एयरलिफ्ट गरेर काठमाडौंबाट रुपन्देहीमा अक्सिजन सिलिन्डर लगियो – Nepal Press

एयरलिफ्ट गरेर काठमाडौंबाट रुपन्देहीमा अक्सिजन सिलिन्डर लगियो

रूपन्देही । अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार प्रभावित भइरहेको रूपन्देहीमा नेपाली सेनाको जहाजमार्फत एयरलिफ्ट गरी शनिबार पनि अक्सिजन ग्याँस लगिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा रुपन्देहीमा अक्सिजन ग्याँसको अभाव हुन नदिन दोस्रो पटक यसरी अक्सिजन ग्यास लगिएको हो ।

जिल्ला सुरक्षा समिति रुपन्देहीले केन्द्रिय कोभिड संकट व्यवस्थापन केन्द्र समक्ष अक्सिजन उपलब्ध गराइदिन माग गरेको थियो । सोही बमोजिम विराटनगरबाट सेनाको जहाजमार्फत् शनिबार साँझ गौतमबुद्ध विमानस्थलमा सिलिण्डर अक्सिजन झारिएको हो ।

सेनाको जहाजमार्फत् अक्सिजन लगिएको प्रमुख जिल्ला अधिकार अस्मान तामाङले बताएका छन् । “पछिल्लो समय अक्सिजनकै अभावमा जिल्लामा मानवीय क्षति भएकोले र यहाँको उत्पादनले नधानेपछि अक्सिजन अभावमा कसैको ज्यान जोखिममा नपरोस् भनेर हामीले केन्द्रसँग अनुरोध गरेका थियौ ।”

अक्सिजन ल्याएर आएको जहाजमा रुपन्देहीबाट ६० वटा खाली सिलिण्डर रिफिलका लागि पुनः विराटनगर पठाइएको छ ।

उक्त सिलिन्डिर रिफिल गरेर सोही जहाजले आज नै रातिसम्म रुपन्देहीमा अक्सिजन आपूर्ति गर्ने तामाङले जनाए । जहाजमार्फत् दिउँसो लगिएको अक्सिजन सबै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । साँझ त्यहाँ पुगेको अक्सिजन आवश्यकताका आधारमा अन्य अस्पतालहरुमा समेत पठाइने प्रशासनले जनाएको छ ।

अक्सिजन अभावमा संक्रमितको धमाधम मृत्यु हुन थालेपछि गत बुधबार साँझ सेनाको हेलिकोप्टर मार्फत् ४० सिलिण्डर अक्सिजन रुपन्देही ल्याएको थियो ।

रुपन्देहीमा उपचारमा रहेका कोभिडका बिरामीका लागि अहिले आएको अक्सिजन पनि अपुग भएकोले यो संख्या अझै बढाउनुपर्ने अस्पतालहरुको माग छ ।

जिल्लामा रहेका अक्सिजन उत्पादकहरुले माग अनुसार आपूर्ति गर्न नसकेपछि जिल्लाबाट बाहिरबाट डीसीसीएमसीले अक्सिजनको आपूर्ति गर्ने प्रयास गरेको छ ।

शुक्रबार भारतबाट पनि लिक्वीड अक्सिजन ल्याइएको र त्यहाँ रहेका सिलिन्डरलाई पनि व्यवस्थापन गर्न खोजिएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले बताए । उनले सरकारी तथा निजी अस्पतालमा रहेका अक्सिजन प्लान्ट संचालनका लागि योजना बनाइएको र निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्न थालिएकोले केही दिनमा सहज हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर