तलव आधा घटे पनि मेस्सीले बार्सिलोनासँगै सम्झौता लम्ब्याए – Nepal Press

तलव आधा घटे पनि मेस्सीले बार्सिलोनासँगै सम्झौता लम्ब्याए

एजेन्सी । अर्जेन्टिनाका सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले आफूले पाउँदै आएको तलवमा ५० प्रतिशत कटौती हुने गरी बार्सिलोनासँग थप पाँच वर्षका लागि सम्झौता नवीकरण गरेका छन् ।

जुन ३० मा सम्झौता सकिएपछि मेस्सी त्यसयता फ्रि एजेन्ट भएर बसेका थिए । उनले बार्सिलोनामा वार्षिक १ सय २३ मिलियन पाउण्ड तलव लिँदै आएको बताइन्छ ।

कोपा अमेरिकाको उपाधि जितेपछि मेस्सी छुट्टीमा रहेकाले सम्झौतलाई अन्तिम रुप दिन बाँकी छ । बार्सिलोनाका नवनियुक्त अध्यक्ष जोन लापोर्टाले मेस्सीको सम्झौता नवीकरणका लागि हरसम्भव प्रयास गरेका थिए ।

आर्थिक भार कम गर्नका लागि बार्सिलोनाले स्ट्राइकर एन्टोइन ग्रिजमनलाई एट्लेटिको मड्रिडका मिडफिल्डर साउल निगुजसँग साट्ने प्रस्तावसमेत गरेको छ ।

जुनियर फिर्पो, जिन क्लेयर टोडिबो र कार्लेस एलेनालाई विक्री गर्नुको कारण पनि आर्थिक राहत नै भएको बताइन्छ । तर ठूला नामलाई नबेचेसम्म उसले ठूलो फाइदा पाउनेछैन ।

मेस्सीको नाम फ्रान्सको पेरिस सेन्ट जर्मेइन र इंग्ल्याण्डको म्यानचेस्टर सिटीसँग पनि सम्भावित सम्झौताका लागि जोडिएको थियो ।

सन् २००० देखि बार्सिलोनामा रहेका मेस्सीले बार्सिलोनाका लागि कीर्तिमानी ६ सय ७२ गोल गरेका छन् । उनले १० पल्ट ला लिगा, चारपल्ट च्याम्पियन्स लिग, ७ पल्ट कोपा डेल रेसँगै ६ पल्ट बेलोन डि’ओरको ट्रफी जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *