च्याम्पियन्स लिग फाइनल: मेन्डी र कान्टे ट्रेनिङमा फर्किए – Nepal Press

च्याम्पियन्स लिग फाइनल: मेन्डी र कान्टे ट्रेनिङमा फर्किए

काठमाडौं । युरोपेली क्लब फुटबलको सबैभन्दा लोकप्रिय प्रतियोगिता- युइएफए च्याम्पियन्स लिगको फाइनलमा शनिबार राति चेल्सी र म्यानचेस्टर सिटी भिड्दै छन् । अल इङ्लिस फाइनलको तयारीमा रहेको चेल्सीका पहिलो रोजाइका गोलकिपर इडुवार्ड मेन्डी र महत्त्वपूर्ण मिडफिल्डर एनगोलो कान्टे घाइते भएका थिए ।

तर, हालै सार्वजनिक भएको चेल्सीको ट्रेनिङको तस्वीरमा दुवै खेलाडी देखिएका छन् । उनीहरू पूर्ण रूपमा फिट भएर ट्रेनिङमा फर्किएसँगै फाइनलमा खेल्ने लगभगब पक्का भएको छ । उत्कृष्ट फर्ममा रहेका कान्टेले चेल्सीको मिडफिल्ड सम्हालिरहेका छन् भने यसै सिजन फ्रेन्च क्लबबाट लन्डन आएका मेन्डीले च्याम्पियन्स लिगमा ९ क्लिनसिट राखिसकेका छन् ।

जारी सिजन च्याम्पियन्स लिगमा सबैभन्दा धेरै क्लिनसिट राख्ने गोलकिपरसमेत रहेका मेन्डीले प्रिमियर लिगमा पनि १६ क्लिनसिट राखेका थिए ।

२०१२ मा पहिलो पटक च्याम्पियन बनेको चेल्सी ९ वर्षपछि फाइनलमा पुगेको हो भने सिटी पहिलो पटक फाइनलमा पुगेको हो । २०१२ मा जर्मन क्लब बायर्न म्युनिखलाई हराएर च्याम्पियन बनेको चेल्सीले नेपाली समयअनुसार शनिबार राति १२:४५ बजे सिटीसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *