श्याम श्रेष्ठको ‘नेवारवाद’माथि टिप्पणी- दलितलाई दलन गर्ने शब्दजाल – Nepal Press

श्याम श्रेष्ठको ‘नेवारवाद’माथि टिप्पणी- दलितलाई दलन गर्ने शब्दजाल

काठमाडौंमा कोठा प्रकरणपछि जातीय सद्भावको गीत गाउन थालिएको छ । मानौं रुपा सुनारले दलित भएको कारण नेवारको घरमा कोठा नपाएर प्रहरीकोमा न्याय खोज्न जाँदा जातीय सद्भावमाथि हमला भएको छ ।

जातीय विभेदका विरुद्ध उठेको संघर्षलाई निस्तेज पार्नको लागि जातीय सद्भावको गीत गाउन थालिएको कुरा प्रष्ट छ । जातीय सद्भावको गीत गाउने अग्रपंक्तिमा आफूलाई वामपन्थी बुद्धिजीवीको रुपमा प्रस्तुत गर्ने श्याम श्रेष्ठ उभिएका छन् ।

उनले एक अनलाइनमा २०७८ असार ११ गते ‘नेवार–दलित दुवै राज्यबाट पीडित छौं, एकअर्कासँग सिंगौरी नखेलौं’ शीर्षक लेख लेखेर छुवाछूत अहिलेको जटिल समस्या होइन, समस्या चाहिं जातीय सद्भाव रहेको सन्देश दिएका छन् ।

‘बाहुन–दलित दुवै राज्यबाट पीडित छौं, एकअर्कासँग सिंगौरी नखेलौं’ भन्ने शीर्षक राख्नुपर्छ कि भन्ने विचारमा मेरो मनको तर्क थियो, म प्यूठानको दुर्गम गाउँको बाहुन भएको हुनाले म लगायत दुर्गम बस्तीका बाहुनहरु पनि राज्यबाट शिक्षा, स्वास्थ्यलगायत धेरै कुराबाट पीडित छौं । त्यसैले मैले पनि दलितसँग सँगसँगै मिलेर संघर्ष गर्नुपर्छ भन्ने अर्थ किन नलगाउने भन्ने थियो ।

श्याम श्रेष्ठको लेख पढेपछि मेरो मनमा ‘बाहुन-दलित दुवै राज्यबाट पीडित छौं, एकअर्कासँग सिंगौरी नखेलौं’ शीर्षक राख्नुपर्छ कि भन्ने लागेको थियो । तर कुराकानीमा आधारित लेख भएको हुनाले सम्पादकको शीर्षक पनि हुन सक्छ भन्ने लाग्यो ।

‘बाहुन–दलित दुवै राज्यबाट पीडित छौं, एकअर्कासँग सिंगौरी नखेलौं’ भन्ने शीर्षक राख्नुपर्छ कि भन्ने विचारमा मेरो मनको तर्क थियो, म प्यूठानको दुर्गम गाउँको बाहुन भएको हुनाले म लगायत दुर्गम बस्तीका बाहुनहरु पनि राज्यबाट शिक्षा, स्वास्थ्यलगायत धेरै कुराबाट पीडित छौं । त्यसैले मैले पनि दलितसँग सँगसँगै मिलेर संघर्ष गर्नुपर्छ भन्ने अर्थ किन नलगाउने भन्ने थियो ।

श्याम श्रेष्ठको शीर्षकमा बौद्धिक भ्रष्टीकरण मात्रै नभएर दलित मुद्दाको खुलमखुला डकैती भएको हुनाले मैले सोचेको शीर्षक गलत थियो, त्यसैले श्रेष्ठको लेखको विषयवस्तुमाथि छलफल गर्न खोजिएको हो ।

विभिन्न जातिहरुका मुख्य समस्याबारे सामान्य तरिकाले उल्लेख गर्न सकिन्छ । दुर्गम क्षेत्रमा बस्ने बाहुन, क्षेत्री, जनजाति गरिबी, शिक्षा, स्वास्थ्य, बेरोजगार आदिबाट पीडित छन् । दलितहरु थप गरिबी, छूवाछूत र मानव विकास सूचकांकमा धेरै पछाडि पारिएका छन् । दलितको थप ठूलो पीडा भनेको छूवाछूत हो । छुवाछूत गम्भीर सामाजिक अपराध हो भन्ने कुरा स्थापित भइसकेको छ ।

नेवारहरु जागिर, व्यापार, व्यवसाय, उद्योगधन्दा र केन्द्रीय राजनीतिमा पुस्तौंदेखि आफूलाई स्थापित गरेका छन् । शासन व्यवस्थामा सहभागिताको जातीय अनुपात निकाल्ने हो भने जसरी बाहुन, क्षेत्रीलाई शासक जाति भन्ने गरिएको छ, नेवार पनि त्यही ढंगको शासक जाति हो भन्नुपर्ने हुन्छ ।

बाहुन, क्षेत्री, जनजाति र दलितहरु देशका सुगमदेखि दुर्गमसम्मै छरिएर बसेका छन् । तर नेवारहरुको बसोबास देशका प्रमुख शहरहरुमा केन्द्रित छ । जिल्लाहरुको सन्दर्भमा पनि सदरमुकाममा केन्द्रित छ । दुर्गम गाउँहरुमा नेवार बस्ती छैन भन्दा पनि फरक पर्दैन । नेवारहरु व्यापारको सिलसिलामा देशभर छरिएको हुनाले उनीहरुको मजबुत आर्थिक अवस्थाको कारण अन्य जातिहरु जस्तै गरिब र पीडित बन्नु परेको छैन ।

एक प्रकारले भन्ने हो भने नेवारहरुलाई भौगोलिक विकटता र दुर्गमको वास्तविक पीडा भोगेका छैनन् वा थाहै छैन भन्दा पनि हुन्छ । गरिबीको प्रतिशत पनि नेवारहरुको धेरै कम मात्रामा छ । पहाडी जिल्लाहरुमा नेवारहरुको केही बसोबास भए पनि तिनीहरु सदरमुकाम वा सानातिना शहरमै बसोबास गरेका छन् । जहाँ बसेका छन्, तुलनात्मक रुपमा सम्पन्न भएर बसेका छन् ।

श्याम श्रेष्ठले ‘नेवार समुदायको समस्या भनेको राज्यले गरेको सांस्कृतिक र भाषिक उत्पीडन हो’ भन्ने बाहेक दोस्रो समस्या दर्शाउन सकेका छैनन् । उनले नेवार भाषाको बारेमा विरोधाभाषपूर्ण कुरा गरेका छन् ।

एकातिर उनले नेवार भाषालाई संसारकै उन्नत भाषाको रुपमा व्याख्या गरेका छन् भने अर्काेतिर राज्यले नेवार भाषामाथि उत्पीडन गरेको बताएका छन् । संसारकै उन्नत भाषालाई राज्यले कसरी उत्पीडन गर्न सक्छ ? उनले त्यसबारे व्याख्या गर्न सकेका छैनन् ।

उनले भनेका छन् ‘नेवार भाषा संसारकै एक उन्नत भाषा हो । हाम्रो आफ्नै शब्दकोष छ । हाम्रो भाषामा लय छ, भावभंगिमा छ, तुक्काहरु छन् ।’ उनले नेवार भाषालाई राज्यले दपेट्दै आएको कुरा उल्लेख गरेका छन् । तर कसरी दपेट्यो भन्नेबारेमा चित्तबुझ्दो जवाफ पेश गरेका छैनन् ।

कमजोरहरुलाई नै दपेट्ने गरिन्छ । संसारकै उन्नत भाषालाई राज्यले देपेटेको हो भन्ने आधारहरु दिन सकेका छैनन् । उनको भनाइमा तारतम्य मिलेको छैन । बरु उनले यसो भन्न सक्थे, नेवार भाषाको थप उन्नयनको लागि राज्यले पर्याप्त ध्यान दिन सकेन । तर उनी नेवार जातिलाई दलितजत्तिकै पीडित छ भन्ने देखाउनको लागि राज्यले नेवार भाषामाथि उत्पीडन गरेको बताएका छन् ।

श्रेष्ठले पेश गरेको तर्क कहींकतै पनि संगति मिल्दैन । जसरी सामाजिक सञ्जालमा हल्ला मच्चाइएको कोठा र कोटालाई एउटै नजरले हेर्न मिल्दैन, ठीक त्यसै गरी भाषा र छूवाछूतलाई एउटै नजरले हेर्न मिल्दैन । श्रेष्ठले त्यही दुश्प्रयास गरेका छन् । श्याम श्रेष्ठले दलितहरुका मुद्दामाथि बौद्धिक डकैती गर्न खोजेका हुन् भन्ने कुरा छर्लङ्गै छ ।

श्याम श्रेष्ठले नेवार संस्कृतिका बारेमा पनि त्यस्तै विरोधाभाषपूर्ण तर्कहरु पेश गरेर भ्रम छरेका छन् । उनी लेख्छन् ‘नेवार संस्कृति संसारकै एक समृद्ध संस्कृतिमा गनिन्छ । तर पछिल्लो समय हाम्रो संस्कृति राज्यको भदेभावपूर्ण नीतिहरुको सिकार हुँदै आएको छ । राज्यले थोपरेको एकल सांस्कृतिक विशेषाधिकार नै नेवार समुदायको उत्पीडनका कारण हुन् ।’

संसारकै समृद्ध संस्कृति हो भने ‘काठमाडौंमा राज गरेर बसेका’ दुई चार जना बाहुन क्षेत्रीहरुले नेवार संस्कृतिमाथि कसरी धाबा बोल्न सकेका छन् ? त्यसको कुनै जवाफ श्रेष्ठले दिन सकेका छैनन् । बाहुन क्षेत्रीहरु संस्कृतिमा कति नै समृद्ध छन् ? यो विषयमा कोही बोलेको वा लेखेको देखिंदैन ।

राज्यले नेवारहरुका संस्कार संस्कृतिहरुलाई कसरी थिचोमिचो गरेको छ र बाहुन क्षेत्रीहरुका संस्कार संस्कृतिलाई माथि उठाउन कति लगानी गरेको छ भन्ने बारेमा गम्भीर अनुसन्धान हनुपर्ने आवश्यकता देखिन्छ ।

जहाँसम्म संस्कृतिको कुरा छ, केही संस्कार संस्कृति र चाडपर्वहरु बाहुन क्षेत्री वा नेवारहरुका समान खालका छन् । बाहुन क्षेत्रीसँग केहीबाहेक समृद्ध संस्कृतिहरु छैनन् । जनजाति र नेवारहरुमा जति संस्कार र संस्कृतिहरु छन्, बाहुन क्षेत्रीहरुले अंगालेका संस्कार संस्कृतिहरु अत्यन्तै कम छन्, केही त लोप हुँदै गएका छन् ।

लोप हुँदै गएका संस्कृतिहरु बाुहन क्षेत्रीहरुले खोज्दै हिंडेको जस्तो पनि देखिँदैन । जनैपूर्णिमा जस्ता चाडपर्वहरु नयाँ पुस्ताका बाहुन क्षेत्रीहरुले मान्न पनि छोडिकेका छन् । संस्कृतिहरु समयसँगै परिवर्तन हुँदै जान्छन् । नयाँ पुस्ताको रुची भएन भने कतिपय अव्यवहारिक लाग्ने संस्कृतिहरु लोप पनि हुन्छन् ।

चाडपर्वहरुको बारेमा पनि त्यही कुरा लागु हुन्छ कि बाहुन क्षेत्रीले मान्ने चाडपर्वहरु भन्दा जनजाति र नेवारहरुले मान्ने चाडपर्व नै धेरै छन् । राज्यले नेवारहरुका संस्कार संस्कृतिहरुलाई कसरी थिचोमिचो गरेको छ र बाहुन क्षेत्रीहरुका संस्कार संस्कृतिलाई माथि उठाउन कति लगानी गरेको छ भन्ने बारेमा गम्भीर अनुसन्धान हनुपर्ने आवश्यकता देखिन्छ ।

त्यसो गर्न सकियो भने श्रेष्ठको दाबी झुटो ठहर्ने सम्भावना पनि रहने आकलन गर्न गाह्रो छैन । धर्म, संस्कार, संस्कृति राज्यले अंगाल्ने कुरा नभएर व्यक्ति र समुदायले अंगाल्ने कुरा हुन् । सबै संस्कार र संस्कृतिहरुलाई राज्यले समान प्रकारको व्यवहार गर्नुपर्दछ ।

वर्तमान सामाजिक संरचनामा बाहुन क्षेत्री सँगसँगै नेवार पनि दलितमाथि छुवाछूत गर्ने समुदाय हो । पीडित र पीडक मिलेर कस्तो संघर्षको आह्वान गर्न खोजेका हुन् भन्ने विषयमा श्याम श्रेष्ठले जवाफ दिन सक्नुपर्दछ । न्यायको सिद्धान्तको कुरा गर्ने हो भने पीडकलाई कारवाही गरेपछि नै पीडितले न्याय प्राप्त गर्दछ ।

श्रेष्ठले नेवार र दलितलाई संयुक्त रुपमा राज्यसँग लड्नको लागि आह्वान गरेका छन् । संयुक्त रुपमा राज्यसँग लड्नका लागि सबैभन्दा पहिले एजेण्डाहरु मिल्नुपर्दछ । यदि समान एजेण्डा भएनन् भने एउटै मोर्चामा बसेर राज्यसँग लडाइँको कल्पना पनि गर्न सकिंदैन । श्रेष्ठले लेखेका छन् ‘हामी सबै नेवार, दलित, मधेसी र जनजाति आपसमा सहकार्य गर्दै हामीमाथि उत्पीडन गर्ने राज्यसँग लड्ने हो, ब्राम्हणवादसँग लड्ने हो ।’

यसरी ब्राम्हणवादसँग लड्ने श्याम श्रेष्ठले भन्न खोजेका संयुक्त एजेण्डा के हुन् भन्ने बारे श्याम श्रेष्ठले केही केलाउन सकेका छैनन् । उनले दलित र नेवारलाई चलाखीपूर्ण ढंगले मिसाउन खोजेका छन् । काठमाडौंको कोठाकै सन्दर्भको कुरा गर्ने हो भने नेवारले दलितलाई कोठा दिएको अवस्था नभएकैले सरस्वती प्रधानका विरुद्ध न्यायको लागि रुपा सुनुवारले प्रहरी गुहार्नुपरेको हो ।

वर्तमान सामाजिक संरचनामा बाहुन क्षेत्री सँगसँगै नेवार पनि दलितमाथि छुवाछूत गर्ने समुदाय हो । पीडित र पीडक मिलेर कस्तो संघर्षको आह्वान गर्न खोजेका हुन् भन्ने विषयमा श्याम श्रेष्ठले जवाफ दिन सक्नुपर्दछ । न्यायको सिद्धान्तको कुरा गर्ने हो भने पीडकलाई कारवाही गरेपछि नै पीडितले न्याय प्राप्त गर्दछ । पीडकलाई कारवाहीको माग गर्नुको सट्टा पीडित र पीडकलाई मिलेर संघर्ष गर्न आह्वान गर्नु सैद्धान्तिक र वैचारिक भ्रष्टीकरण हो ।

श्याम श्रेष्ठले ब्राम्हणवादसँग लड्नको लागि आह्वान गरिरहेको समयमा कोठा नदिने, छुवाछूत गर्ने व्यक्तिको पक्षमा वक्तव्य जारी गर्ने नेवारहरुको संगठन र नेवारवादका विरुद्ध कसरी लड्ने भन्ने बारेमा बोल्न सकेका छैनन् । पीडकको संरक्षणको लागि सांगठनिक रुपमा वक्तव्य निकालिएको कुरामा श्याम श्रेष्ठले चित्तबुझ्दो हिसावले केही बोल्न सकेका छैनन् ।

पीडितको न्यायको लागि होइन कि पीडकको संरक्षणको लागि नेवारहरुको आधिकारिक संगठनले वक्तव्य निकाल्नु नेवारवादको पराकाष्ठा हो । श्याम श्रेष्ठले पीडितको न्यायको लागि भन्दा पनि समन्वयको बाटो अंगाल्न खोजेका छन् । सामाजिक सद्भावको सन्दर्भमा समन्वयको खाँचो पर्न सक्छ ।

तर छुवाछूतजस्तो अपराधमा समन्वयको पक्ष लिन खोज्नु अपराधलाई संरक्षण गर्नु नै हुन्छ भन्ने कुरामा श्याम श्रेष्ठ जानकार छैनन् भनेर बुझ्न सकिंदैन । तर उनी आफै नेवार भएको हुनाले कतै समन्वयको पक्ष लिन खोजेका त होइनन् भनेर प्रश्न गर्ने ठाउँ श्रेष्ठले दिएका छन् ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले हिरासत मुक्त सरस्वती प्रधानलाई लिन गएको घटनाको चर्काे आलोचना भएको थियो । उनले राष्ट्रिय मानव अधिकार आयोगमा पुगेर माफी मागेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सचेत गराएका छन् ।

समाजमा अहिले पनि उच्च जाति अहंकारवाद विद्यमान छ । बाहुन, क्षेत्री, ठकुरी र नेवारहरुमा सबैभन्दा धेरै उच्च जाति अहंकारवाद छ । उच्च जाति अहंकारवादले समाजमा रहेको जातीय छुवाछूतलाई कायम राखेर हैकम जमाउन चाहन्छ ।

अहिलेको आवश्यकता भनेको उच्च जाति अहंकारवाद र छूवाछूतका विरुद्ध कडा र निर्मम प्रकारले संघर्ष गर्नु हो । नत्र पाल्सी भाषाभित्र दलितलाई दलन गर्ने नियत नै देखिन्छ श्याम श्रेष्ठको नेवारवादी बिचारमा ।

पोखरेल नेकपा (मसाल)निकट अनेरास्ववियू छैटौंका अध्यक्ष हुन्

प्रतिक्रिया

2 thoughts on “श्याम श्रेष्ठको ‘नेवारवाद’माथि टिप्पणी- दलितलाई दलन गर्ने शब्दजाल

  1. राम्राे प्रतिवाद नेवारबादका विरुद्ध । समय सान्दर्भिक लेख

  2. यहाँ नेवार कुनै जाति नै होइन । नेपाल सम्प्रदाय हो । यस भित्र सबै जात जातिहरु छन् । श्याम श्रेष्ठ यस सम्प्रदायका उच्च वर्ग हुन् । नेवार भित्र पोडे, कसाई, डुम, कुुसुल लगायतका पानी नचल्ने जाती भित्र पर्दछन् । यसै गरी कर्मचार्य÷ बज्रचार्य नेवाल भित्रका ब्रह्मण वर्गमा पर्दछन् । मानन्धर महर्जन श्रम गर्ने वर्गमा पर्दछन त्यसैले नेवारलाईलाई जाती भन्नेर भन्नु आफैमा गलत हो । पहिले नेवार भित्रको छुवाछुत र विभेद नदेख्ने ले वाहुन वाद भनेर भन्नु आफैमा बिरोधा भाष छ । याहाँ जातिय विभेदको पक्षमा आफूलाई अब्बल भन्न खोज्दा खोज्दै आफ्नो यथार्थता खुल्केको श्याम श्रेष्ठले थाहा नपाए झै गरेक छन् । आफ्नो सम्प्रादयलाई जोगाउन जातिय विभेदको खुल्ला समर्थन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *