प्रदेश २ सरकारमा कांग्रेसकाे इन्ट्री, तीन मन्त्रीले लिए सपथ – Nepal Press

प्रदेश २ सरकारमा कांग्रेसकाे इन्ट्री, तीन मन्त्रीले लिए सपथ

जनकपुरधाम । प्रदेश २ को मन्त्रिपरिषद् विस्तार भएका छ । सत्तारूढ जसपाले नेपाली कांग्रेसलाई तीन मन्त्रालय दिएर सरकारमा सहभागी गराएको हो ।

कांग्रेसका तर्फबाट रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा बिकास र बिरेन्द्र सिंह महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रीको सपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ ले पद तथा गोपनीयताको सपथ गराए ।

सपथ ग्रहणका क्रममा प्रदेश प्रमुख झाले ‘ईश्वर’ को नाममा भनेको ठाउँमा मन्त्रीहरूले ‘जनता’ उच्चारण गरेका थिए ।

नवनियुक्त मन्त्री यादव कांग्रेस कांग्रेस संसदीय दलका नेता हुन् । धनुषाबाट प्रत्यक्ष निर्वाचित उनी कांग्रेसबाट नेतृत्व गरी सरकारमा सहभागी भएका छन् । पर्सा घर भएका शर्मा समानुपातिक र सिंह सर्लाही ४ ‘क’बाट निर्वाचित सांसद हुन् ।

पार्टी शीर्ष नेतृत्वमा आन्तरिक विवादसँगै उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेपछि जसपाले सत्ता साझेदारीका लागि कांग्रेस र माओवादी केन्द्रसँग छलफल अघि बढाएको थियो ।

माओवादीलाई पनि सरकारमा सहभागी गराउने छलफल जारी राखेको प्रदेशका आन्तरिक मामिला तथा कानूनन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

माओवादीले दुई मन्त्रालय मागेको तर सरकारले एउटा मन्त्रालय मात्र दिने भनेपछि सहमती नबनेको स्रोतले जनायो । माओवादीलाई २/४ दिन समय लागेपनि सरकारमा सहभागी गराउने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर