सञ्चारक्षेत्रमा कोरोनाको बज्रः १९ पत्रकारको मृत्यु, सञ्चारगृहहरू अस्तव्यस्त – Nepal Press

सञ्चारक्षेत्रमा कोरोनाको बज्रः १९ पत्रकारको मृत्यु, सञ्चारगृहहरू अस्तव्यस्त

काठमाडौं । राज्यको चौंथो अंगका रूपमा मान्यता पाएको सञ्चार जगत कोरोनाको दोस्रो प्रहारले अस्तव्यस्त बनेको छ । फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरू कोरोनाको उच्च जोखिममा छन् भने धेरै संञ्चारगृहहरू आर्थिक संकटबाट गुज्रिरहेका छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण १९ पत्रकारको मृत्यु भइसकेको नेपाल पत्रकार महासंघले जनाएको छ । यसैगरि, ९ सयभन्दा बढी पत्रकार संक्रमित बनेको तथ्यांक पत्रकार महासंघसँग छ, यद्यपि वास्तविक संख्या योभन्दा धेरै ठूलो हुन सक्छ । २ सय सक्रिय संक्रमितमध्ये ४० जना अस्पतालमा रहेकोमा ५ जना आईसीयूमा उपचार गराइरहेका छन् ।

कोरोनाले चुँडेकाहरु

निजी रेडियोहरुको छाता संस्था ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष तथा इटहरीस्थित सप्तकोशी एफएमका सञ्चालक चन्द्रप्रसाद न्यौपानेले पनि कोरोना संक्रमणबाट ज्यान गुमाए । विराटनगरको बिराट मेडिकल कलेजमा उपचाररत न्यौपानेको ५० वर्षको उमेरमा गत जेठ १४ गते मृत्यु भएको हो । उनी सरकारद्वारा गठित विज्ञापन बोर्डका सदस्य समेत थिए ।

अन्नपुर्ण दैनिकमा कार्यरत दोलखाका पत्रकार रविन्द्र गौतमको गत जेठ १६ गते मृत्यु भयो । स्वास्थ्य अवस्था बिग्रिएपछि दोलखाबाट हेलिकोप्टरमा काठमाडौं ल्याएर उपचार गरिए पनि उनको ज्यान जोगिन सकेन ।

डेढ दशकदेखि स्वतन्त्र पत्रकारिता गर्दै आएका पाचँथरका एकराज भण्डारीको १५ गते मृत्यु भयो । उनी पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष समेत थिए । झापाको विर्तासिटी अस्प्तालमा उनको मृत्यू भएको थियो ।

विभिन्न पत्रिकामा साहित्यिक पत्रकारिता गर्दै आएका धनुषाका पत्रकार माधव आर्चायको गत ८ गते कोरोना संक्रमणका कारण मृत्यु भयो ।

रेडियो नेपालमा कार्यरत खोटाङका कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण जेठ ७गते ५४ वर्षको उमेरमा मृत्यु भएको थियो ।

रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोना संक्रमणका कारण ६० वर्षको उमेरमा गत जेठ ५ गते निधन भयो । उनी रेडियो लुम्बिनीमा कार्यरत थिए ।

पत्रकारहरुको श्रम समस्या समाधान गर्नुका साथै कोभिड १९ को सतर्कताका लागि विभिन्न सामग्री वितरण गरिरहेको महासंघका महासचिव रोशन पुरीले बताए । पुरीका अनुसार पत्रकारहरुलाई ४५ हजारभन्दा बढी मास्क, स्यानिटाइजर वितरण गरिएको छ भने केन्द्रिय कार्यालयमा ५ बेडको अक्सिजनसहितको बेडहरु तयार गरिएको छ ।

दाङका ३२ वर्षीय पत्रकार लक्ष्मण बस्नेतको जेठ ५ गते निधन भयो । दाङको रेडियो हापुरेमा स्टेसन मेनेजरका रुपमा काम गरेका बस्नेत पछिल्लो समय सोही रेडियोको सञ्चालक समिति सदस्य थिए ।

जनता टाइम्स अनलाइनका सम्पादक तथा सौर्य दैनिकका सहसम्पादक शान्तिराम कार्कीको गत जेठ २ गते मृत्यु भयो । उनी नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठानका अध्यक्षसमेत थिए । ३४ वर्षिय कार्कीको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

कास्कीका पत्रकार गणेश पौडेलको बैशाख ३० गते कोरोना संक्रमणका कारण ज्यान गुमाए । उनी गण्डकी टेलिभिजनमा निर्देशकको रुपमा कार्यरत थिए ।

रौतहटको रेड टेलिभजनकी अध्यक्ष रमादेवी यादबको २९ वर्षको उमेरमा कोरोना संक्रमणका कारण मृत्यु भयो । उनको जिल्ला अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो ।

नागरिक दैनिकमा कार्यरत मुगुका सुमन मल्लको बैशाख ३० गते मृत्यु भयो । ४२ वर्षका उनी मधुमेह र उच्च रक्तचापका कारण दुई वर्षदेखि थलिएका थिए । आर्थिक अभावका कारण राम्रो उपचार नपाएर मृत्यू भएको परिवारले बताएका छन् ।

रौटहटको मधेश एफएमका स्टेशन म्यानेजर तथा ‘जनकपूर टुडे’का सम्वाददाता मनोज चौधरीको उपचारको क्रममा बैशाख २९ गते मृत्यु भयो । उनको १२ दिनअघि कोरोना पुष्टि भएको थियो ।

सि पोष्ट न्युज डट कमका सम्पादक तथा प्रकाशक दिनेश दाहालको वैशाख २५ गते कोरोना संक्रमणका कारण ज्यान गयो ।

यसअघि पहिलो पनि ६ जना पत्रकार तथा पूर्वपत्रकारले ज्यान गुमाएका थिए । त्यसबेला कोरोना संक्रमणबाट मृत्यू हुनेहरुको नाम आधिकारिकरुपमा खुलाइएको थिएन । त्यसैले पहिलो लहरमा ज्यान गुमाउनेहरुको नाम अहिले पनि महासंघले सार्वजनिक गरेको छैन ।

राहतबारे छलफलमा मन्त्रालय

मृत्यू भएका पत्रकारका परिवारले केही संघ-संस्थाबाट सानोतिनो सहयोग पाए पनि अन्य उल्लेख्य राहत तथा क्षतिपूर्ति प्राप्त भएको छैन । प्रदेश २ सरकारले भने आफ्नो प्रदेशका दुई पत्रकार रमादेवी र मनोजका परिवारलाई ५१ हजार रुपैयाँका दरले राहत प्रदान गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले संक्रमण संक्रमणबाट मृत्यु भएकाहरुको परिवारलाई क्षतिपूर्ति दिने सम्वन्धमा कुनै निर्णय नभएको जनाएको छ । यद्यपि यो विषय छलफलमा रहेको मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘राहतदेखि उपचार र क्षतिपूर्ति दिने भनेर भनेको छौ, तर निर्णय भएको छैन । थप केही गर्नुपर्ने भएकाले छलफल गरिहेको छ । मन्त्रालय सम्वेदनशील छ यस विषयमा ।’

कतिले गुमाए रोजगारी ?

सरकारले निषेधाज्ञाका बीच पनि सञ्चारगृह सञ्चालनको अनुमति दिएको छ । सूचना विभागको प्रेस पासका देखाएर पत्रकारहरुले सवारीसाधन प्रयोग गर्न पाउँछन् ।

यद्यपि, धेरै सञ्चार गृहहरुले न्यून संख्यामा कर्मचारी कार्यालय राखेर अरुलाई ‘वर्क फ्रम होम’ को अभ्यास गरिरहेका छन् । अघिल्लो लकडाउनमा ठूलो संख्यामा पत्रकारलाई सम्वन्धित सञ्चारगृहले बेतलबी बिदामा राखेका थिए भने कतिपयलाई दीर्घकालीन रुपमै जागिरबाट निकालेका थिए । धेरै सञ्चारगृहले पत्रकार-कर्मचारीको तलब कटौति पनि गरेका थिए । यसपाली पनि निषेधाज्ञा लम्बिँदै गयो भने फेरि त्यही अवस्था आउने चिन्ता पत्रकारहरुमा छ ।

महासंघले पछिल्लो एक वर्षमा कोरोनाले सञ्चार माध्यममा परेको प्रभावको बारेमा अध्ययन गरेको थियो । २०७७ वैशाख २२ देखि ०७८ वैसाख १४ सम्म अध्ययन गरेर तयार गरिएको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी वार्षिक प्रतिवेदन’ महासंघले सार्वजनिक गरिसकेको छ ।

महासंघले गरेको सर्वेक्षणअनुसार कोरोनाको पहिलो छालमा ५ सय १७ जना पत्रकारले रोजगारी गुमाएका थिए । दोस्रो छाल आएसँगै अहिलेसम्म ५० जनाजति पत्रकारको रोजगारीमा समस्या आएको महासंघले जनाएको छ ।

महामारीको प्रभावका कारण एक वर्षमा करिब ४% पत्रकारले आफ्नो जागिर गुमाएको तथा ६% पत्रकारहरु बेतलबी विदामा बस्न वाध्य हुनु परेको महासंघको पतिवेदनमा उल्लेख छ । यस्तै, ९% पत्रकारको तलब कटौती भएको, २०% पत्रकारहरुले नियमित तलब पाउन नसकेको अध्ययनले देखाएको छ ।

महामारीका कारण ४०% भन्दा बढी पत्रकारहरुको आम्दानीमा प्रत्यक्ष प्रभाव परेको छ । यस्तै, ७०% भन्दा बढी पत्रकारले समाचार संकलन र सम्प्रेषणमा असहजता महसुस गरेका छन् । अघिल्लो लकडाउनमा आफ्नो रोजगारी गुमाएको र तलब नपाएको भनेर दर्जनौं पत्रकारले महासंघमा उजुरी गरेका थिए ।

दुई सय सञ्चारमाध्यम बन्द

महामारीका कारण धेरै सञ्चारमाध्यमले आर्थिक संकटको सामना गरिरहेका छन् । लकडाउन÷निषेधाज्ञामा व्यवसायीक गतिविधि ठप्प हुने भएकाले सञ्चारमाध्यममा विज्ञापन सुक्ने गर्छ । त्यसैले कतिपय सञ्चारमाध्यम पत्रकार–कर्मचारीलाई तलव खुवाउन पनि धौधौ पर्ने अवस्थामा छन् ।

नाम चलेका सञ्चारमाध्यममा पनि विज्ञापन खडेरी लागेको महासंघको सर्वेक्षणले देखाएको छ । प्रतिवेदनअनुसार महामारी र लकडाउनका कारण एक वर्षमा देशभर करिब २०० सञ्चारमाध्यम बन्द भएका छन् । बन्द हुनेमा अधिकांश छापा माध्यम रहेको महासंघले जनाएको छ ।

कोभिडको दोस्रो लहरले पनि सञ्चारगृह र सञ्चारमाध्यमहरु प्रभावित बनिरहेका छन् । यद्यपि, अघिल्लो वर्षको जस्तो समस्या देखिइसकेको छैन ।

हालै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटले पत्रकार तथा सञ्चारगृहहरुका लागि विभिन्न छुट तथा सहुलियतको व्यवस्था गरेको छ । श्रमजिवी पत्रकारको लागि ७ लाखसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइने भनिएको छ । साथै, आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महांघको सदस्य रहेका पत्रकारलाई पे्रस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था मिलाइने भनिएको छ ।

कोभिड १९ बाट प्रभावित भई रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चार गृहलाई पुनःकर्जा तथा व्यवसायिक निरन्तरता कर्जा सुविधा दिइने बजेटमा उल्लेख छ । सरकारले सञ्चार प्रतिष्ठानलाई लोककल्याणकारी विज्ञापन वापत उपलब्ध गराउने रकमको १० प्रतिशत पत्रकार कल्याणकारी कोषमा जम्मा गर्ने व्यवस्थालाई शीघ्र कार्यान्वयन गरिने भनिएको छ ।

यस वर्ष सञ्चारगृहहरु स्वत नविकरण हुनुपर्ने माग बजेटमा सम्वोधन भएको छ । २०७८÷७९ मा तिर्नुपर्ने इजाजत तथा नविकरण दस्तुर पुरै छुट दिइ स्वतः नवीकरण हुने व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ । यस्तै, सञ्चारगृहको करयोग्य आयमा १ प्रतिशत मात्रै आयकर लाग्ने तथा नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्याइएको छ ।

मिडिया हाउस धरासायी छन् : मिडिया अलाइन्स

कोभिडको कारण विज्ञापनमा ह्रास आएसँगै मिडिया हाउसहरु समस्यामा रहेको मिडिया एलाइन्सका अध्यक्ष भास्करराज राजकर्णिकारले बताए ।

उनले भने, ‘सञ्चारका अधिकांश सञ्चारमाध्यमहरु विज्ञापनबाट चलेका छन् । अहिले विज्ञापनको कारोबार ५० प्रतिशतभन्दा तल छ । त्यसले गर्दा मिडिया हाउस नै धरापमा परिरहेको अवस्था छ ।’

प्रकासन र प्रशारण भएका विज्ञापनबाट आउनुपर्ने रकम पनि बन्दको कारण उठाउन नसकिरहेकोले पत्रकार/कर्मचारीलाई तलव खुवाउन समेत कठिन अवस्था रहेको उनले बताए । आगामी आर्थिक वर्षको बजेटमा मिडिया हाउसहरुको केही माग सम्बोधन भए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ ।

उनले भने, ‘बजेटमा माग सम्बोधन नभएको होइन । तर पुर्ण सन्तुष्ट हुने अवस्था पनि छैन । घोषणा भएका कुराहरु पनि व्यवहारिक रुपमालागू हुने सम्भावना न्यून छ ।’

एक वर्ष अगाडिको बजेटमा समेटिएका विषयहरु अहिलेसम्म सम्वोधन नभएको उनले गुनासो गरे । ‘योभन्दा अगाडि आएको व्यवसायिक ऋण पनि कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘अहिलेको पनि कार्यान्वयन हुन्छ भन्ने अवस्था छैन ।’

महासंघ र काउन्सिलको पहल

नेपाल पत्रकार महासंघले कोभिड १९ को प्रभावबाट सञ्चारगृहमा पत्रकारहरुले भोगिरहेका समस्या समाधानमा पहल गरिरहेको जनाएको छ । अहिलेसम्म ३० जना पत्रकारहरुका श्रम समस्या महासंघको नयाँ कार्यसमितिले समाधान गरेको छ ।

पत्रकारहरुको श्रम समस्या समाधान गर्नुका साथै कोभिड १९ को सतर्कताका लागि विभिन्न सामग्री वितरण गरिरहेको महासंघका महासचिव रोशन पुरीले बताए । पुरीका अनुसार पत्रकारहरुलाई ४५ हजारभन्दा बढी मास्क, स्यानिटाइजर वितरण गरिएको छ भने केन्द्रिय कार्यालयमा ५ बेडको अक्सिजनसहितको बेडहरु तयार गरिएको छ ।

उपचारको क्रममा आर्थिक संकट बेहोरेका झण्डै ३० जना पत्रकारहरूलाई सहयोग गरिएको पुरी बताउँछन् । उनले भने, ‘संक्रमित पत्रकारको उपचारको लागि आईसीयू, भेन्टिलेटर, अक्सिजन खोज्न पनि पहल गरिरहेका छौं ।’

पत्रकारहरुको श्रम सम्झौतासँग जोडिएका कुरामा सरकारसँग पनि लिखित रूपमा आग्रह गरेको उनी बताउँछन् । त्यसकै परिणामस्वरुप सय जना पत्रकारहरुलाई लेखन वृत्तिको तालिम दिने विषय बजेटमा सम्बोधनभएको उनको दाबी छ । महासंघले कोभिडबाट मृत्यु भएका अािर्थक हिसाबले अत्यन्तै नाजुक अवस्था भएका पत्रकारहरुलाई थोरै आर्थिक सहयोग गर्न थालेको छ ।

नेपाल प्रेस काउन्सिलले महामारीको बीचमा रोजगारी गुमाएका, कोरोना संक्रमण भएर उपचार गराइरहेका पत्रकार तथा मृत्यु भएका पत्रकारका परिवारलाई आर्थिक अवस्था हेरेर सहयोग गर्ने निर्णय गरेको छ । संक्रमित पत्रकारको स्थिति हेरी सहयोग उपलब्ध गराउन थालेको प्रेस काउन्सिलका प्रशासकीय अधिकृत झविन्द्र भुसालले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘कसैलाई तत्कालै सानो भए पनि सहयोग गर्न सकिन्छ कि भनेर हामीले आर्थिक अवस्था कमजोर भएका, उपचार भइरहेका तथा मृत्यु भइसकेका परिवारलाई राहत दिन सुरु गरेका छौ ।’ यसअघि काउन्सिलले महामारीलक्षित गरी रकम नछुट्याएकाले अहिले समस्या भएको उनी बताउँछन् ।

‘आइसीयू र भेन्टिलेटरमा भएका ६ जनालाई र ३ जना मृत्यु भइसकेका पत्रकारहरुलाई प्रतिव्यक्ति २५ हजार दिएका छौ । धेरै पत्रकारहरु संक्रमित भएकाले ठूलो रकम आवश्यक पर्ने अवस्था छ । सहयोगका लागि सरकार र सम्बन्धित निकायमा पहल गरिरहेका छा्रैं,’ उनले भने ।

पत्रकारको अनुभव

पहिलोपटक नेपालमा कोरोना भाइरस देखिँदा आमजनतादेखि हरेक क्षेत्रमा कार्यरत व्यक्तिमा त्रास देखिएको थियो । त्यसबेला धेरै सञ्चारगृहहरुले केही समय कार्यालय बन्द गरेर वर्क फ्रम होमको अभ्यास गरे ।

अहिले भने पहिलेको जस्तो त्राश छैन । कोरोना महामारी उत्कर्षमा पुग्दा पनि धेरै सञ्चारकर्मीहरु फिल्डमा खटिएका छन् । केही पत्रकार चाहिँ घरबाटै काम गरिरहेका छन् ।

रातोपाटी अनलाइनका पत्रकार शम्भु दंगाल रातोपाटी निषेधाज्ञा जारी भएपछि आफूले स्थलगतरुपमा र घरमै बसेर रिर्पोटिङ गर्दै आईरहेको बताउँछन् । उनलाई स्थलगत रिपोर्टिङका क्रममा कोरोना संक्रमणसमेत भएको थियो ।

‘संक्रमण निको भएपछि कहिले फिल्डमा जाने त कहिले घरबाटै काम गरिरहेको छु,’ उनले भने ।

नारी मासिककी उपसम्पादक प्रकृति दाहाल अहिले घरबाटै काम गरिरहेको बताउँछिन् । मासिक पत्रिकामा अनलाइनजस्तो तुरुन्तै समाचार अपडेट गर्नुपर्ने नभएकाले घरबाटै काम गर्न सम्भव भएको उनको भनाइ छ । यद्यपि, घरबाट सूचना संकलन गर्ने कार्य त्यति सहज भने नहुने अनुभव उनले सुनाइन् ।

‘गत वर्ष आफैंलाई संक्रमण भएकाले यसपाली बढी सतर्क छु,’ उनले भनिन्, ‘बाहिर निस्कन परेमा मास्क, सेनिटाइजरजस्ता सुरक्षाका मापदण्ड पालना गर्ने गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर