व्यापार छैन, मोबाइल चलाएरै दिन काट्छन् असन-इन्द्रचोकका व्यापारी(भिडियाेसहित) – Nepal Press

व्यापार छैन, मोबाइल चलाएरै दिन काट्छन् असन-इन्द्रचोकका व्यापारी(भिडियाेसहित)

काठमाडौं । इन्द्रचोकमा १३ वर्षदेखि चुरा-पोतेको व्यापार गर्दै आएका अम्बास अचेल निकै तनावमा छन् । यो सिजनमा अघिल्ला वर्षहरुमा व्यापार गरेर भ्याइनभ्याइ हुने उनी अहिले फुर्सदिला बनेका छन् । कोरोना संक्रमण बढेदेखि घटेको उनको व्यापार अहिले ठप्पप्रायः छ ।

ग्राहक नआएपछि उनले पसल खोल्न भने छाडेका छैनन् । पहिला–पहिला एकाबिहानै खोल्ने पसल अचेल १० बजेपछि खोल्छन् । पसल खोले पनि ग्राहक नआएपछि मोबाइल चलाएर दिन कटाउँछन् । अनि, निराश हुँदै साँझ घर फर्कन्छन् । निराश हुँदै आलम भन्छन्– १३ वर्षमा योसाल जस्तो दिक्कलाग्दो व्यापार कहिल्यै भएको थिएन । कोरोनाले हामी जस्ता व्यापारीलाई उठ्नै नसक्ने गरी पछारिदिएको छ ।

दुई वर्ष अघिको साउनमा अब्बासले खाना खानसमेत फुर्सद पाउँदैनथे । अहिले जतिबेलै फुर्सदैफुर्सद भएर उनलाई गाह्रो परेको छ । ‘भूकम्पको बेला पनि व्यापारमा यस्तो सुख्खा लागेको थिएन’, अम्बास भन्छन्, ‘अहिले त दिनमा एकदुई जना ग्राहक आउँदा पनि खुसी हुनुपर्ने अवस्था छ ।’

वैशाख, जेठमा व्यापार नभए पनि साउनको व्यापारले तीन महिनासम्मको सटर भाडा तिर्न पुग्ने उनको अनुमान थियो । तर, साउनमा पनि उस्तै स्थिति भएपछि अम्बास चिन्तामा परेका छन् । भन्छन्, ‘अब सटर भाडा कसरी तिर्ने भन्ने कुनै टुंगो छैन । हामी जस्ता व्यापारी यहाँबाट विस्थापित हुनुपर्ने अवस्था आएको छ ।’

उनको होलसेल पसल हो । यहाँ सामान किन्न उपत्यका बाहिरका व्यापारीहरु आउने गर्थे । तर, कोरोना कहरसँगै भएको लकडाउनका कारण व्यापारीहरु आउँनै पाएनन् । यो सिजनमा व्यापार गर्नका लागि उनले सामान थप्ने गरेका थिए । तर यसपालि भएकै सामान पनि बिक्री भएको छैन । उनी अहिले स्कट सामान बेचेर ऋण तिर्न पाए हुन्थ्यो भन्ने कामना गरिरहेका छन् ।

सबैका लागि भएको लकडाउनले मान्छेहरुलाई खानलाउनै धौधौ भएकाले पनि उनको व्यापार नभएको अम्बासको बुझाइ छ । तीन महिना व्यापार गरेर वर्ष दिन टिक्नुपर्ने उनी अब यस्तै स्थिति रहे व्यापारबाट हात धुनुपर्ने बताउँछन् । तर, उनलाई यो अन्योल छ कि, भएको व्यापार पनि छाडेर कहाँ जाने के गर्ने ?

असनमा पोतेका व्यापार गरिरहेका सविन खानको अवस्था पनि उस्तै छ । ‘साउनमा चाहिँ अलिअलि व्यापार हुन्छ कि भन्ने आश थियो, तर अहिले पनि मोबाइल चलाएर दिन काट्नु परेको छ’, निकै निराश मुद्रामा खानले भने, ‘अब तीजमा व्यापार हुन्छ कि भन्ने आश छ, हेरौं के हुन्छ !’

 

उनले पनि गतवर्षकै स्टक सामान बेचिरहेका छन् । व्यापार नभएपछि उनले सामान थप मगाएनन् । ‘कहिले त दुई बजेसम्म बोहनी नै हुँदैन’ उनले पीडा पोखे, ‘सामान मात्रै थपेर पनि के गर्नु ? कोही किन्न आउने होइनन् !’

३५ वर्षदेखि चुराको पसल चलाइरहेकी पूर्णिमा दर्शनको पीडा पनि उस्तै छ । ‘साउनमा भएको हरिया, पहेंला चुराको व्यापारले अरु बेला नभएको व्यापारलाई पनि कभर गथ्र्यो, तर कोरोना आएदेखि कहिल्यै पनि व्यापार छैन’, पूर्णिमाले भनिन्, ‘तीनजना स्टाफलाई तलब खुवाउन त के, टिक्न नै नसकिने डर हुन थाल्यो ।’ कोरोना संक्रणको डर त छँदै छ, मान्छेलाई घर धान्नै मुस्किल भएकाले आफूहरुको व्यापार पनि नभएको उनको बुझाइ छ ।

दिनको दुई बजेसम्म २५ रुपैयाँको चुरा बेचेर बसेकी लक्ष्मी श्रेष्ठ भन्छिन्, ‘फाट्टफुट्ट एकदुई जना ग्राह आउँछन्, यस्तो पाराले त टिक्नै नसकिने भइयो ।’

व्यापार कम भएर पनि होला, यसपालि चुरापोतेको भाउ खासै बढेको छैन । कपनबाट चुरा किन्न असन आएकी लक्ष्मी खड्का भन्छिन्, ‘भाउ त खासै बढेको रहेनछ, तर धेरै भीडभाड हुने भएकाले सपिङ गर्न पनि डर लागिरहेको छ ।’

यस क्षेत्रका पसलमा न त कुनै स्वास्थ्य मापदण्ड अपनाइएको छ, न त मास्क–सेनिटाइजरलाई अनिवार्य गरिएको छ । जसकारण ग्राहकहरु चाहेर पनि कोरोना संक्रमणको डरले बजार जान सकेका छैनन् ।

यी त केही प्रतिनिधि व्यापारीको पीडा हो । कोरोना संक्रमण सुरु भएर लकडाउन भएदेखि नै यस क्षेत्रका सबै व्यापारीको हबिगत उस्तै छ । व्यापारीहरु पसल खोलेर बस्छन्, तर ग्राहक आउँदैनन् । अनि निराश हुँदै घर फर्कन्छन् । यस्तो स्थिति अझै केही समय लम्बिए यस क्षेत्रका धेरै व्यापारी व्यवसायी विस्थापित हुने सम्भावना छ, धेरैको रोजगारी गुम्ने छ ।

सबै तस्बिर: सराेज बैजु/नेपाल प्रेस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर