युरोपा लिग सेमिफाइनल- रोमाको पोष्टमा युनाइटेडको आधा दर्जन गोल – Nepal Press

युरोपा लिग सेमिफाइनल- रोमाको पोष्टमा युनाइटेडको आधा दर्जन गोल

एजेन्सी । बुर्नो फर्नान्डेज र इडिन्सन काभानीले २-२ गोल गरेपछि पछि परेकोको स्थितिबाट पुनरागमन गरी म्यानचेस्टर युनाइटेडले अर्को महिना हुने युरोपा लिग फाइनलका लागि स्थान लगभग सुरक्षित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोटमा युनाइटेड पहिलो हाफमा २–१ ले पछि थियो । तर दोस्रो हाफमा एकतर्फी प्रदर्शन गरेको उसले ६–२ को फराकिलो जित हासिल गरेको हो । अर्को साता हुने दोस्रो लेगमा यो फराकिलो गोलअन्तरलाई उल्ट्याउनु रोमाका लागि लगभग असम्भवजस्तै छ ।

फर्नो फर्नान्डेजले नवौं मिनेटमै घरेलु टोलीलाई अग्रता दिलाए पनि लोरेन्जो पेलेग्रिनीले पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा आयो । पाउल पोग्वाले बक्सभित्र ह्याण्ड गरेपछि रोमाले पेनाल्टी पाएको थियो । ३३ औं मिनेटमा बोस्नियाका स्ट्राइकर इडेन जेकोले गोल गरी पहिलो हाफमा २–१ को अग्रता बनाएका थिए ।

तर दोस्रो हाफमा युनाइटेड सुधारियो । ४८ औं मिनेटमै काभानीले गोल गरी खेल बराबरीमा ल्याए । ६४ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दा ७१ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे । ७५ औं मिनेटमा पोग्वा र ८६ औं मिनेटमा काभानीको पासमा ग्रिनउडले गोल गरी ६–२ को जित निश्चित गरे ।

युरोपेली स्तरको सेमिफाइनल खेलमा सन् १९६४ पछि पहिलोपल्ट ६ गोल सम्भव भएको हो । यसअघि रियल मड्रिडले तत्कालीन युरोपियन कपमा ६ गोल गरेको थियो ।

आर्सनल पराजित

अर्को सेमिफाइनल पहिलो लेगमा इंग्लिस टोली आर्सनलले स्पेनको भिल्लारियलसँग २–१ को पराजय ब्यहोरेको छ । खेलमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

भिल्लारियलले घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गरेको थियो । खेलको अन्त्यतिर निकोलास पेपेले पेनाल्टीमार्फत महत्वपूर्ण अवे गोल गरेपछि आर्सनलको आशा फर्केको छ । उनीहरुलाई लागेको छ कि दोस्रो लेगमा पुनरागमन गर्न सकिनेछ ।

ट्रिगुरोस मुनोजले पाँचौं र अविडोलले २९ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै भिल्लारियल २–० ले अगाडि थियो । ड्यानी सेबालोसले दोहोरो पहेँलो कार्ड पाएपछि ५७ औं मिनेटमै आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

तर ७३ औं मिनेटमा भिल्लारियलका डिफेण्डरले बुकायो साकालाई बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा पेपेले गोल गरेका हुन् । दोस्रो लेग इमिरेट्स रंगशालामा अर्को साता हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर