मैले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गर्नु जरुरी देखियो : दीपक मनाङे – Nepal Press
नेपाल टक

मैले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गर्नु जरुरी देखियो : दीपक मनाङे

मनाङमा एमालेसँगै मिलेर चुनाव लड्छु, नत्र राजनीति नै गर्दिन

दीपक मनाङेले जोगाइदिएको गण्डकीको प्रदेशसभा र उनकै भरमा टिकेको विपक्षी गठबन्धनको सरकारको भविष्य अझै पनि ढुक्क हुने अवस्थामा छैन । जसपाले कांग्रेसबाट धोखा हुन लागेको बताइरहेका बेला दीपक मनाङे भने शेरबहादुर देउवा, प्रचण्ड र बाबुराम भट्टराईलाई भेटेर राजनीतिक छलफल गर्न थालेका छन् ।

पछिल्लो पटक प्रचण्डसँग वृहत् राजनीतिक छलफल भएको भन्दै फोटो सार्वजनिक गरेका मनाङेले आन्तरिक मामिला तथा कानून मन्त्रालय मागेको चर्चा चले पनि उनले अब भौतिक पूर्वाधार मन्त्रालयमा आँखा लगाएका छन् ।

प्रदेशको राजनीतिमा कांग्रेस र माओवादीसँग सहकार्य गरेका उनी मनाङको राजनीतिमा भने एमालेको साथ छाड्न नसक्ने बताउँछन् । एमालेसँग मिलेर आफूले चुनाव जितेको भन्दै मनाङेले नेपाल प्रेससँग भने- यो कुरा चाहिँ अलि हाइलाइट गर्दिनुस् है, मनाङमा एमालेसँग मिलेर चुनाव लड्न पाइन भने म राजनीति नै गर्दिनँ ।

आफू नैतिकताको राजनीति गर्ने व्यक्ति भएको भन्ने मनाङेसँग प्रचण्डसँगको भेटपछि टेलिफोनमा गरिएको कुराकानी प्रस्तुत छ नेपाल टकमा:

तपाईंले प्रचण्डसँग भेट गरेको फोटो सार्वजनिक भएपछि धेरै प्रतिक्रिया आएका छन्, प्रचण्डसँगको भेटघाट कुन विषयमा केन्द्रित हो ?

हाम्रो गण्डकीमा राम्रोसँग मिलेर काम गर्ने भन्ने हो । त्यसैको छलफल गर्नका लािग उहाँसँग भेटेको हो । प्रचण्डको केहि कुरा मनपर्छ मलाई, त्यसैले पनि भेटेको हो । जनजाती, दलित, मधेसीका विषयमा माओवादीको ठूलो योगदान छ । त्यो कुरा कसैले अस्वीकार गर्न मिल्दैन । माओवादीको विचारबाट मिलेर अघि बढेको हो नि । त्यसैले मैले भेटेको हो ।

गण्डकीमा पुलिस एकदम ठीक छ क्या अहिले ! काठमाडौंमा जस्तो होइन क्या ! यहाँको जीवन श्रेष्ठ ठीक मान्छे रहेछ । पैसा- सैसा पनि उठाउँदैन यहाँको पुलिसले ।

जसपालाई अर्थ मन्त्रालय दिने कुरा आएको छ । तपाईंको मन्त्रालय कुन हो अब ?

अहिले चाहिँ सरकार नढाली नहुने भएकाले मैले आफ्नो भूमिका निर्वाह गरेको हो । मैले मन्त्रीका लागि केही पनि कुरा गरेको छैन र म गर्ने मान्छे पनि होइन । पदका पछि लाग्ने पनि मेरो बानी छैन । जहाँ खाली छ त्यहाँ दिइ नै हाल्छन् । संसद बचाउन मैले यस्तो गरेको हो ।

तपाईंले त गृह मन्त्रालय मागेको भन्ने पनि थियो नि ?

पहिले त्यसो सोचेको हो तर गण्डकीमा पुलिस एकदम ठीक छ क्या अहिले ! काठमाडौंमा जस्तो होइन क्या ! यहाँको जीवन श्रेष्ठ ठीक मान्छे रहेछ । पैसा-सैसा पनि उठाउँदैन यहाँको पुलिसले । त्यसो भएपछि गृह मन्त्रालयभन्दा पनि मनाङमा बाढी पहिरो गएको विषयले ध्यानाकर्षण पनि गराएको हो । मैले चाहिँ अब अलि विकास निर्माण गर्ने मन्त्रालय चलाउँ कि भन्ने सोचेको छु ।

तपाईंले भौतिक पूर्वाधार मन्त्रालय दावी गर्ने त्यसो भए ?

हाम्रो अहिले ७ वटा जिल्ला बाढी पहिरोबाट प्रभावित छ । त्यस क्षेत्रको चिन्ता हो । म आफै भौतिक पूर्वाधार मन्त्री भए हुन्थ्यो भन्ने हो । त्यो मन्त्रालयको नेतृत्व गर्नु एकदमै जरुरी र महत्वपूर्ण छ ।

प्रचण्डलाई भेटेपछि तपाईं आउने चुनाव माओवादीबाट लड्ने भन्ने कुरा पनि आयो नि ?

होइन म आउने चुनाव पनि स्वतन्त्र नै लड्छु । यो प्रदेशमा चाहिँ जसपा, जनमोर्चा र म मिलेर जान्छौं । किनभने यस्तो बेलामा पनि हामी मिलेको छौ । यी दुवै पार्टी पनि मलाई मन परेको छ । जनमोर्चाको लेडिज र जसपाको पनि लेडिज भएकाले मलाई राम्रो लागेको हो । एकदम राम्रा छन् क्या तिनीहरू । राजनीतिमा यस्तो हुनुपर्छ ।

जसपाको महिला सांसदलाई मन्त्री बनाउन पनि लबिङ गर्दै हुनुहुन्छ होइन ?

हो यार, मैले उहाँको खटन पटन देखेँ । हामीलाई राम्रो मान्छे चाहिने हो नि त । यस्तो व्यक्तिलाई मैले सहयोग गर्नुपर्छ । महिलालाई नेतृत्वमा ल्याउनुपर्छ । लेडिज भनेर नहुने रहेछ हेर्नुस्, केटाहरूजस्तो रक्सी खाएर त बिकेका छैनन् । केटाहरु त रक्सीमा बिक्छन् । महिला त कहिल्यै यस्तोमा बिकेको छैन नि त । जनमोर्चाको कृष्ण थापालाई हेर्नु त । यस्तो फटाहा व्यक्ति पनि नेता हुन्छ । पद त बेचेर खाए-खाए, फेरि मुद्दा पनि हाल्न भ्याए ।

मदिराकै कुरा गरिहाल्नुभयो, अनि खेलकुद परिषदका सदस्य सचिवको बारेमा तपाईले चरित्रहत्या गर्ने कुरा किन बोलेको ?

मैले थाहा पाएको हिसाबले जे भने भने, पर्सनल इस्युमा हामी जानु पनि हुँदैन हेर्नुस् । एक-अर्कोलाई सम्मान गर्ने कुरा छँदैछ । अब हेर्नुस् व्यक्तिगत कुरा चाहिँ नगरौं भन्ने मैले पनि सोचेँ , तर उहाँहरु परिवर्तन हुनुपर्‍याे । भ्रष्टाचार पनि गर्नु भएन । म परिवर्तन हुने भनेको नबोल्ने हो ।

यसअघिको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तपाईंलाई सुधार गर्न खोजेको तर सकिन भन्नु भयो, तपाई नसुध्रिने नै हो ?

पृथ्वीसुब्बा दाइले भनेको नराम्रो चाहिँ होइन । त्यसमा के हो भने मैले एक भोट हालेपछि उहाँ मुख्यमन्त्री हुने र मैले नहाल्दा सडकमा जाने अवस्था हुने रहेछ नि त ।

तपाई यसलाई हाइलाइट गर्नुस् है, बदनाम गर्नेले मलाई गरिरहेको छ । मनाङमा त म एमालेसँग मिलेर लडेको हो अब पनि लड्छु । मिलेर जान सकिएन भने चुनाव नै लड्दैन । अगर मैले मनाङमा एमालेसँग मिलेर लड्न सकेन भने चुनावै लड्दिन ।

मैले त मनाङको विकास हेर्ने हो । मलाई जिताउनमा पनि कसैको योगदान छैन । आफ्नो जिल्लामा बजेटको ओइरो हाल्ने तर मनाङजस्तो सडक समेत नभएको जिल्लामा बजेट नदिने । मैले यिनिहरूलाई नमस्ते गरेर बस्ने होइन ।

मलाई जिताउन यिनीहरूको पनि केही योगदान छैन । त्यसैले मैले त मनाङको जनतालाई हेर्ने हो । मनाङलाई राम्रो बनाउनुपर्छ भन्ने हो ।

भनेपछि अब मनाङमा पहिले जस्तो एमालेसँग मिलेर चुनाव नलड्ने हो ?

अब तपाईं यसलाई हाइलाइट गर्नुस् है, बदनाम गर्नेले मलाई गरिरहेको छ । मनाङमा त म एमालेसँग मिलेर लडेको हो अब पनि लड्छु । मिलेर जान सकिएन भने चुनाव नै लड्दैन ।

अगर मैले मनाङमा एमालेसँग मिलेर लड्न सकेन भने चुनावै लड्दिन । कमिटमेन्टभन्दा बाहिर जानु हुँदैन,सबैभन्दा ठूलो आफूले दिएको जमान हो ।

हेर्नुस् मैले इथिक्स छाड्न मिल्दैन । नेताले बोलेपछि भगवानको बोलीजस्तो हुनुपर्छ । प्रदेशमा हामी मिलेर गयौं ठीक छ, तर जिल्लामा म कांग्रेससँग मिल्न सक्दिन ।

प्रदेशका कांग्रेससँग म मिले भन्दैमा मनाङका कांग्रेसहरू खुसी नभए हुन्छ । एमालेसँग मिलेर मैले लड्न सकिन भने मैले राजनीति गर्दिनँ ।

मलाई कस्तो अप्ठेरो थियो भने मैले नगर्नेवित्तिकै संसद विघटन हुन्छ । संसद विघटनको लागि त म मान्दिन नि ! मेरो ८३ वर्षको फुपू गएर मलाई भोट हालेर जिताएको छ । कहिल्यै नजाने मान्छेहरू गएर भोट हालेकाे छ ।

म मन्त्रीको लागि बिक्दिन । मन्त्री पद केही होइन क्या । तर, मनाङमा चाहिँ म एमालेसँगै मिल्छु । त्यसो भएपछि मनाङमा म पनि जित्छु एमालेको पाल्दोन छोपाङ पनि जित्छ ।

म कांग्रेस बन्न सक्दिनँ । राजनीति भनेको यसलाई नै भन्दो रहेछ । हाम्रो जिल्लामा एमालेको सांसद पाल्देनले जति विकास कसैले गर्दैन । त्यो मान्छे दुःख गर्ने मान्छे चाहिँ हो । मलाई यस्तै मान्छे मन पर्छ । हेर्नुस् मैले इथिक्स छाड्न मिल्दैन । नेताले बोलेपछि भगवानको बोली जस्तो हुनुपर्छ । प्रदेशमा हामी मिलेर गयौं ठीक छ, तर जिल्लामा म कांग्रेससँग मिल्न सक्दिन ।

भनेको प्रदेश जोगाउनका लागि मात्र हो तपाईंले भूमिका निर्वाह गरेको हो ?

मैले नगर्ने वित्तिकै संसद विघटन हुन्छ । म संसद विघटन गर्ने पक्षमा थिएन । मलाई ८० वर्षको बुढा आमा-बुवाले मत दिएका छन् । म उहाँहरूको भोट खेर हालेर संसद विघटन गर्ने पक्षमा भोट हाल्दिनँ । एउटा मन्त्रीको दाउमा जनताको भोट बेच्न चाहान्नँ ।

भनेपछि प्रदेशको सरकारका मात्र सहकार्य हो कांग्रेस माओवादीसँग ?

कुरा त्यही हो । राजनीति भनेको के हो थाहा हुँदैछ । मेरो क्षेत्रमा अरुले जित्ने सपना नदेखे हुन्छ । म राजनीतिक सिद्धान्त छोड्दैन । नेताको काम झुट बोल्ने होइन । भगवानको जस्तै नेताको बोली हुनुपर्छ भन्ने हो । प्रदेशमा हामी ४ वटा दल मिलेको हो तर मनाङमा एमाले र मैले नै हो जित्ने ।

गण्डकी प्रदेश सरकारले कहिले पूर्णता पाउँछ ?

म नगएर पूर्णता पाउन रोकिएको हो । म जाने वित्तिकै पूर्णता पाइहाल्छ । मनाङमा खाद्यान्न तथा राहत पुर्‍याउनका लागि काठमाडौं आएको हो । अहिले सरकार तथा गैरसरकारी निकायसँग हामीले सहयोग मागिरहेका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर