प्रदेश २ को मुख्यमन्त्रीमा कांग्रेसको दावी – Nepal Press

प्रदेश २ को मुख्यमन्त्रीमा कांग्रेसको दावी

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश २ को मुख्यमन्त्रीमा दावी गरेको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई बनाउन प्रस्ताव गरेका हुन् ।

प्रदेश २ को सरकार हाँकिरहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भएको छलफलमा निधिले कांग्रेस नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका छन् । प्रदेश २ मा अहिले जसपा उपेन्द्र समूहका लालबाबु राउत मुख्यमन्त्री छन् । जसपामा विवाद बढ्दै जाँदा महन्थ ठाकुर पक्षलाई सरकारबाट हटाउने राउतको तयारी छ । राउत नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गर्दै जसपा अध्यक्ष यादवले कांग्रेस उपसभापति निधिसँग शुक्रबार भेटवार्ता गरेका हुन् । भेटमा यादवले केन्द्रमा रहेको विपक्षी गठबन्धनको सहकार्य प्रदेश २ मा पनि कायम राख्नुपर्नेमा जोड दिएका थिए ।

‘उपेन्द्र यादवजीले प्रदेश २ को सरकारमा सहभागी हुन आग्रह गर्नुभएकोमा उपसभापति निधिले बाँकी कार्यकाल कांग्रेसकै नेतृत्वमा सरकार बनाउन प्रस्ताव गर्नुभयो’, निधिका प्रेस सल्लाहकार रामजी दाहालले भने । दाहालका अनुसार उपसभापति निधिले २ वर्ष समाजवादीले सरकारको नेतृत्व गरिसकेकोले बाँकी अवधी कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाए सहकार्य गर्न सकिने बताएका थिए । जवाफमा यादवले तत्काललाई कांग्रेस सरकारमा सहभागी भएपछि नेतृत्व हस्तान्तरणका विषयमा छलफल गर्न सकिने बताएका थिए ।

यादव शुक्रबार नै जनकपुर प्रस्थान गरेका छन् । उनी फर्केपछि पुनः छलफल गर्ने सहमति नेताद्वयबीच भएको छ । प्रदेश नम्बर २ मा अहिले जसपाको एकल सरकार छ । जसपाको ठाकुर समूह संघीय सरकारमा सहभागी हुने भएपछि यादव समूहले मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेको छ । प्रदेश २ मा जसपाको यादव समूहका ३०, ठाकुर समूहका २५, नेपाली कांग्रेसका १९, एमालेका २१ ।

माओवादी केन्द्रका ८ र संघीय समाजवादी पार्टीका एकजना सदस्य रहेका छन् । संघीय सरकारमा सहभागी हुने सहमति गरेको ठाकुर समूहले प्रदेश २ मा एमाले समर्थनमा नयाँ सरकार गठन गर्ने तयारी गरेपछि यादवले कांग्रेससँग सहकार्य प्रस्ताव गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर