घरमा ९३ वर्षीय बुवाकाे हेरचाह गर्दै दैनिक कोरोना अस्पतालको जिम्मेवारीमा भगवती – Nepal Press
विश्व नर्सिङ दिवस

घरमा ९३ वर्षीय बुवाकाे हेरचाह गर्दै दैनिक कोरोना अस्पतालको जिम्मेवारीमा भगवती

रुपन्देही । रुपन्देहीको भैरहवामा रहेको भीम अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएपछि त्यहाँ कार्यरत सबै स्वास्थ्यकर्मीको जिम्मेवारी थपियो । शुरुमा सबै त्रासमा रहे पनि बिस्तारै यो रोगसँग लड्न जिम्मेवारी पाएका सबै स्वास्थ्यकर्मीले सामुहिक प्रतिवद्धताका साथ काम गरे । पहिलो चरणको कोरोना संक्रमण त्रासमा काम भएपनि दोस्रो चरणको संक्रमणविरुद्ध धेरैलाई जिम्मेवारीताका साथ काम गर्न सिकाएको अनुभव छ स्वास्थ्यकर्मीको ।

भीम अस्पतालमा कोरोनाविरुद्ध लडाईको मोर्चामा अग्रपक्तिमा अभियान्ता बनेकी छन्–४२ वर्षीया भगवती राना । उनी कोरोना विशेष अस्पतालको निमित्त नर्सिङ इन्चार्जको जिम्मेवारीमा छिन् । सँगै काम गरेका धेरैजना सहकर्मी संक्रमणमा परे पनि बिस्तारै सबैले यसलाई परास्त गरेको उनको अनुभव छ ।

९३ वर्षीय ससुरा बुवालाई दैनिक घरमा सेवा गरेर अस्पताल पुग्ने गरेकी भगवतीलाई महामारी घरमा प्रवेश नगरोस भन्ने चिन्ता सबैभन्दा धेरै छ । ‘जिम्मेवारी लिएपछि अफ्ठेरोमा भाग्नु नैतिकता भएन, त्यसैले दैनिक घरको काम सकेर अस्पताल आउने गरेकी छु,’ उनले भनिन् ।

सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन निषेधाज्ञा जारी गरेको छ । दोस्रो चरणको नयाँ भेरियन्टले सबै क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको छ । यस्तो त्रासदीमा भगवतीलाई दैनिक घरबाट ननिस्की सुखै छैन । ‘घरमा हेर्ने कोही हुनुहुन्न, श्रीमानले पनि दैनिकी आफ्नो काम गर्न जानुपर्छ, उहाँ सहकारीकर्मी हो, जतिसुकै कुरा गरेपनि महिलाले दोहोरो जिम्मेवारी पूरा गर्नुछ, ९३ वर्षको ससुरा वुवालाई सेवा पनि गर्नुपर्यो आफ्नो पनि जिम्मेवारी पूरा गर्नुपरयो, तर घरमा आउँदा पनि अस्पतालको जिम्मेवारीले भने निरन्तर सताउँछ,’ भगवतीले भनिन्, ‘‘घरमा वृद्ध बुबा हुनुहुन्छ, उहाँ र बालबच्चाको स्वास्थ्यको जोखिमको मानसिक त्रास पनि उत्तिकै छ, कसरी आफ्नो र परिवारको स्वास्थ्यलाई बचाएर बिरामीको हेरचाह गर्न सकिन्छ भन्ने कुराले साह्रै मानसिक तनाव हुँदोरहेछ, घरबाट भएको सहयोगका कारण कोरोनाको महामारीको संकटमा जुध्न हिम्मत बढेको छ ।’

उनले थपिन्, ‘पहिलेको भाइरस कमजोर थियो, अहिले कडा खालको भाइरस भएकाले संक्रमण हुनेहरु सिकिस्त अवस्थामा पुग्ने गरेका छन्, तिनको उपचारमा खटिँदा आफ्नो र परिवारको स्वास्थ्य अवस्थालाई सम्झिएर मनोबल घट्नेरहेछ ।’

जिल्लाको सरकारी अस्पतालको रुपमा रहेको यो अस्पतालले अहिले कोरोना संक्रमितका बिरामीहरू मात्रै हेरिरहेको छ । दैनिकजसो बेड नपाएर अस्पतालको बरण्डामा छटपटिरहेका र उपचार हुँदाहुँदै ज्यान गुमाएका कोभिड १९ का संक्रमित देख्नु त्यहाँका स्वास्थ्यकर्मीको दिनचार्यजस्तै बनेको छ । तर सबै टिमवर्कमा काम गरे केही सहज भएको उनको अनुभव छ ।

‘बिरामीको सेवा नै हाम्रो पेशाको मूल धर्म भएकाले यसलाई मुख्य प्राथमिकतामा राखिन्छ, अहिलेको अवस्था धेरै संवेदनशील भएकाले पहिलाजस्तो सहज छैन, अस्पतालमा बिरामीको चाप निकै छ, कार्यालय सहयोगी लगायतको जनशक्ति अत्यन्तै कम भएकाले कार्यसम्पादनमासमस्या परेको छ, सबैको सहकार्यमा युद्ध लडिएको छ,’ भगवतीले भनिन् ।

पहिलो र अहिलेको चरणमा पनि सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरु संक्रमित हुँदा काम गर्नेमा जनशक्ति थप अभाव भएको र बिरामीको चापले पनि यस्तो भएको राना बताउँछिन् । भन्छिन्, ‘सहकर्मीहरु पनि संक्रमित हुनुभएको छ । महामारीले मानसिक दबाब झनै डरलाग्दो रहेको छ, सुरुमा संक्रमितहरूसँग सम्पर्कमा आउनुअघि स्वास्थ्यकर्मीहरूले लगाउनु पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नभएर तनाव थियो अहिले हरेक घण्टामा पीपीई फेर्नु पर्दा नपुग्ने अवस्था छ ।’

अस्पतालमा उपचारको क्रममा बिरामीले ज्यान गुमाउँदा धेरै पीडा हुने उनको अनुभव छ । उपचारको अग्रभागमा खटिंदै आएकी भगवती राना अहिले जत्तिको काममा दबाब र तनाव यसअघि कहिल्यै नव्यहोरेको बताउँछिन् । ‘मैले काम गरेको करिब २० वर्ष पुग्न थाल्यो । यस्तो संकट अहिलेसम्म आएको थिएन । जतिसक्दो प्रयास गर्दा पनि बिरामी आँखै अगाडि मृत्युवरण गरिरहेका छन् भने अर्कोतिर संक्रमणबाट आफूलाई कसरी जोगाउने भन्ने चिन्ता छ,’ उनले भनिन् ।

महामारीसँग जुध्नका लागि परिवारको साथले अहम् भूमिका खेल्ने तथ्यलाई उनी आफैंले अनुभव गर्दै आएकी छन् । श्रीमान र सन्तानको प्रोत्साहनले अस्पतालमा विरामीको सेवा गर्ने आत्मविश्वास बढेको छ । भनिन्, ‘अस्पताल र घरको दुरी केही टाढा भएकाले श्रीमान अस्पतालसम्म आफैले ल्याउने लैजाने गर्नुहुन्छ, बिरामीको सेवामा खट्न प्रोत्साहित गर्नुहुन्छ ।

संक्रामक महामारीको बेलामा मात्रै हैन, सामान्य अवस्थामा पनि बिरामीको हेरविचार गर्न नर्सहरूको भूमिका निकै महत्वपूर्ण हुन्छ । नर्सको जिम्मेबारी बिरामीको तापक्रम, रक्तचाप इत्यादी मापन गर्ने, समय समयमा औषधि दिने, शल्यक्रिया गर्दा विशेषज्ञ डाक्टरलाई सघाउने हो ।
अहिले अस्पतालमा उपचारका लागि आएका बिरामीहरुको डिस्चार्ज निकै कम भएको छ त्यसैले पनि अस्पतालमा चाप बढी भएको छ । सबै मिलेर महामारीको युद्ध जित्नु अहिलेको आवश्यकता भएकाले नर्सिङ दिवसमा सबै सहकर्मी, स्वास्थ्य सेवामा खटिने सबैलाई आफू बचेर सेवा गर्न भगवतीको आग्रह छ ।

बिरामीको पीडा सुन्ने, सधैं अरुको सेवामा खट्ने नर्सहरु वास्तवमा खुसी छन् कि छैनन् ? नर्सहरुको समस्या के छ भनेर सोधिदिने अवस्थाको विकास गर्न उनको आग्रह छ । महामारीले यो क्षेत्रको जिम्मेवारी बढाएकाले पनि यसको व्यवस्थापन सबैले ध्यान पु¥यााउन भगवतीले आग्रह गरेकी छन् ।

फ्लोरेन्स नाइटिंगेलको जन्म दिनको अवसरमा यो दिवस मनाउने गरिएको हो।  नेपालमा विसं‍. २०१३ देखि नर्सिङ पेशा शुरु भएको मानिन्छ। विश्व नर्सिङ दिवस हरेक वर्ष मे १२ को दिनमा मनाउने गरिए पनि नेपालमा भने माघ १५ गते राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर