भाइरल अक्सिजन सिलिन्डरको वास्तविकता : साँवाको पहलले झापाका अस्पताललाई राहत – Nepal Press

भाइरल अक्सिजन सिलिन्डरको वास्तविकता : साँवाको पहलले झापाका अस्पताललाई राहत

काठमाडौं । एउटा अक्सिजनको सिलिन्डरलाई धेरै व्यक्तिहरुले हातले छोएर ‘गोदान’ गरिरहेको जस्तो तस्वीर तपाईंले सामाजिक सञ्जालमा देख्नुभएको होला । धेरैले यसलाई स्थानीय जनप्रतिनिधिको भद्दा नाटक भनेर आलोचना र व्यंग्य गरिरहेका छन् ।

कोरोनाको महामारीमा अक्सिजनको हाहाकार भइरहँदा एउटा सिलिन्डर पनि मूल्यवान हुने नै भयो । त्यसैले एउटा सिलिन्डर अस्पताललाई दिँदा धेरैजनाले जस लिन खोजेर हास्यास्पद दृष्य सिर्जना गरेको धेरैको विश्लेषण छ । यद्यपि, यसबारे खोजीनीति गर्दा वास्तविकता अलि फरक पाइएको छ ।

एमालेका निवर्तमान प्रतिनिधिसभा सांसद एलपी साँवाको पहलमा झापाका अस्पताल र स्थानीय तहलाई गत शनिबार अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । झापाको मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई नगरको सुरुङ्गा स्वास्थ्य केन्द्र र शिवसताक्षी नगरपालिकालाई साँवाको पहलमा २५ थान अक्सिजन सिलिन्डर पठाइएको थियो । यस्तै, आरटी पीसीआर कीट, सेफ्टी चस्मा, पीपीई सेट, सर्जिकल मास्क, एन ९५ मास्क , सेनिटाईजर, आइआर थर्मोमिटर, डिजिटल थर्मोमिटर, फेस सिल्ड लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

साँवाका पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग, प्रदेश सामाजिक विकास मन्त्री उषाकला राई र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख शम्भु शाहद्वारा प्राप्त उक्त सामग्री शनिबार कनकाई नगरको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा हस्तान्तरण गरेका थिए । साँवाका प्रतिनिधिका रूपमा नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष धनबहादुर थेवेलगायत एमालेका स्थानीय नेता-कार्यकर्ताले सामग्री हस्तान्तरण गरेका थिए । भाइरल तस्वीर त्यही कार्यक्रमको हो ।

अक्सिजनसहितको २० शय्याको आइसोलेसन कक्ष संचालनमा ल्याएको कनकाई नगरको सुरुङ्गा स्वास्थ्य केन्द्रलाई प्राप्त स्वास्थ्य सामग्रीले धेरै ठूलो सहयोग मिलेको र यसबाट धेरै नागरिकको ज्यान बचाउन सकिने भन्दै कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले साँवाको प्रशंसा गरेका छन् ।

उक्त स्वास्थ सामग्री काठमाडौंबाट राष्ट्रिय युवा संघ सचिवालय सदस्य मिलन कट्टेल सहितको टोलीले झापा ल्याएको हो । हस्तान्तरण कार्यक्रममा पत्रकार समेतलाई पीपीई सेट, सर्जिकल मास्क र सेनिटाईजर प्रदान गरिएको छ । हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद हिरा थापा, पूर्व संसद तारा सम्याङ्या , झापा जिल्ला समन्वय समितिका प्रमुख मेची अस्पतालका अध्यक्ष पोर्तेल, झापा जिल्ला जनस्वास्थ्य प्रतिनिधि कोभिड फोकल पर्सन जीवन चौलागाईं, कनकाई नगर प्रमुख, उपप्रमुखलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर