त्रीदेशीय कप खेल्न ज्ञानेन्द्र उत्साहित, उपाधि जित्ने लक्ष्य – Nepal Press

त्रीदेशीय कप खेल्न ज्ञानेन्द्र उत्साहित, उपाधि जित्ने लक्ष्य

काठमाडौं । नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले आजबाट सुरु हुने प्रतियोगितालाई लिएर टिम उत्साहित रहेको बताएका छन् । नयाँ प्रशिक्षकको मातहतमा राम्रो तयारी भइरहेको उनको भनाइ छ ।

‘हामी सबै जना एकदमै उत्साहित छौं,’ उनी भन्छन्, ‘हामीले ओडीआई खेल पनि हुन्छन् भन्ने अपेक्षा गरेका थियौं । तर, कोभिड–१९ को कारणले लामो समयसम्म खेल भएनन् । धेरै समयपछि क्रिकेट फर्किँदा हामी खुशी लागेको छ ।’

प्रतियोगिताको मिति सर्ने अनि स्थगित हुने नियमितताबाट मुक्त भएर अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु नै महत्वपूर्ण भएको मल्ल बताउँछन् ।खेलाडीमा उत्साहसँगै धैर्यतामा पनि आवश्यक रहेको भन्दै उनले खेलाडीहरुलाई अभ्यासको कमि भने नभएको उल्लेख गरे ।

‘नयाँ कोचको अन्डरमा तयारी राम्रो भइरहेको छ । धेरै जनाले डोमेस्टिक खेल खेली नै रहेका थिए । हामीले चाहेको चाहीँ अन्तर्राष्ट्रिय खेलमा स्पेट अप गर्नु हो,’ उनले भने, ‘त्यसैले यस्ता खेलमा अझै नयाँ खेलाडी आएर खेले भने राम्रो हुन्छ । र, त्यसका लागि उनीहरुको जस्तो तयारी छ, यो एकदमै राम्रो प्लेटफर्म हो ।’

लामो समयदेखि नेपाली क्रिकेटमा ब्याटिङ समस्या विकराल छ । तर, कोरोना भाइरसको महामारीपछि गति लिएको घरेलु क्रिकेटमा देखिएको नतिजा र क्रिकेटले यसमा सुधारको संकेत देखिएको मल्ल बताउँछन् । प्रधानमन्त्री कप र मेयर कप जस्ता प्रतियोगितामा २ सय ५० रनको योगफल पनि सुरक्षित नुहुन र चेज हुनुले ब्याटिङमा सकारात्मक परिवर्तन भएको अनुमान गर्न सकिने उनको भनाइ छ ।

‘हामीसँग क्षमता हुँदै हुँदै पनि हामीले त्यसलाई प्रयोग गर्न सकिरहेका छैनौं । र, पछिल्लो समयमा हेर्दा।। क्रिकेट जुन हिसाबले परिवर्तन भएको छ, पीएम कप(मेयर कपमा २५० रन बनाएर पनि सेफ नभएको, चेज भइरहेको देखिएको छ । यसलाई पनि एउटा सकारात्मक सन्देशको रुपमा लिन सकिन्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खेलमा फरक क्षमताका बलरको सामना गर्दा ब्यािटङ निखारिने हो । तर, एकै चोटी ठूलो प्लेटफर्ममा पुगेर ब्याटिङ गर्नुपर्दा भने जस्तो हुँदैन ।’

नेपाली खेलाडीमा यथेष्ट क्षमता भएको र त्यस्ता क्षमतालाई एक्सपोजरको कमी भएको कप्तान मल्लको बुझाइ छ । उनी भन्छन्, ‘हामीसँग क्षमता छ, यस्ता म्याचमा पाएको एक्सपोजरमा हामीले राम्रो गर्नुपर्छ जस्तो पनि मलाई लाग्छ ।’

टोलीमा केही खेलाडी ट्वान्टी–२० स्पेसलिस्टका रुपमा समावेश गरिएको ज्ञानेन्द्रले बताए । ‘५० ओभरका लागि फरक योजना हुन्छ,’ उनले भने, ‘हामी यो सिरिज जित्ने लक्ष्यसहित मैदानमा उत्रिने छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *