महामारीपछि थपिए ५७७ भेन्टिलेटर र ४०० आईसीयू बेड, थपिएनन् अस्पताल – Nepal Press
स्वास्थ्य पूर्वाधारको प्रगति

महामारीपछि थपिए ५७७ भेन्टिलेटर र ४०० आईसीयू बेड, थपिएनन् अस्पताल

कोरोनाविरुद्धको लडाइँमा कहाँबाट के-के सहयोग आयो

काठमाडौं । हो कि होइन ? के हो, के हो ? भन्दाभन्दै पोहोर नेपालमा कोरोना भाइरस भित्रियो । भाइरस नियन्त्रणका लागि सरकारले अरु तयारी गर्नुभन्दा निषेधाज्ञालाई उपयुक्त विकल्प ठान्यो । विश्व महामारीको रूप लिएको कोरोना कहर क्रमशः कम भयो ।

केही महिनाअघि फेरि भाइरसको दोस्रो भेरियन्ट सुरू भयो । त्यसले भारतसँगै नेपाललाई नराम्ररी प्रभावित पार्‍यो/पारिररहेको छ । यसबीचमा सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक पहल नगरेको आरोप लागिरहेको छ । नेपालमा कोरोना भित्रिएको करिब डेढ वर्षमा सरकारले नियन्यत्रणसँगै संक्रमितको उपचार र व्यवस्थापनका लागि के-कति स्वास्थ्य पूर्वाधार निर्माण गर्यो त ? आमचासोको विषय छ ।

केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भनेका थिए, ‘कोरोना नियन्त्रणका लागि निषेधाज्ञा उपयुक्त विकल्प होइन, संक्रमितको उपचार तथा व्यवस्थापनको तयारीका लागि मात्रै यो समय हो ।’

तर, कोरोनाको दोस्रो छाल उत्कर्षमा पुग्दा पनि यथेष्ट स्वास्थ्य पूर्वाधार निर्माण हुन सकेन । पहिलो छालबाट पाठ सिकेर आवश्यक तयारी गर्न नसक्दा दोस्रो छाल झन् भयानक भएर आयो, र उहीं नियति भोग्नुपर्यो । न त संक्रमितको उपचारका लागि अस्पताल बने, न उपकरण र प्रविधिकै व्यवस्थापन हुनसक्यो ।

कोरोना महामारी सुरू भएको डेढ वर्षमा चारजना स्वास्थ्यमन्त्री भए । तर, स्वास्थ्य पूर्वाधार भने अपेक्षाकृत निर्माण हुन सकेन ।  तर, बनेका स्वास्थ पूर्वाधारको मात्रा हेर्ने हो भने नाजुक छ ।

कति थपिए स्वास्थ्य पूर्वाधार ?

कोरोना संक्रमितको उपचारका लागि देशभर १५७ अस्पताल सूचीकृत छन् । निशुल्क उपचारका लागि ४५ वटा निजी अस्पतालसँग सम्झौता भएको छ । २०७७ साल वैशाखसम्म देशभर ३२७ भेन्टिलेटर थियो । अहिले थप गरी ९०४ पुर्‍याइएको छ । थप १८० भेन्टिलेटर थप्ने प्रक्रिया सुरू भएको छ ।

२६ सय रहेको आईसीयू बेडको संख्या बढाएर तीन हजार पुर्‍याइएको छ । ६ सय ३० वटा बेड थप्ने तयारी भइरहेको छ ।  काेभिड अघि नेपालमा एउटा  पनि हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) बेड  थिएन । एचडीयू बेड सरकारी अस्पतालमा २ हजार ७५ र निजीमा ७ सय ७८ थप गरी सञ्चालनमा ल्याइएको छ । १४ सय बेड थप गर्ने तयारी भइरहेको छ ।

अक्सिजन प्लान्ट १९ वटा थप गर्ने तयारी भइरहेको छ । काेभिडकाे बीचमा ५० काे हाराहारीमा  थपिएकाे छ ।  यसअघि ३२ वटा अक्सिजन प्लान्ट रहेकोकाे थियाे ।  लिक्वीड अक्सिजन ट्यांङ्क ५ वटाबाट बढाएर २७ पुर्याउन पहल भइरहेको छ ।

लिक्वीड ट्याङ कोभिड अगाडी थिएन कोभिडपछि ५ वटा थपिएकाे हाे । अक्सिजन सिलिण्डर कोभिड अगाडि ६३०० वटा थियो । कोभिडको बीचमा १४ हजार सिलिण्डर थपियो । मन्त्रालयका अनुसार नेपालमा कोभिड अगाडि लिक्वीड ट्याङ र एचडीयू एउटा पनि थिएन ।

यस अवधिमा ९ सय अक्सिजन कन्सन्ट्रेटर थप गरिएको छ भने अक्सिजन सिलिण्डर संख्या ५ हजार थप गरिएको छ । त्यस्तै देशभार ५५ वटा सरकारी प्रयोगशाला थपिएका छन्। हाल ३६ वटा निजी प्रयोगशालाबाट कोरोना परीक्षण भइरहेको छ । काेभिड अगाडि एउटा पनि  थिएन ।

योबीचमा  अस्पताल थपिएका छैनन् । मन्त्रालयका अनुसार आइसोलेसन, क्वारेन्टिन थपिए पनि अस्पताल भने एउटा पनि थपिएको छैन । अहिले देशभर ६ हजार ९३४ वटा अस्पताल सञ्चालनमा छन्, जहाँ १३ हजारको हाराहारीमा बेड छन् । पछिल्लो एक वर्षमा ती अस्पतलामा करिब दुई हजार बेड थपिएका छन् ।

कोभिड महामारी नियन्त्रणमा सुरू देखिनै सक्रिय टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ आईसीयू बेड थियो, अहिले बढाएर २८ पुर्‍याइएको छ । जहाँ कोभिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थियो, अहिले २२ वटा छ । जुन संक्रमितको चापअनुसार एकदमै कम हो । देशका अरु अस्पतालको स्थिति झन् दयनीय छ ।

कहाँ चुक्यो सरकार ?

चीनमा कोरोना भाइरस भेटिएको २ महिनामै नेपालमा पनि संक्रमण सुरू भएको थियो । चीनमा कोरोना करिब नियन्त्रणतिर गइसक्दा नेपाल भने आक्रान्त भइरहेको थियो । तर, परिस्थितिको सही मूल्यांकन, आँकलन गरी स्वास्थ्य पूर्वाधार निर्माणसँगै अरु तयारी गर्न नसक्दा अहिले पनि स्थिति गम्भीर छ ।

परीक्षण र संक्रमितको उपचारसँगै व्यवस्थापन चुस्त हुन नसक्दा नेपालमा स्थिति विकराल बनेको चिकित्सकहरू बताउँछन् । सुरुमा नेपालमा कारोना परीक्षण गर्ने ल्याब नै थिएन, हङकङ पठाउनु परेको थियो । त्यो तुलनामा अहिले केही सुधार भए पनि अपेक्षाकृत र आवश्यकताअनुसार पूर्वाधार बन्न सकेको छैन ।

मन्त्रालय भन्छ- स्वास्थ्य पूर्वाधार थप्दैछौं

स्वास्थ्य मन्त्रालयले भने कोरोना महारमारी नियन्त्रण, संक्रमितको उपचार तथा व्यवस्थापनका लागि स्वास्थ्य पूर्वाधार थप्ने क्रम जारी रहेको बताएको छ ।

महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सेवा, सुविधा, उपचार, बेड, आईसीयूलगायतका संरचना थपिए पनि पर्याप्त नभएको बताउँछन्, मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल । उनी भन्छन्, ‘क्रमशः संरचनाहरू थपिँदै छन् ।’

‘अस्पताल थपिएर मात्रै कोरोना नियन्त्रण हुँदैन’

अस्पतालको संख्ख्या थपिएर मात्रै कोरोना नियन्त्रण नहुने बताउँछन्, संकट व्यवस्थापन विज्ञ डा. राम थपलिया । अज्ञानता, हेलचेक्रयाइँ र कमजोर नेतृत्वका कारण नेपालमा कोरोना महामारीले अहिलेको रूप लिएको उनको बुझाइ छ ।

‘विश्वका कतिपय देशमा कोरोना नदेखिँदै नेपालमा देखिएको थियो’ उनी भन्छन्, ‘त्यतिबेला नेपालमा कोरोना बढ्न नदिने मौका थियो, तर हामीले ख्यालख्याल ठानेर उपयुक्त कदम चालेनौं, सावधानी पनि अपनाएनौं, त्यसको असर अहिले भोगिरहेका छौं ।’

स्वास्थ्यकर्मीले चाहँदैमा कोरोना नियन्त्रण नहुने भन्दै उनी भन्छन्, ‘सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएर लागू गर्नुपर्छ । अस्पताल र स्वास्थ्यकर्मीको संख्या थप्दैमा कोरोना नियन्त्रण हुँदैन ।’

महामारी नियन्त्रणको लागि निजी स्वास्थ्य क्षेत्रलाई पनि समेटेर जानुपर्नेमा सरकारले बेवास्ता गरेर गल्ती गरेको उनको भनाइ छ । डा. थपलियाले भने, ‘राज्यले स्वास्थ्य मन्त्रालयलगायत सरकारी अस्पतालले नै सबै व्यवस्थापन गर्छ भन्यो, जनु गम्भीर भुल थियो ।’

कहाँबाट कति आयो खोप ?

नेपालमा ३२ लाख ४८ हजार मात्रा खोप अनुदान र खरिदबाट ल्याइएको छ । जसमध्ये २६ लाख ६५ हजारभन्दा बढी मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ । दोस्रो डोज खोप लगाउनेको संख्या ५ लाख ५३ हजार ५ सय ८९ छ । त्यस्तै सरकारले अमेरिका बेलायत, रुस भारत र चीन सरकारसँग खोप खरिदका लागि सहजीकरण गर्न पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

युरोपियन युनियनसँग स्टकमा रहेको खोप पाउनका लागि पनि प्रयत्न भइरहेको मन्त्रालयले जनाएको छ । यसअघि भारतले १० लाख डोज कोभिसिल्ड र चीन सरकारले १८ लाख डोज अनुदान खोप अनुदान दिएको थियो ।

 

कहाँबाट कति आयो स्वास्थ्य सामग्री ?

कोरोनाको दोस्रो वेभ सुरू हुनेवित्तिकै विभिन्न देशले स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीन सरकारबाट २ हजार थान अक्सिजन सिलिन्डर, तिब्बत सरकारबाट ५० थान लिक्वीड अक्सिजन प्राप्त भएको छ । स्पेन सरकारबाट १५ भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर र एक लाख २४ हजार एन्टीजेन किटलगायतका सामग्रीहरू उपलब्ध भएको छ ।

त्यस्तै स्वीट्जरल्याण्डबाट ११ लाख एन्टीजेन किट, ४० भेन्टिलेटर र १० अक्सिजन कन्सन्टेटरलगायतका अन्य स्वास्थ्य सामाग्री, बगंलादेशबाट रेम्डिसिभर औषधि प्राप्त भएको छ । सिंगापुरबाट २० भेन्टिलेटर र पीसीआर किट एक लाख २४ हजार लगायतका अन्य स्वास्थ्य सामग्री प्राप्त भएको छ । अमेरिकाबाट ५ लाख एन्टीजेन किट, पीपीईलगायत स्वास्थ्य सामग्री प्राप्त भएको छ । थप आउने प्रक्रियामा छ ।

स्वीट्जरल्याण्डबाट ९७ करोड, अमेरिकाबाट ४३ करोड, सिगांपुरस्थित सामाजिक संस्थाबाट २३ करोड, स्पेनबाट १२ करोड, चीनबाट ७ करोड बगंलादेशबाट ४ करोड र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट १३ करोड गरी अहिलेसम्म करिब २ अर्ब भन्दा बढी रकम बराबरको स्वास्थ्य सामग्रीहरू सहयोग गरेका छन् ।

कोभिड महामारी व्यवस्थापनको लागि हालसम्म आर्थिक सहायताअन्तर्गत जर्मन सरकारबाट १ अर्ब ४२ करोड, एसियाली विकास बैंकबाट ३६ करोड तथा विश्व बैंकबाट करिब २४ करोडको सहायता प्राप्त भइसकेको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ ।

यस्तै जापान सरकारले ३ अर्ब २० करोड बराबर गरी २२ करोडको उपकरण सहायता दिने प्रकृयामा छ । ऋण सहायता अन्तर्गत विश्व बैंकबाट ३ अर्ब ४० करोड सहायता कार्यान्वयको क्रममा छ । साथै कोभिड १९ को व्यस्थापनको लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भई कार्यान्वयनको अवस्थामा छ ।

त्यस्तै कोभिड १९ खोप व्यवस्थापनका लागि एसियाली विकास बैकबाट थप १९ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने विषयमा छलफल भइरहेको मन्त्रालयले बताएको छ । अहिलेसम्म ३२ अर्ब २८ करोड रूपैयाँ ऋण सहयता लिइएको जनाइएको छ ।

साथै थाइल्याण्ड, अस्ट्रेलियालगायतका देशले पनि नेपाललाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । रोजगारीको सिलसिलामा कतार , साउदीलगायतको खाडी मुलुकमा पुगेका नेपालीले पनि अक्सिजनलगायत स्वास्थ्य सामग्री पठाएका छन् । यस्तै गैरआवासीय नेपाली संघंले पनि अक्सिजन कन्टन्ट्रेटरलगायतका स्वास्थ्य सामाग्री पठाएको छ ।

कोरोना नियन्त्रणमा कति भयो खर्च ?

स्वास्थ्य मन्त्रालयले कोभिड महामारी नियन्त्रणका लागि एक वर्षमा पाँच अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च गरिसकेको छ । स्वास्थ्य उपकरण, कोभिड उपचार, खोप खरिद, मास्क, पीपीई, आइसीयू बेड, स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, निशुल्क कोभिड परीक्षण तथा कोभिड १९ महामारी नियन्त्रणमा उक्त रकम खर्च गरेको मन्त्रालयको भनाइ छ । साथै मन्त्रालयले खोप कार्यक्रमका लागि दुई अर्ब ५४ करोड ५८ लाख भुक्तानी हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाल अपडेट ट्रेन्डिङ