युरो २०२०: डेनमार्क फेरि युरोपियन च्याम्पियनसिपको ‘डार्क हर्स’ हो ? – Nepal Press

युरो २०२०: डेनमार्क फेरि युरोपियन च्याम्पियनसिपको ‘डार्क हर्स’ हो ?

काठमाडौं । करिब ३० वर्षअघि डेनमार्कले असम्भवलाई सम्भव पार्दै पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । र, अहिले त्यो समयका खेलाडीहरू गन्य-मान्य सेलेब्रिटीको रूपमा प्रतिष्ठित छन् । त्यो टोलीलाई देशको सपना बुझेका लिजेन्डहरूको समूह पनि भनिन्छ ।

र, अहिले त्यो सफलता दोहोर्‍याउनका लागि डेनमार्कसँग नयाँ हिरोहरू छन् । युरो २०२० को पहिलो खेलका दौरान प्लेमेकर क्रिस्टयन एरिकसन मैदानमै ढलेपछि भावविह्वल बनेको डेनिस टोली उनको स्वास्थ्यमा भइरहेको सुधारसँगै उनीप्रति समर्पित र पुनर्जिवितझैँ भएको छ ।

शनिबार युरो २०२० को पहिलो नकआउटमा डेनमार्कले वेल्सको सामना गर्दैछ । तर, के डेनिस टोलीले १९९२ को त्यो प्रसिद्ध सफलता दोहोर्‍याउलान् ?

किनाराबाट फर्किएर युरोपियन च्याम्पियन बन्दा

डेनमार्कको वर्तमानमा होइन, इतिहास हेर्ने हो भने पनि अविश्वसनीय सफलता भेट्टाइन्छ । करिब २९ वर्ष अगाडि स्वीडेनमा भएको युरो १९९२ मा डेनिस टोली च्याम्पियन बनेको थियो । त्यो पनि छनोट नभई ।

डेनमार्क छनोट चरणमा युगोस्लाभियाभन्दा पछाडि परेको थियो । र, युरो १९९२ मा छनोट भएको थिएन । युरोमा छनोट हुन नसकेपछि डेनिस खेलाडी छुट्टी मनाउन निस्किने तयारीमा थियो । तर, मुलुक युद्धमा होमिएकाले युगोस्लाभिया आठ टोलीको प्रतियोगिताबाट निष्कासित भयो र अन्तिम समयमा डेनमार्कले प्रतियोगिता खेल्ने निम्तो पायो ।

तयारी कम हुनका बाबजुद पनि आयोजक स्वीडेन, इङ्ल्यान्ड, फ्रान्ससमेत रहेको टोलीबाट डेनमार्कले सेमिफाइनलमा स्थान बनायो । अन्तिम खेलमा जर्मनीलाई पराजित गर्दै डेनिस टोली त्यहाँसम्म पुगेको थियो ।

त्यो समयमा डेनमार्कको टोली बलियो थियो । गोलकिपर पिटर स्माइकल, मिडफिल्डर जोन जेन्सेन र ब्रियान लौड्रुप टोलीमा थिए । त्यो वर्ष सेमिफाइनलमा स्टार खेलाडीले भरिएको नेदरल्यान्ड्सलाई डेनमार्कले हराउँदा गोलकिपर स्माइकल देशका हिरो बनेका थिए । उनले मार्को भान बास्टेनको पेनाल्टी बचाएसँगै २-२ को बराबरीपछि डेनमार्क सुटआउटमा विजयी हुँदै फाइनल पुगेको थियो ।

विश्वकप विजेता जर्मनीविरुद्धको फाइनलमा पुन: एक पटक स्माइकल नायक सावित भएका थिए । उनले जर्मनीका कार्ल-हेन्ज रिड्ले, स्टेफन रोएट र गुइदो बुच्वाल्डको प्रहार असफल बनाएका थिए । खेलमा कमै मात्र मौका सिर्जना गर्ने अवसर पाएको डेनमार्कले जेन्सेन र किम भिल्फोर्टको गोलमा सनसनीपूर्ण २-० को जित निकालेको थियो ।

अहिले पनि डेनमार्कको गोलपोस्टमा एक स्काइकल नै छन् । कास्पर स्माइकल, डेनिस गोलकिपरले आफ्ना बुबाको करिअर फलो गर्दै लेस्टर सिटीबाट प्रिमियर लिग र एफए कप जितिसकेका छन् । उनका बुबा पिटरले म्यानचेस्टर युनाइटेडबाट ती उपाधि जितेका थिए ।

अब उनले युरोपियन च्याम्पियनसिप जित्न बाँकी छ ।

‘म डेनमार्कबाट सफल हुन चाहन्छु, म युरोपियन च्याम्पियनसिप जित्न चाहन्छु,’ स्माइकलले भनेका थिए, ‘म डेनमार्कबाट केही ‘वाइल्ड’ गर्न प्रयास गर्छु ।’

युवा जोस, अनुभव र एरिकसनको प्रेरणा

केही हदसम्म १९९२ को युरो जित्ने टोली र अहिलेको डेनिस टोलीमा मिल्दाजुल्दा कुरा छन् ।

डेनिस टोलीमा अहिले पनि गोलपोस्टमा लेस्टरका अनुभवी गोलकिपर स्माइकल छन् । चेल्सीका बलिया डिफेन्डर एन्द्रेस क्रिस्टियनसेन र फरवार्डलाइनमा बार्सिलोनाका मार्टिन ब्रेथवेट छन् ।

डेनमार्कको टोलीमा एरिकसनको पनि मुख्य भूमिका छ । पिचमा उनको प्रभाव देखिँदैन । तर, खेलाडीको मनोबलमा भने एरिकसनको प्रभाव स्पष्ट देखिन्छ ।

त्यस्तै, डेनमार्कसँग टोलीमा एक उदीयमान युवा खेलाडी मिक्केल ड्याम्सगार्ड छन् । इटालियन क्लब साम्पडोरियाबाट व्यावसायिक फुटबल खेल्ने २० वर्षीय ड्याम्सगार्डले रुसविरुद्ध प्रतियोगिताकै सम्भावित उत्कृष्ट गोल गरेका थिए ।

डेनिस टोली त्यो खेलमा जितका लागि उत्रिएको थियो र शानदार जितसँगै समूह उपविजेताको रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो ।

ब्राजिलियन जोसमा फुटबल खेल्ने भएकाले ‘ड्यासिन्हो’ उपनाम पाएका ड्याम्सगार्डले ठूला प्रतियोगितामा डेनमार्कका लागि गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाइसकेका छन् । रुसविरुद्धको खेलमा गोल गर्दा उनी २० वर्ष ३३५ दिनका थिए ।

रोलिगन्सको गर्जन

इङ्ल्यान्डसँग बार्मी आर्मी छन्, स्कटल्यान्डसँग टार्टन आर्मी छन् भने डेनमार्कसँग पनि रोलिगन्स छन् । सन् १९८० को दशकमा डेनमार्क राष्ट्रिय टोलीलाई ‘डेनिस डायनामाइट’ भनिन्थ्यो । जसको कारण थियो- अल्ट्रा अट्याकिङ शैलीको फुटबल । त्यसै समयदेखि डेनिस फुटबल टोलीले विश्वभरबाट सर्मथक कमाउन थालेको थियो ।

डेनमार्क समर्थकले युरो २०२० मा पनि एक सम्झिनलायक भूमिका खेलिरहेका छन् । एरिकसनलाई अस्पताल लगिएपछि डेनिस समर्थकहरूले फिनल्यान्डका समर्थकहरूसँग मिलेर च्यान्ट गाएका थिए ।

त्यसपछि पनि डेनमार्क अन्तिम १६ सम्म पुग्नमा डेनिस समर्थकले महत्त्वपूर्ण भूमिका खेलका छन् । उनीहरूको समर्थनले डेनिस खेलाडीलाई एकदमै कठिन परिस्थितिमा पनि सहयोग गरेको थियो ।

तर, आम्सटरड्याममा शनिबार हुने वेल्सविरुद्धको प्रि-क्वार्टरफाइनलमा डेनिस समर्थक हुनेछन् । तर, वेल्सका समर्थकलाई भने कोरोना भाइरसका कारण प्रतिबन्ध लगाइएको छ ।

‘समर्थकले के गरे भनेर ठ्याक्कै भन्न सकिँदैन, तर उनीहरूले खेलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्,’  एक डेनिस फुटबल समर्थकले भने, ‘खेलाडीले उनीहरूप्रतिको माया महसुस गर्नका लागि समर्थकहरूको उपस्थिति र साथ जरुरी हुन्छ । देशले नै एकअर्काको साथ पाउँछ ।’

बिबिसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *