कांग्रेस र माओवादीलाई सरकारमा ल्याउने मुख्यमन्त्रीको प्रयास, मन्त्रालय बाँडफाँडमा कुरा मिलेन – Nepal Press
प्रदेश २

कांग्रेस र माओवादीलाई सरकारमा ल्याउने मुख्यमन्त्रीको प्रयास, मन्त्रालय बाँडफाँडमा कुरा मिलेन

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादीलाई सरकारमा समावेश गर्दै मन्त्रीपरिषद पुनर्गठनको तयारी गरेका छन् । तर, मन्त्रालयको बाँडफाँडमा जनता समाजवादीले दुई पार्टीहरुको चित्त बुझाउन सकिरहेको छैन ।

जसपाले सत्ता समिकरणका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेतासँग पटक-पटक छलफल गरे पनि कुरा मिल्न नसकेको हो । नेपाली कांग्रेसले ५० प्रतिशत मन्त्रालय र माओवादीले दुई/दुई मन्त्री तथा राज्यमन्त्री मागेपछि मुख्यमन्त्री लालबाबु राउत तनावमा परेका छन् ।

मुख्यमन्त्री राउतले हिजो मात्रै महन्थ ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए । उनी खाली भएका मन्त्रालय कांग्रेस र माओवादीलाई दिने पक्षमा छन् । तर, कुरा नमिल्दा मन्त्रीपरिषद पुनर्गठनमा ढिलाइ भएको छ ।

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले त मुख्यमन्त्री नै दावी गरेका थिए । तर जसपा अध्यक्ष उपेन्द्र यादवले बनाएको वार्ता समितिका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायसँग दुईपटक छलफल भएपछि यादव लचिलो भए । मुख्यमन्त्रीमा दावी छोडेपछि मन्त्रालय ५० प्रतिशत दिनुपर्ने अडान राखेपछि कुरा नमिलेको कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले जानकारी दिए ।

स्रोतका अनुसार प्रदेश तहमा कुरा मिल्ने अवस्था देखिएको छैन । त्यसैले अब केन्द्रका नेताहरुले नै सहमतिको प्रयास गर्नेछन् ।

कांग्रेसका एक सांसदले भने, ‘आन्तरिक मामिला तथा कानून मन्त्रालय तीनवटामा टुक्र्याएर हामीलाई दिन खोजिएको छ, जुन मन्त्रालयमा बजेट नै छैन । त्यो मन्त्रालय लिएर के गर्ने ? त्यसमा पनि कुरा मिलेन ।’

यता, माओवादीले पनि दुई मन्त्री र दुई राज्यमन्त्री नदिए सहमति नहुने जसपा वार्ता टोलीलाई जानकारी गराएको छ । एक सांसदका अनुसार कुन-कुन मन्त्रालय दिने भन्ने तय भएको छैन ।
‘हाम्रो मागमा पहिले के जवाफ आउँछ भन्ने पर्खेका छौं । त्यसपछि थप कुरामा सहमतीको प्रयास गरिन्छ,’ ती सांसदले भने ।

माओवादी र कांग्रेसले मन्त्रालयमा सहमती नभए बाहिर बसेर भए पनि समर्थन गर्ने जनाएका छन् । केन्द्रमा भएको सहमतिअनुसार राउत सरकारलाई सहयोग गर्ने कांग्रेसका एक सांसदले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *