पार्टी विधान संकटमा परिसक्यो, शेरबहादुरजी अब वैधानिक सभापति होइन : रामचन्द्र पौडेल (भिडियो) – Nepal Press

पार्टी विधान संकटमा परिसक्यो, शेरबहादुरजी अब वैधानिक सभापति होइन : रामचन्द्र पौडेल (भिडियो)

काठमाडौं । रामचन्द्र पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता हुन् । आफ्ना पार्टी सभापति शेरबहादुर देउवाप्रति उनी पछिल्लो समय आक्राम देखिएका छन्। समसामयिक विषयमा संवाद गर्दा यसपटक पनि पौडेल यो मामिला पृथक रहेनन्। उनले नाम नै नलिएर सरकारको नेतृत्वकर्ता र आफ्नै पार्टीको सभापति मिलेर लोकतान्त्रिक व्यवस्था समाप्त पार्न लागेको आरोप लगाए। प्रस्तुत छ, नेता पौडेलसँग समसामयिक विषयमा गरिएको कुराकानी ।

कोभिड-१९ को दोस्रो लहर चलेको छ । सरकारको तयारीबारे तपाईंको टिप्पणी के छ ?

तीन हप्ता अगाडि प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलिय बैठक गर्नुभएको थियो । त्यत्तिबेला नै मैले सरकारलाई भनेको थिएँ-अब तुरुन्तै तयारीमा जुट्नुपर्‍यो । आईसीयू, भेन्टीलेटर बढाउनुपर्‍यो । हस्पिटलहरुको प्रबन्ध राम्रो गराउनुपर्यो । स्वास्थ्य उपकरण, सुरक्षा उपकरणहरुको व्यवस्था तुरुन्त गरिहाल्नुपर्यो । र सीमानामा व्यवस्थित गर्ने काममा सबैभन्दा पहिला ध्यान दिनुपर्यो । तर त्यो सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएन । त्यसले गर्दा अहिले आईसीयू बेड र भेन्टिलेटरको अभाव भईरहेको छ । सीमामाबाट मानिसरहरु अन्धाधुन्ध प्रवेश गरेर, सीमानामा चेक नभएर गाउँमा पसेर रोग फैलाउने काम भईरहेको छ । यो राज्यको लापरवाही हो । जनता कोभिडको मारबाट त्रसित भएका छन् ।

अब पार्टी राजनीतिको कुरा गरौं । एकजनामा कोभिड- १९ को संक्रमण देखिनेबित्तिकै तपाईंहरूको केन्द्रीय समितिको बैठक नै स्थगित भयो नि ?

बैठक बारेमा उपसभापतिसँग कुरा पनि भयो । मैले त्यत्तिबेलै भनेको थिएँ- सानो सानो निहुँमा महाधिवेशनलाई असर पार्ने गरि अहिले बैठक किन स्थगित गर्ने भन्दाखेरी उहाँहरुले तपाईं संवेदनशील हुनुभएन भन्ने कुरा गर्नुभयो । मैले भनेँ- संवेदनशील त किन नहुनु ? तर भौतिक दुरी राखेर अन्त त काम त चलाईराखेकै छन् नि त । राज्य सरकार पनि त चलिराखेकै छ । क्याबिनेटका मिटिङहरु पनि भईराखेकै छन् । हाम्रो कार्यसमितिलाई अलिकति भौतिक दुरी मिलाएर,एक दुई जना जसलाई देखिएको छ, उनीहरु बाहिर बसेर केन्द्रीय कार्यसमिति बैठक सञ्चालन गरौँ भन्दा पनि बैठक रोकिएको छ ।

मैले ३ बर्ष अगाडि नै हाम्रो पार्टीको महाधिवेशनका लागि आउन सक्ने समस्याहरुलाई बुझेर नै अहिलेदेखि नै कार्यतालिका बनाएर काम गर्न थालौं, समयवद्ध भएर काम गरौँ भनेर प्रस्ताव राखेकै थिएँ । तर त्यो बेलामा त्यसलाई महत्व दिईएन । त्यसलाई पन्छाउने कुरा गरियो।

महाधिवेशन समयमै सम्पन्न गर्ने काममा सभापति देउवाले सक्रियता नदेखाउनुको कारण के देख्नुहुन्छ ?

नेपालमा लोकतन्त्रमाथि यत्रो खेलवाड भईरहेको छ । सत्ता हत्याएपछि, सत्तामा पुगेपछि, चाहे त्यो पार्टीको सत्ता होस् चाहे त्यो राज्यको सत्ता, जब सत्तामा पुग्छन् अनि त्यहाँ बसेर अन्धाधुन्ध कमिसनको खेल चल्छ । अर्बौंका खेलहरु हुन्छन् । जसरी पनि आफू सत्तामा टिकिरहने, जसरी पनि सत्तालाई आफ्नो ‘ग्रिप’बाट उम्कन नदिने र लोकतान्त्रिक मुल्य, मान्यता र नैतिकता भन्ने कुरा केही पनि नराख्ने । प्रधानमन्त्री आफूले गरेको विघटन (प्रतिनिधिसभा) लाई जब अदालतले फर्काईदियो, उनी एक मिनेट बस्नुहुन्थेन । उनले तुरुन्तै राजीनामा गर्नुपथ्र्यो । उल्टो उहाँ नकचरो भएर के भनिरहनुभएको छ भने- यो संसदको के काम ? यो त विकृति ल्याउँछ । विकृति कसले ल्याइरहेको छ ? विकृति त अहिले सत्तामा रहेका मुठठीभर केही नेताहरु, चाहे पार्टी सत्ता होस्, चाहे केन्द्रीय सत्ता होस्, सरकारको राज्यसत्ता होस्, तिनीहरुले देशमा विकृति ल्याएका छन् । चुनावमा जानुपर्छ, यो संसद काम छैन भन्ने प्रधानमन्त्री अहिले पोखरामा के गर्दैछन् ? ५ नम्बर प्रदेशमा के गरे ? लुम्बिनिमा के गर्दैछन् ? यहाँ केन्द्रमा के गर्दैछन् ? अनहोली (अप्राकृतिक गठबन्धन) एलाइन्स गर्दैछन् ।

लोकतन्त्र भनेको त मर्यादापूर्ण व्यवस्था हो । जीवनपद्धति हो । तर त्यतापट्टी त वास्तै छैन । मुल्य मान्यताप्रति वास्तै छैन । देश र जनतामा के असर पर्छ भन्ने वास्तै छैन । आम जनतामा राजनीति र व्यवस्थाप्रति नै वितृष्णा फैलाउने काम नेताहरुले गरिरहेका छन् । हाम्रो पार्टीभित्र पनि, देशको राज्यसत्ता भित्र पनि अहिले जुन खेलहरु भईरहेको छ, यसले चिन्तित बनाएको छ मलाई ।

तपाईंको बुझाई हाम्रा लोकतान्त्रिक प्रक्रिया र अभ्यासहरू अंगिकार गर्नुपर्ने कुराबाट नेपाली कांग्रेस र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली दुवै च्युत हुँदैछन् भन्ने हो ?

पार्टीभित्र परेको खटपटलाई आधार बनाएर जसरी प्रधानमन्त्रीले संसदमाथि प्रहार गर्नुभयो, संविधानमाथि जसरी प्रहार गर्नुभयो र उहाँले चालेको कदमपछि गलत सावित भयो । त्यो कदम गलत सावित भईसकेपछि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई तुरुन्तै राजीनामा गर भन्नुपर्ने र राजीनामा नगरेपछि अविश्वासको प्रस्ताव सदनमा पेस गर्नुपर्ने थियो । संख्या जतिसुकै होस्, कर्तव्य र दायित्व त पुरा हुन्थ्यो नि । हामी चाही यहाँ जोखना हेरेर बस्ने ? जोखना हेरेर बस्दा पहिलो अवसर गुम्यो । जुन बेलामा एमाले र माओवादी बनाएर अदालतले फैसला गरेको थिएन ।

त्यो अवस्थामा कम्युनिष्ट पार्टी आफैंमा विभाजित भएर बहुसंख्यकले अविश्वासको प्रस्ताव अगाडि बढाएका थिए । त्यो बेला नै कांग्रेसले हाल्नुपर्ने (अविश्वासको प्रस्ताव) थियो । त्यो बेलाको अवसर गुम्यो । त्यो अवसर जानी जानी गुमाईयो । के हो भित्र साँठगाँठ थाहा छैन । त्यसपछि अहिले पनि पछाडि आएर कांग्रेसले जसरी तदारुकताका साथ धर्म निभाउनुपर्थ्यो, त्यो धर्म निभाएको छैन । हाम्रो नेतृत्वले त्यो धर्म निभाएको छैन । त्यो क्रियाशिलता र कर्तव्यपरायणता देखाएको छैन । हाम्रो नेतृत्वमा सरकार बनाउने केपी ओलीलाई राजीनामा गर्न लगाउने अथवा हटाउने भनेर हाम्रो पार्टीमा हामीले निर्णय त गर्‍यौं ।

अधिवेशन समयमा सम्पन्न नहुँदा हाम्रो पार्टीको वैधानिकता नै संकटमा पर्छ । पार्टी विधानमा त संकट परिसक्यो । पार्टीको विधानले त हामी सदस्य नै होइनौँ । शेरबहादुरजी सभापति पनि होइन । म केन्द्रीय सदस्य पनि होइन । अब देशको संविधान अनुसार भदौ भन्दा उता हामी कोही पनि सदस्य रहँदैनौं । कोही पनि पदाधिकारी रहदैनौँ । हाम्रो कुनै पनि दाबी पार्टीमा हुँदैन । त्यसकारण अराजक स्थिति जन्मन्छ ।

केपी ओली हटाउने भनेर पार्टीले निर्णय गर्ने, पार्टी नेतृत्वले आलटाल गरेर बस्ने काम भयो । त्यसो भएको हुनाले मैले के देखिराखेको छु भने- जो नेतृत्वमा छन्, राज्यको नेतृत्वमा अथवा पार्टी नेतृत्वमा उनीहरू लोकतान्त्रिक मुल्य मर्यादाप्रति संवेदनशील भएनन् । उनीहरुलाई आफ्नो सत्ताको मात्रै चिन्ता भयो । त्यसले गर्दा मुलुकमा लोकतन्त्रमाथि चिन्ता छाउन थाल्यो । यो अहिलेको चिन्ताको विषय हो ।

कोभिडका कारण महाधिवेशनका कार्यतालिकाहरू क्रमशः प्रभावित हुदै जान्छन्, भदौमा महाधिवेशन नगर्दा बैधानिकरूपमा नै कांग्रेस रहन्न । महाधिवेशन गर्ने बाटो के हुन्छ त ?

वैधानिकता र अवैधानिकताबारे हाम्रो पार्टीको नेतृत्वले वास्ता नै गर्न छोड्यो । यस्ता कुरामा चिन्ता नै भईराखेको देखिन्न् । हाम्रो पार्टीको कार्यकाल सकिएको त डेढ वर्ष भइसक्यो । अहिले पनि मानिसहरुलाई चिठ्ठी काटिदै छ । नियुक्ति बाडिँदै छ । देशभरी त यो विभागको, प्रतिष्ठानको,उपशाखाको सदस्य भईस् भन्दै मान्छेहरुलाई अन्धाधुन्द अबैधानिक तरिकाबाट पत्र काट्ने काम भइरहेको छ । अहिले पनि भ्रष्ट र विकृत तरिका अपनाएर पद दिएर आफ्नो पक्षमा जनमत बनाउने घिनलाग्दो खेलहरु अहिले पनि चलिराखेको छ । अहिले सबै क्षेत्रमा राम्रोसँग क्रियाशील सदस्यता वितरण भयो तर जहाँ सभापति र उपसभापतिको प्रभाव छ, त्यहाँ खेल भयो । पार्टी प्रवेशको नाममा मनपरि ढंगले क्रियाशिल सदस्यता बाँड्ने कब्जा गर्ने खालको नितिनियत देखिन्छ । त्यसैले यो पार्टी कसरी बचाउने भन्ने संकटमा हामी छौ ।

पार्टी सभापतिले विधिविधान मिचेर गर्नु नहुने काम गर्नुभयो भनेर दोष लगाएर मात्रै त हुदैन होला नि ? ट्रयाकमा त ल्याउनुपर्ने होला ? कसरी ल्याउन सकिन्छ ?

पार्टीलाई ट्रयाकमा ल्याउनका लागि हामीले गर्नेकुरा गरिरहेका छौं, तर नेतृत्वले ठीक ढंगले अधिवेशन गराउने कुरामा इमान्दारीता नदेखाउने हो भने हामी मात्रै बाहिर कराएर अधिवेशन समयमा समयमा सम्पन्न नहुन सक्छ । अधिवेशन समयमा सम्पन्न नहुँदा हाम्रो पार्टीको वैधानिकता नै संकटमा पर्छ । पार्टी विधानमा त संकट परिसक्यो । पार्टीको विधानले त हामी सदस्य नै होइनौँ । शेरबहादुरजी सभापति पनि होइन । म केन्द्रीय सदस्य पनि होइन । अब देशको संविधान अनुसार भदौ भन्दा उता हामी कोही पनि सदस्य रहँदैनौं । कोही पनि पदाधिकारी रहदैनौँ । हाम्रो कुनै पनि दाबी पार्टीमा हुँदैन । त्यसकारण अराजक स्थिति जन्मन्छ । त्यस्तो अवस्था आउँछ भने बैकल्पिक उपाय सोच्ने कुरा हामी विचार गर्दैछौ । अहिले म भन्दिनँ कुन चाहीं विकल्प हुन्छ भनेर तर पार्टीको अस्तित्व त बचाउनुपर्यो । नेपाली कांग्रेस त यो देशमा बच्नुपर्यो । लोकतन्त्रको पहरेदार नेपाली कांग्रेसलाई लोकतान्त्रिक मुल्य, मान्यता अनुसार बचाएर राख्ने कुरामा हामी प्रयत्न गर्छौ ।

तपाईंहरूले विकल्पबारे केन्द्रीय समितिमा छलफल गर्नुभएको छ ?

केन्द्रीय समितिमा कुनै छलफल भएको छैन् । हुन त मैले आफ्ना कुरा समितिमा थोरै प्रवेश त गराएको छु । अहिले विकल्पबारे छलफल गर्ने बेला भएको छैन । अहिले त यही अधिवेशनलाई नै सम्पन्न गर्नेमा हामी छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर