प्रदेश २ मा नयाँ सत्ता साझेदारीको गृहकार्य, कांग्रेसले तीन र माओवादीले दुई मन्त्रालय माग्यो – Nepal Press

प्रदेश २ मा नयाँ सत्ता साझेदारीको गृहकार्य, कांग्रेसले तीन र माओवादीले दुई मन्त्रालय माग्यो

जनकपुरधाम । प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएपछि अब नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग गठबन्धनको प्रयास थालेको छ ।

जसपाबाट वार्ताको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले पाएका छन् । उनीहरूले आज बिहान नेपाली कांग्रेस र माओावादी केन्द्रका संसदीय दलका नेतासँग छलफल गरेका छन् ।

स्रोतका अनुसार छलफलका क्रममा कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्रीमा दावी गरेका थिए । तर पछि तीन मन्त्रालय दिने विषयमा लगभग कुरा मिलेको छ । १९ सांसद रहेको कांग्रेसले सभामुखमा पनि दावी गरेको छ । बिहानको छलफल सकारात्मक रहेको र साँझमा लगभग टुङ्गो लाग्ने कांग्रेसका एक सांसदले बताए ।

आठ सांसद रहेका माओवादीले भने दुई मन्त्रालय र दुई राज्यमन्त्री मागेको बुझिएको छ । माओवादीका एक सांसदले भने, ‘हामीले दुई मन्त्री र दुई राज्यमन्त्री माग गरेका छौं । सहमति जुट्ने सम्भावना छ । आजै साँझ थप छलफल हुन्छ ।’

कांग्रेसले तीन मन्त्रालय र माओवादीले दुई मन्त्रालय मागेपछि सत्तारुढ जसपा भने सकसमा परेको छ । बर्खास्तमा परेका मन्त्री जितेन्द्र सोनलले सम्होलेको भौतिक पूर्वाधार विकास मन्त्रालय र तीन राज्यमन्त्रीमात्र खाली छ । कांग्रेस र माओवादीलाई सरकारमा ल्याउन केही मन्त्रालय टुक्राउने पनि सम्भावना रहेको स्रोतले बताएको छ ।

जसपा स्रोतका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्राउने तयारी भइरहेको छ । आज साँझ हुने भनिएको छलफलमा मन्त्रालयको टुङ्गो लागे राति नै वा भोली कांग्रेस र माओावादी केन्द्र सरकारमा सहभागी हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर