बजेटमार्फत नयाँ घोषणा–‘समृद्धिका लागि सञ्चार’ – Nepal Press

बजेटमार्फत नयाँ घोषणा–‘समृद्धिका लागि सञ्चार’

काठमाडौं । समृद्ध नेपालको सञ्चार पहुँच अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन नेपाल सरकारले अंग्रेजी च्यानल ‘एनटिभि वल्र्ड’ सञ्चालन गर्ने भएको छ । शनिबार अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा महत्वका साथ नेपाल टेलिभिजनबाट उक्त च्यानल सुरु गर्ने घोषणा भएको हो ।

नेपाली टेलिभिजन प्रशारणको इतिहासमा उक्त च्यानलले अन्तर्राष्ट्रिय जगतमा नेपाल बुझ्ने गरी सामग्री प्रस्तुत गर्ने पहिलो कदमका रुपमा लिइएको छ । जुन च्यानलले नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने छ । च्यानल सञ्चालनका लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरेको छ । ‘नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन एनटिभि वल्र्ड च्यानल सञ्चालनमा ल्याइनेछ’, नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा भनिएको छ ।

अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सिधैं पहुँच नभएकाले छिट्टै सञ्चालन हुने ‘एनटिभि वल्र्ड’ सहज माध्यम बन्ने विश्वास लिइएको छ । आफ्नै सञ्चार पहुँच नहुँदा नेपालबारे बेलाबेला उत्पन्न हुने भ्रमले देशको पर्यटन क्षेत्रलाई समेत प्रभावित तुल्याएको छ ।

‘समृद्ध नेपाल : सुखी नेपालीको सन्देश अन्तर्राष्ट्रिय समुदायमा अहिलेसम्म पुग्ने माध्यम छैन । नेपाली टेलिभिजनको इतिहासमा एनटिभि वल्र्ड च्यानल मार्फत् पहिलो पटक अन्तर्राष्ट्रिय समुदायसँग पहुँच पुग्नेछ’, नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने । सञ्चारको संसार भन्ने मान्यतासहित सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने नीति अनुसार सरकार अघि बढेको प्रवक्ता गुरुङले बताए ।

इन्टनेटको पहुँच तीव्र
सरकारले जनताको सहज पहुँचका लागि डिजिटल नेपाल पे्रmमवर्कलाई कार्यान्वयन गर्ने बताएको छ । ‘समृद्धिका लागि सञ्चार’ भन्ने मुख्य ध्येय भएको उल्लेख गर्दै प्रवक्ता गुरुङले भने– ‘समृद्धिका लागि सञ्चार र सूचनामा सबैको सहज पहुँच अनिवार्य हो । यसका लागि अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने छौं ।’

सुशासन र पारदर्शीताका निम्ति स्थानीय तहको केन्द्र, वडासम्म ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तारको काम सरकारले अघि बढाएको छ । उक्त कार्यक्रम मन्त्रालयबाट कार्यान्वयन भइसकेको छ । हाल ८ जिल्ला स्थानीय निकायसँग ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार भइसकेको छ ।

इन्टरनेट माध्यमबाट शिक्षा र स्वास्थ्यमा जनताको सहजताका लागि सामुदायिक विद्यालय, क्याम्पसमा ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार सुरु गरिएको छ । जुन कार्यका लागि सरकारी निकायबाट प्रदान गरिने सेवा सेवाग्राहीले नागरिक एप्सबाटै प्राप्त गर्ने छन् ।

कोभिड पीडित पत्रकारलाई सम्बोधन
कोभिड–१९ को प्रभावित बनेका पत्रकारको समस्या समेत सरकारले सम्बोधन गरेको छ । कोभिड–१९ का नाममा बेरोजगार बन्न पुगेका पत्रकारका लागि सरकारले ‘लेखनवृत्ति’को व्यवस्था गरेको छ । त्यसैगरी श्रमजीवी पत्रकारका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने सरकारले घोषणा गरेको छ । विमाको हकमा बीमा प्रिमियमको ५० प्रतिशत सरकारले बेहोर्ने छ ।

नेपाली पत्रकारको दक्षता अभिवृद्धि तथा व्यवसायिकता विकास गर्न आम सञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानलाई आगामी आर्थिक वर्षभित्र स्थापना गर्ने सरकारले घोषणा गरेको छ । लामो समयदेखि नेपाली पत्रकारको साझा व्यवसायिक संस्थाले पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रतिष्ठान स्थापनाका लागि माग गर्दै आएका थिए ।

पहिलोपल्ट प्रेस संग्राहलय बन्ने
नेपाली प्रेस र पत्रकारिता सम्बन्धि विभिन्न कालखण्डमा भएको प्रविधिका विकासलाई जीवन्त राख्न प्रेस संग्रहालय स्थापना गरिएको छ । सरकारी निकायबाट प्रदान गरिने विज्ञापनमा सबै प्रकारका सञ्चारमाध्यमको पहुँच पुग्ने व्यवस्था गरिएको बजेटमा घोषणा गरिएको छ । जसबाट माध्यमहरुमा छापा, विद्युतीय टेलिभिजन, रेडियो, अनलाइन सबै पर्ने छन् ।

नागरिकको मनोरञ्जन र मुलुकभरका पर्यटकीय, सांस्कृतिक, धार्मिक क्षेत्रको समेत प्रचार–प्रसार हुने उद्देश्यसहित सबै प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण गर्ने सरकारले शनिबारको बजेट भाषणमा समावेश गरिएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर