अर्थमन्त्रालयमा कार्यसम्पादन सम्झौता, मन्त्री पौडेलले भने- बजेट कार्यान्वयनमा खरो लाग्छु – Nepal Press

अर्थमन्त्रालयमा कार्यसम्पादन सम्झौता, मन्त्री पौडेलले भने- बजेट कार्यान्वयनमा खरो लाग्छु

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उनले बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सबैसँगको समन्वयमा बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउने सकिने भन्दै पौडेलले बजेट प्रस्तुत हुन्छ, कार्यान्वयन हुँदैन भन्ने विगतका मानकमा परिवर्तन गरी बजेट प्रस्तुत हुन्छ र कार्यान्वयन पनि हुन्छ भन्ने मानक स्थापित हुने गरी काम गर्ने बताए ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेट कार्यान्वयनको अहिले तयारी भइरहेकाले साउनदेखि नै बजेट कार्यान्वयनले गति लिने विश्वास जनाएका छन् ।

कुनै पनि प्रकारको कमजोरी हुन नदिने गरी जिम्मेवारी निर्वाह गर्न मन्त्री पौडेलले कर्मचारीहरूलाई निर्देशन दिए ।
अर्थसचिव शिशिरकुमार ढुंगानाले साउन १ गतेदेखि नै आगामी वर्षको बजेट कार्यान्वयनका लागि बलियो आधार तयार भएको भन्दै आ-आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न जरुरी रहेको बताए ।

राजस्वसचिव रामशरण पुडासैनीले कार्य सम्पादन सम्झौताले उत्तरदायी र जिम्मेवारी बढाएको भन्दै त्यसले नतिजा बढाउन सहयोग पुगेको बताए ।

महालेखा नियन्त्रक मधु मरासिनीले तल्लो तहसम्म कार्य सम्पादन सम्झौता गरी बजेटमार्फत घोषित कार्यक्रमहरू पूरा गर्ने बताएका छन् ।

मन्त्रालयका प्रवक्ता महेश आचार्यले आगामी वर्षको बजेट कार्यान्वयनका तयारीका सन्दर्भमा विभिन्न मन्त्रालयसँग छलफल गरिएको, आवश्यक निर्देशिकाहरू निर्माण भइरहेको जानकारी दिँदै कार्य सम्पादन सम्झौताले उन्नत खालको परिणाम ल्याउन सहयोग पुग्ने विश्वास जनाए ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्रीसँग अर्थ सचिव, राजस्व सचिव र महालेखा नियन्त्रकले कार्य सम्पादन सम्झौता गरेका थिए । यस्तै सचिवसँग महाशाखा प्रमुख र विभागीय प्रमुखहरुले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *