राष्ट्रपतिविरुद्ध रमणको बहस- आँखा नचम्काइ बक्सियोस्, हात नलम्काइ बक्सियोस् – Nepal Press

राष्ट्रपतिविरुद्ध रमणको बहस- आँखा नचम्काइ बक्सियोस्, हात नलम्काइ बक्सियोस्

काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपतिले राजनीति गर्ने भए सम्माननीयको पद छाडेर आउनुपर्ने बताएका छन् ।

संवैधानिक इजलासमा जवाफी बहसका क्रममा श्रेष्ठले विगतमा मदन भण्डारीले राजालाई ईंगित गरेको शब्द स्मरण गराउँदै श्रेष्ठले राष्ट्रपतिलाई शीतल निवासमा बसेर राजनीति नगर्न चेतावनी दिए । ‘त्यतिखेर मदन भण्डारीले भनेका थिए, राजनीति गर्ने भए श्रीपेच राखेर आऊ । अब हामीले भन्नुपर्‍यो, सम्माननीयज्यू, आँखा न चम्काई बक्सियोस्, हात न लम्काई बक्सियोस् । यदि राजनीति गर्न मन छ भने सम्माननीय पद छाडेर आउनुहोस्’, श्रेष्ठले भने ।

श्रेष्ठले प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री र राष्ट्रपतिको दुराशय देखिएको जीकिर गरे । पहिलो विघटनकै बेला अदालतले प्रधानमन्त्रीको अधिकार व्याख्या गरिदिएको भन्दै श्रेष्ठले त्यसविपरीत कदम चालिएको बताए । ‘हिजो प्रधानमन्त्रीको अधिकारको व्याख्या भयो । अब राष्ट्रपतिलाई पनि तिम्रो अधिकार यो हो भनेर अदालतले भनिदिनुपर्यो । राष्ट्रपतिले सिफारिसबिना कुनै निर्णय लिन सक्नुहुन्न । प्रधानमन्त्रीले राजीनामा नदिई अर्को प्रक्रिया सुरु गरियो । यहीँनेर प्रधानमन्त्री र राष्ट्रपतिको दुराशय छ श्रीमान्’, श्रेष्ठले भने । प्रधानमन्त्रीले राष्ट्रपतिको काँधमा राखेर बन्दुक पड्काउन खोजेको श्रेष्ठको आरोप थियो ।

श्रेष्ठको बहस जारी रहँदै आजको सुनुवाई सकिएको छ । जवाफी बहसका लागि निवेदक पक्षसँग अब २ घण्टा २ मिनेट समय बाँकी रहेको जनाउ प्रधानन्यायाधीशले दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर