नायब महान्यायाधिवक्ताको बहस : दलबाट निर्वाचन जितेपछि सांसद स्वतन्त्र रहँदैन – Nepal Press
संवैधानिक इजलास

नायब महान्यायाधिवक्ताको बहस : दलबाट निर्वाचन जितेपछि सांसद स्वतन्त्र रहँदैन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि सरकारी पक्षको बहस जारी छ ।

नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले अहिले बहस गरिरहेका छन् । बहसका क्रममा उनले दलीय हिसाबले चुनाव जितेका सांसदले स्वतन्त्र हैसियतले समर्थन वा विरोध गर्न नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादीका सांसदहरूले आफ्नो दलको ह्वीप पालना गरेपनि नेकपा एमालेका सांसदहरूले ह्वीप उल्लघंन गरेको भन्दै पाण्डेयले दलको निर्णय नमान्ने छुट सांसदलाई नहुने जिकिर गरे । ‘सरकारलाई समर्थन दिने वा फिर्ता लिने दलको निर्णयबाट हुन्छ । दलबाट निर्वाचित सांसदले स्वतन्त्र निर्णय लिन सक्दैन श्रीमान् । यसबाट त हाम्रो बहुदलीय लोकतन्त्र खतरामा पर्छ’, पाण्डेयले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत हासिल नहुने प्रष्ट भइसकेपछि नयाँ प्रक्रिया सुरू गर्न प्रस्ताव गर्नु संविधानसम्मत रहेको बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नायब महान्यायाधिवक्ता पाण्डेयलाई ‘विश्वासको मत प्राप्त गरे/नगरेको घोषणा संसदमा हुने भएकोले यो प्रक्रिया छल्न पाइन्छ र ?’भनी सोधेका थिए ।

जवाफमा पाण्डेले पहिले नै ‘टेस्ट’ भइसक्यो विषयमा संसदमा गइरहन आवश्यक नरहेको बताए । त्यस्तै ७६ को ५ अनुसारको सरकार गठनका लागि वैधानिक दावी गर्ने अधिकार प्रधानमन्त्री ओलीसंग रहेको दावी पनि पाण्डेयले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर