जनकपुरमा मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन – Nepal Press

जनकपुरमा मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन

जनकपुरधाम । कोभिड अस्पतालमा गरेको लगानी र कर्मचारी भर्ना प्रक्रिया सार्वजनिक गर्नुपर्ने माग राख्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध जनकपुरका युवाहरुले प्रदर्शन गरेका छन् ।

जनकपुरस्थित मधेस भवनमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी युवा संघ नेपालसँग आवद्ध मुन्जय राउत नेतृत्वमा युवाहरुले प्रदर्शन गरेका हुन् । कोभिड विशेष अस्पतालमा व्यापक भ्रष्टाचार भएको र कर्मचारी पनि कानून विपरित भर्ना गरेकाले प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।

प्रदर्शनको नेतृत्व गरेका राउतले भने, ‘कोभिड अस्पतालमा ९ करोड लगानी गरेको कुरा बाहिर आएको छ । यसमा व्यापक भ्रष्टाचार भएको देखिन्छ । कुनै प्रक्रिया पुरा नगरी आफ्ना पकेटका मान्छेलाई कर्मचारी भर्ना गरेकाले प्रदर्शन गरेका हौं ।’

युवाहरुले यसअघि कोभिड अस्पतालमै पुगेर खर्च रकम र कर्मचारी भर्ना प्रक्रिया सार्वजनिक गर्न माग गरेका थिए । तर त्यहाँका कर्मचारीहरुले सार्वजनिक गर्न मानेनन् । त्यसपछि उनीहरु मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शनमा उत्रेका हुन् ।

तीन दिनभित्र अस्पतालमा लगानी गरेको रकम र कर्मचारीको विवरण तथा भर्ना प्रक्रिया सार्वजनिक नगरे कडा आन्दोलन गर्ने युवाहरुले चेतावनी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर