आइतबारदेखि गेटामा कोरोना संक्रमितको उपचार हुने – Nepal Press

आइतबारदेखि गेटामा कोरोना संक्रमितको उपचार हुने

कैलाली । कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा आइतबारदेखि कोरोना संक्रमितहरुको उपचार सुरु हुने भएको छ ।

तत्काल ५० शय्याको व्यवस्थापन गरेर आइतबारबाटै संक्रमितहरुको उपचार सुरु गर्ने अन्तिम तयारी भइरहेको निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।

निवर्तमान उद्योग मन्त्री भट्टको पहलमा गेटामा कोरोना संक्रमितको उपचर केन्द्र स्थापना गरिएको हो । अहिले मेडिकल कलेजमा ५० शय्या तयार भइसकेको छ । अक्सिजनको अभावमा उपचार सुरु हुन सकेको थिएन ।

काठमाडौंबाट अक्सिजन ढुवानी भइसकेको ओझाले जानकारी दिए । शनिवार सम्म १०० सिलिन्डर अक्सिजन गेटा कोरोना उपचार केन्द्रमा पुग्ने उनले बताए ।

‘२०० सिलिन्डर अक्सिजन आइरहेको छ । १०० सिलिन्डर अक्सिजन गेटामा कोरोना उपचार केन्द्रमा राखिने छ,’ उनले भने ‘५० सिलिन्डर सेती प्रादेशिक अस्पतालमा र ५० सिलिन्डर आवश्यक अन्य अस्पतालमा पठाइने छ ।’

निवर्तमान उद्योग मन्त्री भट्ट र प्रतिनिधि सभा सदस्य नरदमुनी रानाको पहलमा २०० सिलिन्डर अक्सिजन कैलाली आइरहेको उनले जानकारी दिए ।

अक्सिजन पुगेलगत्तै कोरोना संक्रमितहरुको उपचार सुरु हुने ओझाले बताए । गेटामा अक्सिजन दिनुपर्ने संक्रमितहरुको उपचार हुने जनाइएको छ । आईसीयू र भेन्टिलेटरमा राख्नु पर्ने जटिल प्रकारका संक्रमितलाई सेती प्रादेशिक अस्पताल रेफर गरिने बताइएको छ ।

धनगढीको सेती अस्पतालमा संक्रमितहरुले बेड पाइरहेका छैनन् । ५० शय्याको अस्थायी कोरोना अस्पताललाई ५५ शय्या बनाइएको छ । संक्रमितहरु बढ्न थालेपछि आकस्मिक कक्ष, सर्जिकल वार्ड र आँगनमा पनि टेन्ट लगाएर संक्रमितको उपचार भइरहेको छ

१५ शय्याको आकस्मिक कक्षलाई ३५ शय्या बनाइएको छ । ४० शय्याको सर्जिकल वार्ड र आँगनमा टेन्ट टाँगेर ८ शय्या तयार गरिएको छ । यति हुँदा पनि संक्रमितहरूको व्यवस्थापन गर्न नसकिएको सेती अस्पतालले जनाएको छ । गेटामा संक्रमितहरुको उपचार सुरु हुने भएपछि केही सहज हुने अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘दैनिकसंक्रमित बढिरहेका छन् । अस्पतालले थेग्नै नसक्ने भइरहेको छ । यस्तो अवस्थामा गेटामा कोरोना उपचार केन्द्र निर्माण भए धेरै सहज हुन्छ ।’

जिल्ला प्रशासन कार्यालय कैलालीले पनि तत्काल आइसोलेसन निर्माण गरेर सेवा दिने विषयमा छलफल भइरहेको जनाएको छ । ‘गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाले त्यसको रेखदेख गरिरहनु भएको छ,’ सूचना अधिकारी शिवराज जोशीले भने, ‘हामी तत्काल नै त्यसलाई सञ्चालनमा ल्याउँछौँ । ’

उनले कोरोना उपचार केन्द्र स्थापना भएपछि धेरै ठूलो सहजता आउने दावी गरे । ‘अहिले संक्रमित बढिरहेका छन् । उनीहरूलाई राख्ने ठाउँ छैन,’ उनले भने, ‘गेटामा कोरोना अस्पताल स्थापना भएपछि धेरै सहज हुन्छ ।’

दुई साता अघिदेखि नै संघीय सरकारले गेटामा २ हजार शय्याको कोरोना उपचार केन्द्रको स्थापना गर्ने तयारी थालेको थियो । तर, सुदूरपश्चिम प्रदेश सरकारले उचित सहयोग नगर्दा उपचार केन्द्र निर्माण गर्न ढिलाइ भइरहेको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर