भैंसेपाटीमा वामदेव गौतम र विष्णु पौडेलको ‘भलाकुसारी’ – Nepal Press

भैंसेपाटीमा वामदेव गौतम र विष्णु पौडेलको ‘भलाकुसारी’

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेका नेता वामदेव गौतमसँग उनकै निवासमा पुगी भेटवार्ता गरेका छन् । गौतमको सचिवालयका अनुसार भेटवार्ता राजनीतिकभन्दा पनि व्यक्तिगत हो ।

भैंसेपाटीमा बस्ने गौतम र पौडेल छिमेकी हुन् । पार्टी विवादका बीच पनि उनीहरूबीच व्यक्तिगतरुपमा राम्रो सम्बन्ध छ । आजको भेटवार्ता व्यक्तिगतस्तरमै भएको गौतमको सचिवालयले जनाएको छ ।

गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले भने, ‘ठोस विषय केही थिएन । सामान्य भलाकुसारी भएको हो ।’ भेटघाट करिब एक घण्टा भएको उनले जानकारी दिए ।

गौतम पछिल्लो समय एमालेलाई एक बनाउने अभियानमा छन् । यद्यपि, उनको झुकाव बढी मानव नेपाल पक्षतिर छ । सर्वोच्च अदालतले हालै एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने गरी अन्तरिम आदेश दिएको थियो । उक्त आदेशको मर्मअनुसार पार्टीमा जेठ २ गते अघिको स्थायी कमिटी वैठक बोलाउनुपर्ने पक्षमा गौतम छन् । पार्टी संस्थापनले सो बैठक बोलाएमा सहभागी हुने उनको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर