महाभूकम्प सम्झना

शव कुल्चिँदै तातोपानीदेखि काठमाडौंसम्मको त्यो यात्रा

हरेक वर्ष क्यालेन्डरमा वैशाख १२ नजिकिँदै गर्दा ६ वर्षअघिको महाभूकम्प र त्यसले निम्त्याएको त्रासदीपूर्ण क्षण आँखै अगाडि आउँछ । १२ वैशाख २०७२ को महाभूकम्पका सम्झना हरेकका आफ्ना-आफ्नै होलान् । धेरैले आफन्त गुमाउनुपरेको पीडा ताजै छ । कति घाइते भए । हजारौंका घर भत्किए । उनीहरू सबैका कथा-व्यथा आफ्नै छ । र, छ मेरो पनि । सम्झिँदा आङ नै जिरिंग हुने ।

भुइचालोपछि हतासमा सँगैका साथी गुमाउँदै शव टेक्दै सिन्धुपाल्चोकको तातोपानीदेखि काठमाडौं घरसम्म पुनर्जन्म लिएर आइपुग्दाको त्यो यात्रा सम्झिँदा कुनै ‘एड्भेन्चर’ फिल्मको दृश्य जस्तै लाग्छ ।

०००

२०७२ वैशाख १२ बिहान सवा ११ बजे तातोपानीस्थित मानसरोवर वोर्डिङ्ग स्कूलमा फिस्टेल एअरको हेलिकप्टर ल्याण्ड गर्‍यो । लोकेसन विराएको त्यो हेलिको पाईलटले मलाई सोधे- ‘ह्वेयर इज कोदारी ?’

म त्यही हेलिकप्टर चढेर उनीहरूलाई कोदारी पुर्‍याउन गएँ ।

मित्र सरोजको कैलाश होटलमा खाना खान शुरू के गरेका थियौँ । सरोजकी श्रीमती चिच्याईन्- भुँइचालो गयो । सरोजजीले मलाई भान्छाको स्ल्याबमुनि छिराए। श्रीमती र छोरीसहित आफू पनि स्ल्याबमुनि पसे । हामी त्यहीँभित्र लुकेर धेरैबेर बस्यौं । केही बेरपछि साम्य भयो । सरोजजीसँगै ढोकासम्म निस्कँदा पीच बाटोमा हर्न बजिरहेका र साइड लाइट बलिरहेका गाडीहरू कुच्चिएका थिए ।

अगाडिको पीच बाटोमा पहिरो खसेको मात्र देखिन्थ्यो । देब्रेपट्टी खरानी रंगको गाडीमा च्यापिएकी एक महिला सहायता मागिरखेकी थिइन् । गाडीमाथिको ठूलो ढुंगा तीनजनाले निकाल्न लाख कोसिक गरे, सकेनन् । टुलुटुलु हेर्नु शिवाय त्यहाँ कसैको दिमागमा केही उपाय आइरहेको थिएन ।

सरोजजीको श्रीमतीसँग भएको एनसेलको सीमबाट मैले काठमाडौंमा परिवारसँग सम्पर्क गर्न खोजें । फोन लागेन । मित्र सुदर्शनसँग चाहिँ सम्पर्क भएपछि म सुरक्षित छु, घरमा त्यही भन्दिनु भनें । करिब पौने घण्टापछि हामी बाहिर निस्क्यौं । अघिको गाडीमा च्यापिएका मानिसहरू मरिसकेका देखिन्थे । भौगोलिक बनावटका कारण त्यो ठाउँमा पहिरोको त्रास भने रही नै रह्यो । कालिमाटी घर बताउने एकजना आफ्नो बुबाको खुट्टा भाँचिएपछि बोकेर सजिलो ठाउँमा ल्याइदिन प्रहरी गुहार्दै थिए ।

०००

सबैजना चिलबिल र हतास थिए । म पनि हतासैहतासमा कसरी हुन्छ काठमाडौंमा परिवारसँग भेट्न आतुर थिएँ । तर, जताततै पहिरोले बाटो अवरुद्ध भएको र क्षण-क्षणमा कम्पन आइरहेकाले सजिलो भने थिएन । एकजना महिला र पाँच पुरुषसहित हामी कोदारीतिर भीरको बाटो लाग्यौं । पछि एकजना साथी मेघ पनि थपिएपछि तातोपानी लाग्यौं । कच्याककुचुक भएको रातो आइ टेन गाडी बाटोमा रगताम्मे अवस्थामा भेटियो । दगुर्दै स्कूलमा आईपुग्दा तातोपानीका धेरै मान्छे जम्मा भएर त्यहीँ बसेका थिए ।
काठमाडौंबाट मसँगै गएका पाँच शिक्षक आत्तिइरहेका थिए । सुदेश सरले म फर्केर आइपुग्ने प्रति आशा मारेको सुनाए । पटक-पटकको कम्पनका बीच रातभर क्यान्टिनको पेटीमा भोकै आँखा झिमिक्कै नपारी बित्यो । पारिपट्टी खासामा भने रातभरी उद्धार गरेको प्रष्टै देखिन्थ्यो । भोलिपल्ट बिहान दौडदै गएर नमस्ते होटलमा राखेको मेरो ब्याग र मोवाईल लिएर आएँ ।

०००

म, राम, हरि, पवन, कमल र सुनिता हिँडेरै काठमाडौं जाने निधो गर्‍यौं । तर यशु, कविता र सुदेश जान मानेनन् । स्कूल तलबाट भोटेकोसीको किनार हुँदै दश किलो आइपुग्यौं । त्यहीँ भेटिएका विशेष प्रहरीका रिटायर्ड एसएसपी राईले पनि सासु र छोराछोरी लिएर हिँडेरै जाने भनेपछि हामीमा साहस आयो । म, सुनिता मिस, राई सरको श्रीमती, छोराछोरी र ड्राइभर अघिअघि बीचमा हरि सर र पछाडी राई सर, सासु र राम सर हुनुहुन्थ्यो । लार्चा चौकीनेर आइपुग्दा बीचमा ठूला दुईवटा पहिरो र क्षतविक्षत गाडीहरू पार गरियो । लार्चा चौकी ध्वस्त थियो । माथिपट्टि अजङ्गको भीर थियो भने तल धमीलो भोटेकोशी ।

खकुण्डोलमा पनि सबै घरहरू भत्किएका देखिन्थे । सुनिता मिस र ममात्रै अगाडी भयौं । अरु बाटोमै छोडिए । घरको झ्यालमा शरीरभित्रै र टाउको बाहिर निस्केको एकजनाको शव देखें । बीचमा कुनै घरहरू सग्ला थिएनन् । शवहरू त्रिपालमुनि यत्रतत्र थिए । एकठाउँ श्रीमानश्रीमतीलाई बाइकसहित पहिरोले पुरेको थियो । म त्यसैमाथि टेक्दै दगुरें । चाकुका घरहरु सबै भत्किएका थिए । पुलको बीचमा एउटा शव थियो । अलि वर आएपछि ३० जनाजति मानिसहरू बसिरहेका थिए । अघिअघि हिँडेका कमल र पवन सर पनि त्यहीँ भेटिए ।

कोही वञ्जी जम्पको बाटो जाने भए भने कोही उकालो चढ्ने भए । म उकालो चढ्नेमा परें ।

०००

अगाडि ८/१० जना थिए । पछाडि १२/१३ जना । म बीचमाा । त्यहीबेला भूकम्प आइदियो । आँखै अगाडि पहिरोले पछाडिका सबैलाई लग्यो । म बारीतिर भागेँ । धर्ती हल्लिरहेको थियो । हामी माटोको ढिस्कोको छेउमा आड लागेर बस्यौँ । एक्लै भएको म फेरि २०/२५ कान्ला उक्लेँ । चाकुमा जलिरहेको शवको धुवाँ आइरहेको थियो । मास्तिर जाँदा सुरक्षित महसुस हुन्थ्यो । साँझ परिसकेको थियो । त्यहाँ भेटिएका दुई गाउँलेले पहिरोले अगाडि जान नसक्ने भन्दै आफूहरूकैतिर बस्न भनें ।

करिब ९ बजे उनीहरू त्रिपाल टाँगेर बसेको ठाउँमा पुगियो । भूकम्पले आफैं चिलबिल भएको पीडा विर्सिएर पाहुनाप्रति देखाएको ती गाउँलेको सत्कारले नेपाली समाजमा सहयोगी भावना जीवित भएको प्रष्ट झल्कन्थ्यो । भत्किएका घरमा पुरिएको अन्न पनि खोतल्न नपाएका उनीहरूले ऐंचो-पैंचो गरेरै भए पनि बडो प्रेमपूर्वक हामीलाई सत्कार गरे । हामीलाई ‘भगवान’ भेटेजत्तिकै भएको थियो । भोलिपल्ट एकजना वृद्धले हामीलाई डाँडैडाँडा जान सुझाए ।

०००

भूकम्पको तीन दिनका दिन बल्ल घरमा सम्पर्क भयो । मन त हल्का भयो तर, परिवारसँग भेट्न पुग्छु कि पुग्दिन भन्ने कुराले चाहिँ उत्तिकै पिरोलिरह्यो । बिजुली-पानी केही छैन होला र घर चिराचिरा परेको होला भन्ने पीर मात्र लाग्यो । आफू सुरक्षित रहेको मात्र बताएँ । अरु केही बोल्न सकिन । मसँगैकाहरूले पनि आफन्तलाई फोन गरे । काठमाडौंमा रहनुभएका कुमार श्रेष्ठ र समीर नेपाल काकालाई फोन गरेर तत्कालीन गाधी गाविसको वडा नं. ६ लोकेसन बनाउँदै बालहित प्राविको माथि डाँडामा हेलिकप्टर पठाइदिन याचना गरेँ । तर, हेलिकप्टर पठाउन सम्भव नभएको जवाफपछि त्यो रात त्यहीँ छटपटाहटमा बित्यो ।

मंगलबार बिहान करिब साढे ६ बजे हामी बाह्रविसेतिर लाग्यौं । भीरैभीर पहिरैपहिरो सिंगार्ची मन्दिरनेर पुग्यौं । कुनै घर सग्लो थिएन । मानिसहरू घरबाट झिक्न सक्ने जति सामान झिक्दै थिए । सिंगार्चीमाथि ठूलो भीर थियो । करिब २ घण्टा भीरको बाटो हुँदै खागदल पारि आइपुग्यौं । पर बाह्रविसे देखेपछि लामो स्वास तानियो । खेतखेतै तल रोडमा झरियो । सेनाको समूहले एउटा घरमा पुरिएका मान्छे खोज्दै थिए । स्थानीय एक व्यक्तिले १५० भन्दा बढी मानिस मरेको बताए ।

०००

हामी फटाफट बाह्रविसेको पुलनेर आइपुग्यौं । सेनाले खनेको बाटो हुँदै सुनकोशी तरेपछि भने सुरक्षित महसुस भयो । लामोसाँघु आएर आएर श्रीमती एलिनाको नम्बरमा ट्राइ गर्दा फोन लाग्यो । दुवैजना फोनमा वेस्कन रोइयो । छोरी र आमासँग पनि बोलें ।

करीब आधा घण्टापछि हामी एक किलो पुगेर सुनिता मिसको घर ८ किलोमा पुग्यौँ । केहीबेरमै माथिबाट आएको गाडी रोकेर हामी खाडीचौर हुँदै काठमाडौं लाग्यौं । धुलिखेल बनेपाका सग्ला घरहरू देख्दा यता त केही नै नभएजस्तो आभास भयो ।

जडीबुटीमा उत्रिएर गोठाटार आएँ । बुबाआमा, एलिना, छोरी, भतिज श्याम/एन्जिला र नाती यमन सबै त्रिपालमुनी थिए । म परिवारसँगै रोएँ । परिवारको मुख हेर्न पलपलको मृत्युलाई जितेर आएको त्यो क्षण मानसपटलमा आजसम्म ताजै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *