गण्डकी र लुम्बिनीमा कांग्रेस-माओवादी संयुक्त सरकार गठनको पहल तीव्र – Nepal Press

गण्डकी र लुम्बिनीमा कांग्रेस-माओवादी संयुक्त सरकार गठनको पहल तीव्र

काठमाडौं । संघमा नयाँ सरकार गठनका लागि ठोस परिस्थिति नबने पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सम्भव भएसम्मका प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति बनेको छ ।

सहमति अनुसार पहिलो चरणमा गण्डकी प्रदेश सरकारविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ताको तयारी थालिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विहीबार नै अविश्वास प्रस्ताव दर्ता हुनसक्ने कांग्रेस एक प्रदेश सांसदले जानकारी दिए ।

नयाँ मुख्यमन्त्रीका रुपमा कांग्रेसले कृष्णचन्द्र नेपाली पोखरेललाई अघि सार्ने भएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । हाल उनी गण्डकी प्रदेशसभामा मुख्य विपक्षी दलको नेताका रुपमा रहेका छन् ।

गण्डकी प्रदेशमा कांग्रेस र लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने सहमति दुवै पार्टीको शीर्ष तहमा बनिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ महाराजगञ्जमा भएको भेटवार्तामै प्रदेशहरुमा संयुक्त सरकार बनाउन अग्रसरता लिने सहमति बनेको बताइन्छ ।

गण्डकी प्रदेशसभामा रहेका ६० मध्ये मुख्यमन्त्री गुरुङलाई नेकपा एमालेका २७ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ । ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले बुधबार समर्थन फिर्ताको घोषणा गरेपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेको छ ।

यसैबीच लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन समेत कांग्रेस र माओवादीले गृहकार्य थालेका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, जसपाका ६ र जनमोर्चाका १ जना सांसद छन् ।

कांग्रेस र माओवादीले जसपासमेतको साथ लिन सकेको अवस्थामा सभामा बहुमत पुग्नेछ । कांग्रेस र माओवादीबीच लुम्बिनीमा माओवादी सांसद कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनाउने भद्र सहमति भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर