उद्योगमन्त्री भट्टको पहलमा कैलालीमा २ हजार क्षमताको आइसोलेशन बन्दै – Nepal Press

उद्योगमन्त्री भट्टको पहलमा कैलालीमा २ हजार क्षमताको आइसोलेशन बन्दै

कैलाली । कैलालीको गेटा मेडिकल कलेजलाई २ हजार क्षमताको होल्डिङ सेन्टरसहितको आइसोलेशन बनाइने भएको छ । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मेडिकल कलेजमा आइसोलेशन बनाउनका लागि आवश्यक तयारी अघि बढाउन निर्देशन दिएका हुन् ।

कैलालीमा कोरोनाको उपचार केन्द्र अभाव हुन सक्ने भन्दै मन्त्री भट्टले गेटा मेडिकल कलेजलाई आइसोलेशन बनाउन छलफल थालेका थिए । सोमबार मन्त्री भट्टसहित धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड, गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउँद, कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल लगायतको टोलीले मेडिकल कलेजको निरीक्षण समेत गरेको छ ।

विद्युत्, खानेपानी, स्वास्थ्य सामग्री तथा अन्य आवश्यक उपकरण जडानको काम सोमबार बाटै सुरु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । उनले एक साता भित्रै कोरोना संक्रमितको उपचार गर्न सकिने गरी तयारी भइरहेको बताए ।

जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को मातहतमा रहने गरी आइसोलेशनको तयारी भइरहेको छ । हाल कैलालीको सेती प्रादेशिक अस्पतालमा रहेको ५५ शैय्याको कोरोना अस्पताल भरिएको छ । संक्रमित थपिरहेका बेला उपचार केन्द्रको अभाव सृजना भइरहेको छ ।

यस्तो अवस्थामा कैलालीको गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रको रुपमा प्रयोग गर्दा केही सहजता सृजना हुने नागरिकले अपेक्षा पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *