वर्ष २०७८ मा सेलेव्रिटी टाइमलाइन : विवाहदेखि अर्गानिक फार्म खोल्नेसम्म – Nepal Press

वर्ष २०७८ मा सेलेव्रिटी टाइमलाइन : विवाहदेखि अर्गानिक फार्म खोल्नेसम्म

काठमाडौं । नयाँवर्ष सुरु भएसँगै कोभिड-१९ को दोस्रो लहरको जोखिम सुरु भएको छ । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न र भीडभाड नगर्न आग्रह गरेको छ । नयाँवर्षमा पनि कोरोनाभाइरसले मनोरञ्जन क्षेत्रलाई प्रभावित तुल्याउने भएपछि कलाकारले सोहीअनुसार योजनालाई अघि बढाएका छन् ।

सेलेव्रिटीले नयाँवर्षमा आ-आफ्नै व्यवसायिक र व्यक्तिगत योजना बनाएका छन् जसमा समाजसेवा गर्नेदेखि व्यक्तिगत सुधार गर्नेसम्मका योजना छन् । कोभिड साम्य भए रोकिएका कामलाई अघि बढाउने सेलेव्रिटीका योजना छन् । दीपकराज गिरीदेखि पछिल्ला छिमलका सलोन बस्नेतसम्मका कलाकारका आ-आफ्ना ध्याउन्न छन् ।

केही कलाकारले नेपाल प्रेससँग नयाँवर्ष २०७८ का योजना यसरी सुनाएका छन् :

सुरक्षा पन्त (अभिनेत्री)

कोभिड-१९ को कारणले रोकिएका फिल्म र म्युजिक भिडियोको सुटिङ यो वर्ष गर्ने योजना बनाएको छु । नयाँ वर्षमा फरक खालको स्क्रिप्टमा काम गर्ने इच्छा राखेको छु । यो वर्ष इन्जिनियरिङको कामलाई पनि अगाडी बढाउने सोचमा छु । यो वर्ष आरामले निन्द्रा पुर्‍याएर काम गर्छु । यो वर्ष स्वास्थ्यलाई राम्रोसँग केयर गर्छु । मेरो व्यक्तिगत योजना भनेको यो नयाँवर्षमा स्वास्थ्यलाई एकदमै ध्यानमा राखेर आफ्नो व्यावसायीक कामलाई अगाडी बढाउने योजनामा छु ।

मिरुना मगर (अभिनेत्री)

नयाँवर्षको सुरुवात मेरो सुटिङबाट नै भएको छ । यो वर्ष पढाईलाई प्राथमिकता दिएर अध्ययन अनुसन्धान गर्ने योजना बनाएको छु । हाल मास्टर्स डिग्रीमा अध्ययन गरिरहेको छु र यो वर्ष अध्ययन पुरा गर्छु । साथै करियरलाई पनि अगाडी बढाउँछु । २०७८ सालमा धरान चक्रघट्टीमा रहनुभएका मेरो बजुलाई भेट्छु । साथीहरुलाई भेट्ने र आफू हेल्दी भएर बस्ने योजना छ । सर्वप्रथम स्वास्थ्यलाई हेल्दी राख्नेछु । यो वर्ष पढाई र कामलाई सँगै अगाडी बढाउने सोचमा छु । यो वर्ष मेरो नयाँ फिल्म ‘जारी’ रिलीज हुने सम्भावना छ । अरु १/२ वटा प्रोजेक्टको लागि पनि कुरा भईरहेको छ ।

वर्षा शिवाकोटी (अभिनेत्री)

यो वर्ष त्यस्तो केही प्लान छैन तर मुभी रिलिज हुन बाँकी नै छ । यो वर्ष रिलिज हुन्छ । यो सबै तयार हुदै छ । यो वर्ष चाँही विजनेस गर्ने सोचमा छु । सर्वप्रथम हेल्थलाई प्राथमिकता दिन्छु । व्यक्तिगत कुरा गर्दा आगामी वर्षमा विवाह गर्ने सोच बनाएको छु ।

बद्री पंगेनी (गायक)

कोभिड-१९ को कारणले खासै योजना त बनाएको छैन तर २०७८ सालमा नयाँ गीतहरु तयार गर्ने योजना गरेको छु । व्यक्तिगत योजना खासै बनाएको छैन । नेपाली खेलकुदलाई कलाको माध्यमबाट गर्न सकिने सहयोग गर्ने योजना बनाएको छु । राष्ट्र र राष्ट्रियताको लागि कलाकारले गर्न सक्ने भूमिका निर्वाह गर्दछु । विकास निर्माणका कुराहरुमा कलाकारले गर्नुपर्ने सहयोग गर्न तयार छु ।

टीका प्रसाइँ (गायिका)

मेरो व्यावसायीक क्षेत्र भनेको गीत र संगीत हो । हाल कोरोनाले गर्दा चाँही धेरै गाह्रो भइरहेको छ । आर्थिक अवस्थालाई पनि हेर्नुपर्ने हुन्छ । आफ्नो व्यक्तिगत योजनाअनुसार एल्बम निकाल्ने छ । रेकर्ड भएको गीतको एल्वम बनाउने योजना छ । आफूलाई कसरी सजिलो हुन्छ र कसरी काम गर्न सकिन्छ भन्ने योजना छ । ‘माया लुकी लुकी २’ लिएर आउने सोच बनाएको छु तर, योजना छैन । यो वर्ष फरक तरिकाले काम गर्ने योजना बनाएको छु ।

विल्सन विक्रम राई (तक्मे बुढा)

यो वर्षमा नयाँ तरिकाबाट हँसाउने काम गर्छु । देशको लागि केही नयाँ कार्य गर्छु । वैशाखको दोस्रो हप्ताबाट ‘फूर्के नं १’ प्रभु टेलिभिजनमा आउँदै छ । कोभिडको कारणले थलिएको समाजलाई हँसाउने काम गर्छु । घर–घरमा पुगेर भएपनि संसारलाई हँसाउने काम गर्छु । व्यक्तिगत योजना भन्नुपर्दा मेरो छोरा, बुबा सबैजनालाई खुशि दिने योजना बनाएको छु ।

दीपकराज गिरी (अभिनेता)

कोभिडले गर्दा फिल्म बनाउनको लागि हतार गरेको छैन । यो वर्ष व्यक्तिगत सुधारमा बढी केन्द्रित हुन्छु । यो वर्ष म जन्मिएको ठाउँ चन्द्रागिरी- दहचोकमा रहेको गाउँको लागि केही गर्ने सोचमा छु । गाउँमा अर्गानिक फार्म बनाउने योजनामा छु । अर्गानिक फार्ममा हरियाली कृषिसहितको पुराना संरचनाका घरहरु पनि निर्माण हुनेछन् । इन्डोरभित्र फिल्म पनि छायांकन गर्न सकिनेछ । पछिल्लो समय कोरोनाको दोस्रो लहरका कारणले फिल्म छायांकन गर्ने ठाउँको अभाव भएकाले पनि निर्माताहरुलाई सजिलो हुन्छ ।

सलोन बस्नेत (अभिनेता)

यो वर्ष प्लान त बनाएको छैन । यो वर्ष मुभिमा नै काम गर्छु । अहिले ‘ए मेरो हजुर’को नयाँ सिक्वेलको सुटिङ भैरहेको छ । ‘डाडाँको वर पिपल’ वैशाखको अन्तिमबाट सुटिङ हुदै छ । ‘नाई नभन्नु ल’को नयाँ सिक्वेल छायांकन हुने भनेपनि अहिले फिक्सड भएको छैन । आफ्नो व्यक्तिगत योजना भनेको परिवारलाई खुशि राख्नु हो ।

मनोज गजुरेल (हाँस्यकलाकार)

२०७७ सालमा जे भयो अघिल्लो सालमा नपाएको स्वास्थ्य सक्रिय यो सालमा प्राप्त हुने अपेक्षा गर्दछु । व्यावसायीक क्षेत्रलाई हेर्दा आफ्नो शैली चिनाउने खालको एक टिभी सोमा काम गर्ने योजनामा छु । कला क्षेत्रमा व्यंग्यात्मक किताब निकाल्ने योजनामा छु । कोरोनाको महामारी छ । आफ्नो परिवारलाई र समाजलाई व्यक्तिगत भाइचाराबाट बचाउने कोसिस गर्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *