टोपबहादुरको प्रश्न- जनताले चुनेका प्रतिनिधिलाई अवैधानिक पार्टीले कारवाही गर्ने ? (भिडियो) – Nepal Press

टोपबहादुरको प्रश्न- जनताले चुनेका प्रतिनिधिलाई अवैधानिक पार्टीले कारवाही गर्ने ? (भिडियो)

काठमाडौं । एमाले नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐन अनुसार नचलेको आरोप लगाएका छन् ।

नेकपा खारेजीको अदालतको फैसलासँगै एमाले प्रवेश गरेका जनप्रतिनिधिलाई पदमुक्त गराउने माओवादीको कार्यको उनले विरोध गरे ।

माओवादी केन्द्र खारेजीको मागसहितको आफूहरूको निवेदनको प्रगति बुझ्न निर्वाचन आयोग पुगेका नेता रायमाझीले त्यो पार्टी भूमिगत र छापामार किसिमले चलिरहेको टिप्पणी गरेका छन् । माओवादीका पूर्व नेतासमेत रहेका उनले २९ वर्षदेखि सो पार्टीमा महाधिवेशन नभएको भन्दै २०६९ सालमा एउटा नाममात्रैको महाधिवेशन भएको र तत्पश्चात पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको बताए ।

अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारवाही गरेकोप्रति रायमाझीले भने, ‘माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानून र राजनीतिक दलसम्बन्धी ऐन अनुसार चलिरहेको छैन । एकप्रकारले भन्ने हो भने भूमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ । करिब २८, २९ वर्ष सम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । २०७८ सालसम्म, ९ वर्षसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन । एमाले, माओवादीको एकतालाई शुन्य समय मानेपनि करिब ७ वर्ष भयो । राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने भनेको छ । उसले आफ्नो अद्यावद्यिक गर्न सकिरहेको छैन । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गरियो । संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्येक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारवाही गर्ने ?’

देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै उनले पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने उनको भनाइ थियो । ‘पार्टी संस्थागत, वैधानिक र कानूनसंगत हुनुपर्छ । त्यो नभएसम्म देशमा अराजकता, अस्थिरता, राजनीतिक पार्टीहरुमा अस्वस्थ प्रतिस्पर्धा, द्वन्द्व चलिरहेको छ । सबै पार्टीको लागि सिस्टममा नल्याइकन देशको समृद्धि आउन सक्दैन’ रायमाझीले भने, ‘राजनीतिक पार्टीहरूका बीचमा सुमधुर सम्बन्ध हुनुपर्छ । स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । राजनीतिक पार्टीहरुको बीचमा स्वस्थ प्रतिस्पर्धा हुन आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरेर स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने । यही नगरिकन व्यक्तिवादी तरिकाले पार्टी चलाउने, अनुशासनहीन तरिकाले पार्टी चलाउने जुन किसिमले भइरहेको छ । देशको राजनीतिक पार्टीहरुलाई सिस्टममा ल्याउनका लागि हामीले यो पहलकदमी अगाडि बढाएका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर