अवैध रुपमा अमेरिका जान खोज्दा क्यारेबियन सागरमा डुबे, दाङबाट एजेण्टकी श्रीमती पक्राउ – Nepal Press

अवैध रुपमा अमेरिका जान खोज्दा क्यारेबियन सागरमा डुबे, दाङबाट एजेण्टकी श्रीमती पक्राउ

दाङ । गैरकानूनी रुपमा अमेरिका पठाउँदै आएका घोराहीका एजेन्ट टोपबहादुर जिसीकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । मानब बेचबिखन ब्युरोको केन्द्रिय टोलीले जिसिकी श्रीमती गोमा शर्मा जिसिलाई घोराही १४ मिलनचोकबाट पक्राउ गरेको हो ।

मानब बेचबिखन ब्युरोकी एसएसपी दुर्गासिंह चन्दले एजेन्टकी श्रीमतीलाई उनको आफ्नै घरबाट ब्युरोको टोलीले नियन्त्रणमा लिएको बताइन् । उनी विरुद्ध जाहेरी परेको आधारमा नियन्त्रणमा लिइएको र म्याद थप गरेर घटनाको अनुसन्धान हुने उनले बताइन् ।

उनका अनुसार जिसिकी श्रीमान टोपबहादुरलाई पक्राउ गर्न इन्टरपोलमार्फत प्रकृया अघि बढाएर घटनाको अनुसन्धान जारी रहेको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले मानब बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले ल्याएको र अनुसन्धान चलिरहेकाले सबै कुरा अहिले भन्न नसकिने बताए ।

टोपबहादुर विरुद्ध ब्युरोले मुद्धा चलाइसकेको छ । टोपबहादुर हाल युक्रेनमा भएकोले ब्यूरोले मानव बेचबिखानमा सहयोग गर्ने जिसीको श्रीमतीलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंले अमेरिका पठाउँदै आएका एजेण्टलाई कैद सजाएको फैसला गरेको केही समयपछि दाङको घोराहीबाट फरार अभियुक्तरुपमा तत्कालिन जिल्ला प्रहरी प्रमुख गणेश चन्दले आफै पक्राउ गरेपनि दबाबमा पक्राउ गरेको २४ घण्टा नबित्दै अदालत नपठाइ त्यसै छाडेका थिए ।  यसरी अवैध बाटाे हुँदै अमेरिका  जान खाेज्नेमा  जनप्रतितिनिधिकै परिवार समेत परेका छन् ।

घोराही उपमहानगरपालिका -१२ का वडाध्यक्ष राजेन्द्र बुढामगरका २१ वर्षीय छोरा एन्जल बुढामगर चोर बाटोबाट अमेरिका जाने क्रममा कोलम्बियाको क्यारेबियन सागरमा असार ७ गते डुंगा दुर्घटना हुँदा बेपत्ता छन्।

उक्त डुंगा दुर्घटनामा परी दाङसहित नेपालका सात जना युवाको स्थिति हालसम्म अज्ञात रहेको छ।

घोराहीका एजेन्ट टोपबहादुर जिसीले अमेरिकको सपना देखाएपछि उनकै माध्यमबाट आफ्नो जेठो छोरा एन्जल गत चैत महिनाको ८( ९ गतेतिर घरबाट हिँडेको वडाध्यक्ष बुढाले जानकारी दिए।
आफूले अबैध तरिकाबाट नजान भने पनि स्थानीय मेनपावर एजेन्टले देखाएको अमेरिका सपनाका कारण छोरा अमेरिका जान लालायित बनेको उनले बताए।

घोराहीका टोपबहादुर जिसीको माध्यमबाट आफूले एन्जललाई अमेरिका पठाएको उनले बताए। जनकले २७ लाख ७० हजार रुपैयाँ नगद खर्च भइसकेको र अन्य थप केही रकम पनि खर्च भएको जानकारी दिए। दुर्घटनापछि स्थानीय एजेन्ट टोपबहादुर सम्पर्कमा आउन नचाहेको उनले गुनासो गरे।

बिना भिसा गैरकानुनी रूपमा मेक्सिको सीमा क्षेत्रबाट अमेरिका छिर्न हिँडेका सात नेपाली र अन्य विदेशीहरू सवार डुंगा गत असार ७ गते कोलम्बियाको समुद्रमा दुर्घटना परेको थियो।

दाङका प्रहरी प्रमुख एसपी काफ्लेका अनुसार पश्चिम दाङको बबई गाउँपालिकाको हापुरेका रमेश बैठामगर र नेपालगञ्ज घर भइ पछिल्लो समय तुलसीपुरस्थित ससुरालीमा बस्दै आएका हेमराज अधिकारी पनि डुंगा दुर्घटनामा परि बेपत्ता रहेको सूचना आएको छ।

त्यसमा दाङ, पर्वत, म्याग्दी र स्याङ्जाका युवालाई दुई समूहमा संगठित मानव तस्करहरूले अमेरिका प्रवेश गराउन खोजिरहेका थिए।

तस्करले एउटा समूहलाई दुबई, मस्को, ब्राजिल हुँदै कोलम्बिया पुर्‍याएको थियो। त्यसैगरी, अर्को समूहलाई दुबईबाट युक्रेन, फ्रान्स हुँदै कोलम्बिया पुर्‍याएको थियो।

त्यसपछि सानो डुंगाबाट आठ नेपाली र दस बंगलादेशी नागरिक गरी १८ जना युवा जाने क्रममा डुंगा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बेपत्ता भएका थिए।


प्रतिक्रिया

One thought on “अवैध रुपमा अमेरिका जान खोज्दा क्यारेबियन सागरमा डुबे, दाङबाट एजेण्टकी श्रीमती पक्राउ

  1. चोक्टा खान गएकी बुढी झोलामा डुबेर मरि भनेको यहि हो अमेरिका अमेरिका भनेर सबै किन यति सारो मरिमेट्छन मानिसहरु केछ त्यहा त्यस्तो चिज जुन हाम्रो नेपालमा छैन। ज्यान जोखिममा हालेर पनि पैसा त्यत्रो तिर्नु पर्ने सब बेकुफ हुन अर्काको कपि फलानाको छोरा अमेरिका तिलनाकी छोरी अमेरिका त्यहा गएर ईन्डियन पाकिस्तानीको होटेल रेस्टुरेन्टमा भाडा माझ्ने काम भन्दा केही पाउने हैन अमेरिका अमेरिका बग्बास।

Leave a Reply

Your email address will not be published. Required fields are marked *