नेपालमा अक्सिजन उत्पादन ‘पर्याप्त’, २० हजार सिलिन्डर किन्ने तयारी – Nepal Press

नेपालमा अक्सिजन उत्पादन ‘पर्याप्त’, २० हजार सिलिन्डर किन्ने तयारी

काठमाडौं । नेपालमा पनि कोभिड-१९ को दोस्रो लहरका कारण यसबाट संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ । यससँगै नेपालको स्वास्थ्य क्षेत्र यो महामारीसँग लड्न कति बलियो छ भन्ने लेखाजोखा विभिन्न तहबाट भइरहेका छन् ।

कोभिडका कारण श्वासप्रश्वासमा समस्या भएका कोभिडका बिरामीहरूलाई अत्यावश्यक चिज हो, अक्सिजन । छिमेकी देश भारतमा अक्सिजनको अभावले बिरामीहरुको बेहाल भएका समाचारहरू आइरहेका छन् । नेपालमा पनि चाँडै नै त्यही अवस्था आउने चिन्ता जनमानसमा फैलिएको छ ।

नेपालमा उत्पादन क्षमता

उद्योग विभागको तथ्याङ्कअनुसार नेपालमा २२ वटा अक्सिजन उत्पादन गर्ने उद्योगहरू सञ्चालनमा छन् । तीमध्ये एउटामा ५० प्रतिशत विदेशी लगानी छ भने बाँकी २१ वटा अक्सिजन उद्योग स्वदेशी लगानीका हुन् ।

नेपालमा सञ्चालित २२ वटा उद्योगले साना-ठूला गरेर प्रतिवर्ष करिब ५० लाख सिलिन्डर अक्सिजन भर्ने गरेको उत्पादकहरू बताउँछन् ।

अक्सिजन उत्पादकहरूले मागअनुसार अक्सिजनको कुनै कमी नहुने दावी गरेका छन् । नवज्योति अक्सिजन ग्यास प्रालिका सञ्चालक विरेन्द्रकुमार संघाईले नेपालमा सिलिन्डरको पर्याप्त व्यवस्था गर्न सके अक्सिजनको अभाव नहुने बताए ।

उनले भने, ‘हामीसँग सिलिन्डर पर्याप्त नभएर मात्रै समस्या हुने हो । अक्सिजन व्यवसायीले नै चीनबाट अक्सिजनको खाली सिलिन्डर ल्याउन थोरैमा पनि ३ महिना लाग्छ । सरकारले हवाइ मार्गबाट सिलिन्डर ल्याएर उत्पादकलाई दियो भने अक्सिजनको कुनै अभाव हुँदैन ।’

संघाईका अनुसार चीनबाट हवाइ मार्ग हुँदै ७ क्यूभी लिटर अक्सिजन अट्ने एउटा खाली सिलिन्डर नेपालमा ल्याउन १५ हजार भाडा लाग्छ ।

नेपाली बजारमा अक्सिजन ग्यास सिलिन्डरको अभाव भएपछि खाना पकाउने ग्यास सिलिन्डरमा पनि अक्सिजन भर्न सकिने चर्चा भएको थियो । तर, उत्पादकका अनुसार खाना पकाउने ग्यासको सिलिन्डरमा अक्सिजन ग्यास भर्न मिल्दैन ।

अक्सिजन ग्यासको सिलिन्डरमा प्रेसर हुन्छ । तर खाना पकाउने ग्यासको सिलिन्डरमा प्रेसर नहुने भएकाले नै अक्सिजन भर्न नमिल्ने उत्पादक बताउँछन् ।

संघाइका अनुसार नेपालमा सानाठूला गरी करीब २३ लाख अक्सिजन सिलिन्डर रहेका छन् । ७ क्यूभी लिटर अक्सिजन अटाउने ठूला अक्सिजन सिलिन्डर करिब १५ लाख तथा १.५ क्यूभी लिटर र ६.५ क्यूभी लिटर अक्सिजन अटाउने करिब ८ लाख सिलिन्डर रहेको संघाइले बताए ।

सरकारले देशमा कोरोना संक्रमण भयावह अवस्था हेरेर तत्कालै ६० देखि ७० हजार सिलिन्डर विदेशबाट नेपाल ल्याउनु पर्ने उनको भनाइ छ ।

उपभोग र बजार मूल्य

नेपालमा २२ वटा अक्सिजन उत्पादन गर्ने उद्योगहरूको मूल्यमा एकरुपता छैन । ६.५ र ७ क्यूभी लिटर अक्सिजन अस्पतालमा प्रयोग हुने गरेको छ । १.५ क्यूभीको सिलिन्डर प्राय घरमा प्रयोग हुन्छ ।

१.५ क्यूभी अक्सिजनको ग्याससहित करिब ८ हजारदेखि १२ हजार रूपैयाँसम्म पर्छ । यसमा अक्सिजनको मूल्य भने २५० रुपैयाँ मात्रै हो छ । खालि सिलिन्डर फिर्ता गरेपछि अक्सिजनको पैसा काटेर अरु पैसा बिक्रेताले फिर्ता दिन्छन् । बिरामीको अवस्था हेरेर ६ देखि ८ घन्टासम्म अक्सिजन प्रयोग गर्न सकिन्छ ।

सात ७ क्यूभी लिटर अक्सिजनको सिलिन्डरसहित १४ हजारमा बिक्री गरिरहको एक उद्योगीले बताए । उनले भने, ‘हामीले अक्सिजनको खाली सिलिन्डर फिर्ता ल्याएपछि ६ सय रुपैयाँ अक्सिजनको पैसा काटेर फिर्ता गर्ने गरेका छौं । यो अक्सिजन विरामीको अवस्था हेरेर २५ देखि ३० घन्टा प्रयोग गर्न सकिन्छ ।’

जोगाड गर्ने होड

अक्सिजन सिलिन्डर बिक्रेताका अनुसार ७ र ६.५ क्यूभी लिटरभन्दा पनि १.५ क्यूभी लिटरको सिलिन्डर अभाव भएको छ । सानो अक्सिजन सिलिन्डर घरमा नै प्रयोग हुने र बजारमा अभाव हुने हल्लाले मानिसहरूले आवश्यकताभन्दा बढी जोगाड गर्न थालेका छन् ।

भारतमा अक्सिजनको अभावले कोरोना संक्रमितको मृत्यु भएको खबर आएपछि नेपाली उपभोक्ताहरूले आफ्नो घरमा सिलिन्डर लगेर राख्न थालेको बिक्रेताहरू बताउँछन् । तर, भएको सिलिन्डर खाली हुँदा भरिरहन सकिने भएकाले घरमा नै लगेर राख्नु पर्ने अवस्था नरहेको विक्रेताको भनाइ छ ।

२० हजार सिलिन्डर किन्ने तयारी

नेपालमा अक्सिजन उत्पादन गर्ने उद्योग पर्याप्त भए पनि सिलिन्डरको भने अभाव रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

‘अक्सिजन उत्पादन गर्ने उद्योग प्रशस्त नै छन्, तर सिलिन्डरको अभाब हुन सक्ने भएकाले हामीले २० हजार थान किन्ने तयारी गरेका छौं,’ उनले भने ।

भारत आफैं समस्यामा रहेकाले चीन लगायतका तेस्रो मुलुकबाट सिलिन्डर खरिद गर्ने तयारी भइरहेको रहेको गौतमले बताए ।

कोभिडको संक्रमण बढ्दै गएमा ढुवानीका समस्याका कारणले दुर्गम जिल्लाहरूमा अक्सिजनको अभाव हुन सक्ने उनको भनाइ छ । नेपालका २२ अक्सिजन उद्योगमध्ये ११ काठमाडौं उपत्यकामा नै छन् । बाँकी उद्योगहरु प्रदेश १, वागमती, लुम्बिनी र गण्डकी प्रदेशमा रहेका छन् । कर्णाली र सुदूरपश्चिम अक्सिजन उद्योग नभएकाले कोभिडका बिरामीले समयमा नै अक्सिजन प्राप्त गर्न नसक्ने विज्ञहरूको भनाइ छ ।

अक्सिजन उद्योगीहरु भने दुर्गम क्षेत्रमा अक्सिजन पुर्‍याउन समस्या नहुने भए पनि ढुवानी खर्च भने बढी लाग्ने बताउँछन् । नेपालमा टिचिङ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायतका केही अस्पतालहरूले आफ्नै अक्सिजन प्लान्टमार्फत रिफिलिङ गर्न सक्ने भए पनि बिरामीको चाप बढ्दै गएकाले सिलिन्डरको अभाव हुन थालेको छ ।

टिचिङ अस्पतालले भने बिरामीको चाप बढ्दै गएकाले अक्सिजनको अभाव हुन नदिन बुलेट खरिद गर्न टेण्डर प्रकृया सुरु गरिएको जनाएको छ ।

अक्सिजन सिलिन्डर रोटेसनमा गएपछि आउन समय लाग्ने गरेकाले अक्सिजनको अभाव हुन सक्ने नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष सौरभ सारडा बताउँछन् ।

‘रोटेसनमा गएको सिलिन्डर फर्किन निकै समय लाग्ने गरेको छ र समयमा समयमा बिजुली जाने गरेकाले उत्पादनमा समस्या आउने गरेको छ,’ उनको भनाइ छ ।

अक्सिजन किन महत्वपूर्ण ?

कोभिडका बिरामीको गम्भीर अवस्था हुँदा फोक्सोले काम गर्न छोड्ने भएकाले अक्सिजनको आवश्यकता पर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

‘फोक्सोले काम गर्न छोड्दा शरीरका अरु अङ्ग पनि ड्यामेज हुनसक्छन् । त्यसैले, यसबाट बचाउनका लागि बिरामीलाई अक्सिजनको आवश्यक पर्छ,’ पुनले भने ।

कोभिडसँगै नियमितरूपमा दम, निमोनिया तथा अपरेसन गरेका बिरामीलाई सामान्यतया अक्सिजन आवश्यक पर्छ । बिरामीको अवस्थानुसार अक्सिजनको मात्रा आवश्यक पर्ने चिकित्सकको भनाइ छ । कोभिडका बिरामीहरूलाई अन्य बिरामीको तुलनामा अक्सिजनको बढी आवश्यक पर्ने उनीहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर