एकाएक किन भरिए ठमेलका होटल ? केही पाँचतारे पनि भरिभराउ – Nepal Press

एकाएक किन भरिए ठमेलका होटल ? केही पाँचतारे पनि भरिभराउ

काठमाडौं । कोभिड-१९ ले थला परेको ठूला होटलको शून्य बराबरमा रहेको अकुपेन्सी दरमा गत एक महिनायता एकाएक वृद्धि भयो । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने भारतीय नागरिक नेपाल प्रवेश गरेपछि एकाएक ठमेलका होटल भरिभराउ भए । साथै केही पाँच तारे होटल पनि भारतीय नागरिकले ‘फूल’नै छन् ।

पछिल्लो समय भारतमा कोरोना महामारी द्रूत गतिमा फैलिएसँगै अन्य मुलुकले भारतबाट हुने उडानमा रोक लगाएका थिए । जसका कारण नेपाललाई ट्रान्जिट बनाएर विभिन्न देशमा जाने भारतीय नागरिकको संख्या नेपालमा ह्वातै बढ्यो । भारतीय नागरिक नेपालमा निर्वाधरूपमा नेपाल आएसँगै होटल भरिएका हुन् ।

नेपाल-भारत उडान भर्ने विमानमा पीसीआर नै नगरिकन एक महिना अघिदेखि नै निर्वाधरूपमा भारतीय आउने गरेका थिए । र, नेपालमा १५ दिन विताएर पीसीआर गरि अन्य मुलुक जाने गरेका थिए ।

साथै चीनमा व्यापार गर्ने भारतीय व्यापारीले चिनियाँ खोप लगाउनका लागि नेपाल आउँदा पनि ठमेलका होटल भरिन सहयोग पुर्‍याएको हो ।

भारतबाट पीसीआर नगरी नेपाल आउने र क्वारेन्टाइन भन्दै निर्वाध रूपमा हिँडडुल गरेपछि सरकारले कोभिड फैलन सक्ने आकलनसहित नेपाललाई ट्रान्जिट बनाउन नपाउने गरि वैशाख १५ गते रातिबाट लागू हुनेगरी रोक लगाएको छ ।

सरकारले नेपाललाई ट्रान्जिट गन्तव्य बनाउनु नहुने भन्दै भर्खरै रोक लगाएपनि सो समयसम्ममा भारतीय मुलुकका नागरिकले नेपालका होटल भरिइसकेको बताउँछन् पर्यटन व्यवसायी तथा होटल मदर्स होम तथा फ्रेण्ड्स होमका सञ्चालक राजेन्द्र सापकोटा ।

उनका अनुसार भारतमा कोभिड-१९ फैलनासाथ विभिन्न मुलुकले भारतबाट जाने हवाई उडानमा रोक लगाएका थिए । अन्य मुलुकले हवाई उडानमा रोक लगाएपछि भारतीयहरु नेपाल आएर १४ दिन क्वारेन्टाइनमा बसेर ती गन्तव्य मुलुकमा जाने गरेका थिए । अहिले सरकारले ट्रान्जिट गन्तव्यका रूपमा रोक लागएपनि त्यस समयमा आएका भारतीय अहिले ठमेललगायत अन्य होटलमा रहेका छन् ।

ठमेलस्थित अलफ्ट काठमाडौं होटललगायत अन्य ठूला होटलको अकुपेन्सी दर अहिले ७० प्रतिशतभन्दा माथि रहेको छ । अलफ्ट होटलका अनुसार अहिले अलफ्टले आन्तरिक रुपमा आफ्ना बसिरहेका ग्राहकलाई सेवा दिइरहेको बताएको छ । उक्त होटलमा भारतीय नागरिक, विदेशी पार्सपोट भएका नेपाली नागरिक र केही विदेशी नागरिक रहेका छन् ।

धेरै समयदेखि खाली रहेको पाँचतारे अन्य होटलहरुमा पनि भारतीय नागरिक रहेको नाम नखुलाउने सर्तमा साँग्रीला होटलका एक कर्मचारी बताउँछन् । ती कर्मचारीका अनुसार अहिले सबैभन्दा धेरै भारतीय नागरिक ठमेलमा रहेका छन् ।

यसपछि अन्य होटलमा पनि भारतीय नागरिक रहेका छन् । पीसीआर गरेर नेपाल आएको भए त्यति समस्या नहुने तर, पीसीआर नै नगरी नेपाल प्रवेश गरेर होटलमा बस्दा होटललाई फाइदा पुगपनि आम जनमानसमा यसले खतरा उत्पन्न गराएको उनको भनाइ छ ।

लामो समयदेखि पर्याप्त सेवाग्राही नहुँदा तनावमा रहेको सोल्टी होटललाई भने अहिले नेपालमा चलिरहेको नेपाल सुपर लिगले राहत महसुस गराएको छ । बैशाख ११ गतेबाट चलेको सुपर लिग टुर्नामेन्टका लागि सोल्टी होटलका १०० वटा रूपमा खेलाडीलाई राखिएको छ । यसले होटललाई राहत मिलेको बताउँछन् होटलका कर्मचारी ।

पाँचतारे होटल याक एण्ड यतीमा भने अकुपेन्सी १५ प्रतिशतमात्र रहेको होटल महाप्रबन्धक मोनिकाले बताइन् । उनका अनुसार सो होटलमा अमेरिकनलगायत पश्चिमा पर्यटकमात्र छन् ।

ज्यान जोगाउन नेपाल छिर्नेहरू

व्यवसायीहरूका अनुसार कतिपय भारतीयहरू स्थलमार्गबाट नेपाल छिरेर काठमाडौं, हेटौंडा, बर्दिबास, चितवनलगायतका ठाउँमा होटल बुक गरेर बसेका छन् । दिल्ली, उत्तर प्रदेश, विहारजस्ता छिमेकी राज्यमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको र त्यहाँ अस्पताल तथा अक्सिजन पाउने अवस्था नभएपछि जीवन जोगाउन नेपाल आउनेहरू पनि छन् ।

केही पैसा भएका तर संक्रमित भएमा बाँच्न अवस्था नदेखेपछि परिवार नै नेपालका विभिन्न होटलमा आएर बसिरहेका छन् । भारतभन्दा नेपाल सुरक्षित देखिएकाले आफूहरु ज्यान जोगाउन आएको बताउने गरेको ठमेलका एक होटल व्यवसायीले बताए । दुई दिनअघि दिल्लीका अस्पतालमा बेड र अक्सिजन नपाएपछि जीवन जोगाउन एम्बुलेन्सबाट नेपाल आउँदै गरेका दुई प्रवासी नेपालीको उत्तर प्रदेशको लखनउ र मुरावादमा आइपुग्दा एम्बुलेन्सभित्रै मृत्यु भएको थियो ।

अहिले पनि नेपाल भारत सीमा क्षेत्रबाट भारतीयहरू लुकीलुकी नेपालतर्फ आइरहेका छन् । नेपालमा कोभिडबाट बाँच्न सकिने प्रचार भएकाले पनि भारतीयहरू आफन्त नातागोता खोज्दै सीमा प्रवेश गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर