अल्पमतमा रहेका व्यक्तिले पुन : सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद : प्रचण्ड – Nepal Press

अल्पमतमा रहेका व्यक्तिले पुन : सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्ममतमा रहेको भन्दै पुनः सरकारको दावी गर्नु आश्चर्य र हास्यास्पद रहेको टिप्पणी गरेका छन् । आइतबार साँझपख एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन, ‘राजीनामालाई सकारात्मक रुपमा लिन सकिन्छ तर अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १ सय ६८ (१) अनुरुपका सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक छ ।’

अविश्वास प्रस्तावको सामना गर्नुको साटो संसद अवरोध गरेको प्रचण्डको आरोप छ । ‘लोकतान्त्रिक प्रक्रियाबाट अविश्वास प्रस्तावको सामना गर्नुको बदला अल्पमतमा रहेका मुख्यमन्त्रीले आफ्नो पदबाट राजीनामा दिई संसदको काम कारबाहीलाई अवरुद्ध गरे,’ विज्ञप्तिमा भनिएको छ ।

प्रदेश प्रमुखले अल्पमतमा रहेकालाई मुख्यमन्त्री दावी गरेको दावी समेत प्रचण्डको छ । उनले भनेका छन्, ‘यसरी बहुमत सांसदका समर्थन रहेका अविश्वास प्रस्तावमा प्रस्तावित गरिएका मुख्यमन्त्री कुलप्रसाद केसीलाई संविधानको धारा १ सय ६८(२) अनुरुप मुख्यमन्त्रीमा नियुक्ति गर्नुको बदला प्रदेश प्रमुखले अल्पमतमा रहेका (३७ जनाका समर्थन) शंकर पोख्रेललाई संविधानको धारा १ सय ६८ (१) अनुरुप नियुक्ति गरे ।’

विपक्षी गठनका दावेदार कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न समेत प्रचण्डले आग्रह गरेका छन् । ‘प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्चाई गठबन्धन सरकार गठनका दावेदार केसीलाई नियुक्ति र सपथ ग्रहण गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न लुम्विनी प्रदेश प्रमुखको गम्भीर ध्यानाकर्षण गर्दछौं,’ प्रचण्डले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर