हारेर पनि म्यानचेस्टर युनाइटेड फाइनलमा, बराबरी खेले पनि बाहिरियो आर्सनल – Nepal Press
युराेपा लिग फुटबल

हारेर पनि म्यानचेस्टर युनाइटेड फाइनलमा, बराबरी खेले पनि बाहिरियो आर्सनल

एजेन्सी । दोस्रो लेगमा इटालियन प्रतिस्पर्धी रोमासँग ३–२ गोलअन्तरले पराजित भए पनि म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । युनाइटेडले पहिलो लेग घरेलु मैदानमा ६–१ ले जितेको थियो । समग्रमा उसले ९–४ को जित निकाल्यो ।

अर्को सेमिफाइनलमा आर्सनलले घरेलु मैदानमा स्पेनिस प्रतिद्वन्द्वी भिल्लारियलसँग गोलरहित बराबरी खेलेपछि फाइनलमा पुग्न असफल रह्यो । पहिलो लेगमा भिल्लारियल आफ्नो मैदानमा २–१ गोलअन्तरले विजयी थियो ।

इडिन्सन काभानीले ३९ औं मिनेटमा गोल गरी पहिलो हाफमा युनाइटेडलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा रोमाले कडा टक्कर दियो । इडेन जेकोले ५७ र बर्यान क्रिष्टान्टले ६० औं मिनेटमा गोल गरेपछि रोमाले अग्रता बनायो ।

६८ औं मिनेटमा बुर्नो फर्नान्डेजले सानदार हेड गोलमार्फत खेल बराबरीमा ल्याए । खेलको अन्त्यतिर एउटा उपहार गोलका कारण युनाइटेड पराजित हुनुपरेको हो । निकोला जालेस्क्वीको प्रहार डिफ्लेक्ट हुँदा एलेक्स टेल्लेसले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।

आर्सनलले इमिरेट्स रंगशालामा कमजोर फुटबल खेल्दा यस सिजन युरोपेली प्रतियोगिताको फाइनलमा पुग्ने अवसर गुमायो । यो आर्सनलका लागि निकै घाटाको कुरा किन पनि हो भने यस सिजन प्रिमियर लिगमा उसले युरोपाका लागि छनोट हुने सम्भावना छैन । यस्तोमा साविक विजेताका रुपमा युरोपा खेल्ने सम्भावना पनि सकियो ।

यदि आर्सनलले जितेको भए यस सिजन युरोपेली क्लब प्रतियोगितामा चारै फाइनलिष्ट प्रिमियर लिगबाट हुने थिए । चेल्सी र म्यानचेस्टर युनाइटेड यसअघि नै च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर