि उपेन्द्रलाई ‘रेस्क्यू’ गरेका महन्थ आफैं दुर्घटनामा

काठाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवादमा अन्तिम फैसला दिन निर्वाचन आयोगले सनाखत लिँदै गर्दा महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षका नेता-कार्यकर्ताको अनुहारमा छुट्याउन सकिने गरी फरकपन थियो । कार्यकारणी सदस्यहरुको सनाखत नसकिँदै उनीहरुमा आयोगको सम्भावित परिणामको पूर्वानुमान भइसकेको थियो । त्यसैले ठाकुर पक्ष मलिन अनुहार लिएर हिँडिरहेको थियो भने यादव पक्ष नेताहरु प्रफुल्लित मुद्रामा थिए ।

आयोगले ठाकुर पक्ष र यादव पक्षका लागि बेग्ला बेग्लै सनाखत स्थलको व्यवस्था गरिदिएको थियो । त्यहाँ देखिएको माहोलबाटै सम्भावित फैसलाको पूर्वानुमान गर्न सकिन्थ्यो ।

त्यसैले आयोगको फैसला पूर्व नै ठाकुर पक्षका दुई वरिष्ठ नेताले हार स्वीकार गरेको भावमा आफ्ना अभिव्यक्ति दिएका थिए । एक वर्षअघि आफूहरुकै कारण उपेन्द्र यादवको उद्धार भएको तर अहिले आफ्नै लागि दुर्भाग्यपूर्ण अवस्था आएको भनाइ राजेन्द्र महतो र शरदसिंह भण्डारीले मिडियासामू राखे ।

महतोको भनाइ थियो, ‘उपेन्द्र यादवको पार्टी हामीले एक वर्ष पहिले बचाइदिएका थियौं । एक सालभित्रै यो अवस्था आउला भनेर कल्पना पनि गरिएको थिएन । तर, दुर्भाग्यपूर्ण अवस्था आयो ।’

अनि भण्डारीले भनेका थिए, ‘हामीले अहिले विभाजन मागेको होइन । जसपा एकीकरणको बेला उपेन्द्र यादवको अनुहार र अवस्था कस्तो थियो जगजाहेर छ । साँच्चै भन्ने हो भने हामीले उपेन्द्रजीलाई रेस्क्यू गरेका थियौं ।’

दुवै नेताको भनाइमा रेस्क्यू गरिएका नेताबाट आफूहरु दुर्घटनामा पारिएको भाव व्यक्त थियो ।

एक वर्ष अघिको त्यो रेस्क्यू

जसरी अहिले जसपाको विभाजनमा एमाले अध्यक्ष केपी शर्मा ओली जोडिन आइपुग्छन्, त्यसरी नै संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीचको एकिकरणमा पनि उनै जोडिन्छन्।

बाम गठबन्धनले पाएको सुविधाजनक मत लिएर प्रधानमन्त्री बन्न तयार रहेका ओलीसँग संघीय समाजवादी पार्टी मिसिएपछि सरकार झण्डै दुई तिहाइ हाराहारीको बन्न पुग्यो । अर्को मधेशवादी पार्टी भने विपक्षमा बस्यो ।

उपेन्द्र यादव आफैंले रोजेको मन्त्रालयसहित संघीय समाजवादी पार्टीको नेृत्व गर्दै ओली सरकारमा सहभागी भए । सरकार गठनको एक वर्ष पुगेपछि जसरी प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढ्दै थियो, त्यसैगरी यादवको पार्टीमा पनि विवाद बढ्दै थियो ।

ओलीलाई पनि आफ्नैहरुबाट संकट सिर्जना भइरहेको थियो भने यादवले पनि त्यस्तै अवस्था पार्टीमा भोगिरहेका थिए । यहीबीचमा प्रधानमन्त्री ओलीसँगको ‘टसल’ का कारण यादव करिब डेढ वर्षमै सरकारबाट बाहिरिए ।

प्रधानमन्त्री ओलीले आफूलाई सोध्दै नसोधी आफ्नो मन्त्रालय परिवर्तन गरिदिएकोमा अपमानित भएको अनुभव गरिरहेका थिए । त्यस्तोमा उनले सरकारमा बसिरहन ठीक ठानेनन् । तर, उनकै पार्टीका मोहमद इस्तियाक राइ लगायतका केही मन्त्रीले सरकार छाड्न चाहेका थिएनन् ।

यादवको पार्टीका करिब आधा दर्जन सांसद दल विभाजन गरेरै भए पनि सरकारमै रहिरन चाहन्थे । पार्टीभित्र संकट झेलिरहेका ओलीले त्यसलाई टार्न यो विभाजनलाई अवसर ठाने । यादव पक्षका ८/१० जना सांसद आफ्नो पार्टीमा ल्याउन सकिएकमा आफू दुर्घटनाबाट बच्ने अनुमान ओलीको थियो । त्यही मेसोमा २०७७ वैशाख ८ गते ओलीले दल फुटाउन सजिलो हुने अध्यादेश ल्याइदिए । ओलीले यो अध्यादेश आफ्नो फाइदा र यादवको पार्टीबाट फुट्न चाहनेलाई सजिलो हुनेगरी ल्याइदिएका थिए । नेकपाभित्रै व्यापक विरोध भएको र यादवले आफ्नो पार्टी फुटाउन ल्याइएको भनेर चर्को विरोध गरेपछि त्यो ओलीका लागि प्रत्युपादक भयो ।

पार्टीभित्र र बाहिरको चर्को दवाव थेग्न गाह्रो भएपछि ओलीले अध्यादेश फिर्ता लिनुपर्ने अवस्था आयो । तर, अध्यादेश ल्याएको दुई दिनमै घट्ने जति राजनीतिक घटना घटिसकेका थिए ।

यादवको पार्टीका सांसद सुरेन्द्र यादव अपहरणमा परेको हल्ला चल्यो । उनी ओली सरकारमा यादव स्वाथ्यमन्त्री हुँदा राज्यमन्त्री थिए । अध्यादेश ल्याएको दुई दिनपछि १० बैशाखको साँझ ७ बजेपछि यादव बेपत्ता भएको खबर मिडियामा फैलियो । त्यसले अर्को तरङ्ग ल्याइसकेको थियो । उता यादवको अवस्था अज्ञात थियो, अर्कोतिर आफ्नो दल विभाजन रोक्न उपेन्द्र यादव लागिसकेका थिए ।

यादव र बाबुराम भट्टराई राजपासँग एकीकरण गर्ने वार्तामा जुटे । त्यही दिनको मध्यरातमा यादवको पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनाउने सहमति चमत्कारिक ढंगले भयो । मध्यरातमै ४ बुँदे सहमति सार्वजनिक भयो।

उता काठमाडौंको मेरियट होटेलमा अपहरणमा परेका भनिएका सांसद यादव रहेको खबर पनि आयो । साथमा थिए, एमाले नेता महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल । यसलाई धेरैले अपहरण भने । तर, यादवलगायत उनीसँगै रहेकाले सहमतिमा आएको बताए ।

घटना जे भएको भए पनि दुई पार्टीबीच भएको एकीकरणपछि यसको खास अर्थ भएन । यादवको पार्टी विभाजन हुनबाट जोगियो । एक प्रकारले महन्थ ठाकुरहरुले उपेन्द्र यादवको रेस्क्यू भएको थियो ।

विभाजनका खास कारण

समाजवादी पार्टीको अहिलेको विभाजनमा पनि एमाले अध्यक्ष ओली नै जोडिन आइपुग्छन् । गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे । त्यस बेला ठाकुर र यादव ओलीको कदमको विरोधमा उत्रिए । विघटनविरुद्ध छिटो प्रतिक्रिया व्यक्त गर्दै ठाकुर र यादवको हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा भनिको थियो, ‘प्रतिनिधि सभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो । यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा हो । तसर्थ सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौं ।’

तर, दोस्रो विघटनमा जसपा भित्रको अवस्था फरक रह्यो । अदालते पहिलो विघटन बदर गरिदिएपछि ओलीसँग ठाकुरको सामिप्यता बढ्यो । दोस्रो विघटनमा ठाकुर पक्ष मौन रह्यो । यादव पक्षले भने तिब्र विरोध गर्‍यो । यहीबीचका सरकारसँग केही सम्झौता गरेर ठाकुर पक्ष सरकारमा समेत सहभागि भयो । यसले पहिले नै एकजुट नरहेको जसपामा तिब्र विभाजन ल्याइदियो ।

एउटा पक्ष सरकारमा सहभागी भयो, अर्को पक्षले विघटनको विरोध गर्यो । ओलीले विश्वासको मत लिँदा ठाकुर तटस्थ बसे, यादव पक्ष ओलीको विपक्षमा । ठाकुर तटस्थ बसेकै कारण विपक्षी गठबन्धनले बहुमत पुर्याउने योजनामा धक्का लाग्यो ।

सरकारमा गएको १२ दिनमै अदालतले त्यसलाई उल्ट्याइदियो । ठाकुर पक्ष सरकारबाहिर भयो । जसपा विवाद निर्वाचन आयोगमा पुग्यो । एकले अर्कालाई पार्टीबाटै निस्कासन गरे । अदालतले संसद विघटन फेर पनि उल्ट्याइदियो । ओलीले पनि सरकार छाड्नुपर्ने अवस्था आयो । र, आज आयोगले फैसला गर्दै यादव पक्षलाई आधिकारिकता दियो ।

ठाकुरका सीमित विकल्प

ओली कदमको विरोधमा उत्रिएको तत्कालीन विपक्षीले स्वयं ठाकुरलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थियो । तर, ठाकुर त्यसमा तयार भएनन् । दोस्रो संसद विघटन अघिसम्म एक हिसाबले ठाकुर अबसरै अबसरको बीचमा थिए, तर उनले त्यसलाई उपयोग गरेनन् ।

कुनै बेला प्रधानमन्त्री नै बन्न सक्ने अवसरले घेरिएका ठाकुर निर्वाचन आयोगको आजको फैसलापछि ‘राजनीतिक दुर्घटना’ मा परेका छन् । दलबिहीन अवस्थामा पुगेका छन् उनी । उनको रेक्यू गर्न अहिले उपेन्द्र यादव साथमा हुने छैनन् ।

आयोगकै फैसला अनुसार अब नयाँ दल दर्ता गर्ने बाहेक उनीसँग कुनै विकल्प र अबसर छैन । केन्द्रीय कार्यकारणी समिति र संसदीय दलमा ४० प्रतिशत नपुग्ने भएकाले ठाकुरसँग रहेका सांसद जसपा छाडे कारवाहीमा पर्ने छन् ।

विभिन्न समूह जोडेर राजपा बनाएका ठाकुरको संठन यसअघि नै मजबुत थिएन । अहिले पहिले साथमा रहेका समेतले साथ छोडेपछि यादव झन् कमजोर बनेका छन् । जीवनको उत्तरार्धमा ठाकुरले फेरि शून्यबाट शुरुवात गर्नुपर्ने छ । नयाँ पार्टी खोलेर गरिएको उनको आह्वान जनताले पत्याइहाल्छन् भन्ने कुराको पनि केही ग्यारेन्टी छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर