मेस्सी भर्सेज रोनाल्डो: अन्तर्राष्ट्रिय फुटबलमा को अब्बल ? (तथ्यांकसहित) – Nepal Press

मेस्सी भर्सेज रोनाल्डो: अन्तर्राष्ट्रिय फुटबलमा को अब्बल ? (तथ्यांकसहित)

काठमाडौं । विश्व फुटबलमा सर्वाधिक चर्चा हुने गरेका दुई नामुद खेलाडी हुन् लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । समकालिन खेलाडीमध्ये उनीहरुलाई चिर–प्रतिद्वन्द्वीको रुपमा हेर्ने गरिन्छ ।

उमेरले रोनाल्डो (३६) मेस्सी (३४) भन्दा २ वर्षले जेठा छन् । फुटबल मैदानभित्र उनीहरुका अलग–अलग विशेषता छन् भने मैदान बाहिर पनि यी दुईको स्वभाव र शैलीमा धेरै भिन्नता पाइन्छ । फुटबल जगतमा भने उनीहरुको रेकर्डहरुको बारम्बार तुलना हुने गर्छ ।

फुटबलका दुई ठूला प्रतियोगिता कोपा अमेरिका र युरोपियन च्याम्पिसनसीप एकसाथ सञ्चालन भइरहँदा मेस्सी र रोनाल्डो नै सबैभन्दा बढी चर्चामा रहे । कोपा अमेरिकामा मेस्सीले आफ्नो टिमलाई उपाधि दिलाउँदै खुशी बटुलेका छन् । रोनाल्डोको पोर्चुगल युरो २०२ को अन्तिम १६ बाट अगाडि बढ्न सकेन । यता मेस्सीले सर्वाधिक गोलकर्ता तथा प्लेयर अफ दि टुर्नामेन्टको पुरस्कार जित्दा रोनाल्डो पनि युरो २०२० मा सर्वाधिक गोलकर्ताको दौडमा छन् ।

पोर्चुगलको युरो २०२० यात्रा अन्तिम १६ मा बेल्जियमसँग १–० गोलको नतिजामा पराजित भएसँगै टुङ्गिएको थियो । पोर्चुगिज कप्तान रोनाल्डोले सुरुआती चार खेलमा पाँच गोल गरिसकेका थिए । र, ती चार गोलसँगै रोनाल्डोले धेरै वटा कीर्तिमान पनि बनाए ।

पहिलो खेलमा हंगेरीविरुद्धको खेलसँगै माइकल प्लेटिनीको युरोमा सर्वाधिक ९ गोलको कीर्तिमान भङ्ग गरेका रोनाल्डोले त्यो संख्या १४ गोलमा पु¥याएर बाहिरिए । जारी युरोमै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता अलि दाईको १०९ गोलको कीर्तिमानसँग बराबरी गरे ।

रोनाल्डोका निकटतम प्रतिद्वन्दी अर्जेन्टिनी कप्तान लियोनेल मेसीले आफ्नै नेतृत्वमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताए । पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका मेसीले कोपा अमेरिका २०२१ मा ४ गोल गरे । अर्जेन्टिनाका लागि कुल ७६ गोल गरेका मेसी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको नवौं स्थानमा छन् । तर, अर्जेन्टिनाले २८ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दा मेसीले महत्त्वपूर्ण भूमिका निर्बाह गरे ।

आफ्नो करियरको उत्तरार्धमा पुगेका यी दुई खेलाडी पनि विश्व फुटबलमा अझै कीर्तिमान बनाइरहेका छन् । यीनै दुई खेलाडीको ठूला प्रतियोगिता प्रदर्शन कसको बलियो छ त ?

अन्तर्राष्ट्रिय गोल संख्याको कुरा गर्दा रोनाल्डो अगाडि छन् । उनले अहिलेसम्म पोर्चुगलबाट खेलेर १ सय ९ गोल गर्न भ्याएका छन् । जबकि मेस्सीको नाममा अर्जेन्टिनाका लागि ७६ गोल छन् ।

ठूला प्रतियोगितामा भने उनीहरुको प्रदर्शन हाराहारी देखिन्छ । विश्वकप र युरोगमा गरी रोनाल्डोले कुल २१ गोल गरेका छन् । मेस्सीले विश्वकप र कोपा अमेरिकामा १९ गोल गरेका छन् ।

तुलनात्मक रूपमा मेसीले फ्रि–किकमार्फत् धेरै गोल गरेका छन् । उनले २०१४ विश्वकपमा एक, कोपा अमेरिका २०१६ मा एक र कोपा अमेरिका २०२१ मा दुई गोल सोझै फ्रि-किकबाट गरेका थिए । उनले पेनाल्टीमा गरेको एक मात्र गोल २०१५ कोपा अमेरिकामा थियो ।

रोनाल्डोले ठूला प्रतियोगितामा एक मात्र गोल फ्रि–किकबाट सोझै गरेका छन् । उनले २०१८ विश्वकपमा स्पेनविरुद्ध सोझै फ्रि–किकमार्फत् गोल गरेका थिए । त्यस्तै उनले २०१८ विश्वकपमा एक र युरो २०२० मा दुई गोल पेनाल्टीबाट गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर