कप्तान सन्जुको शतकका बाबजुद हार्‍यो राजस्थान, पन्जावको विजयी सुरुआत – Nepal Press

कप्तान सन्जुको शतकका बाबजुद हार्‍यो राजस्थान, पन्जावको विजयी सुरुआत

एजेन्सी । कप्तान तथा युवा ब्याट्सम्यान सन्जु साम्सनले शानदार शतक प्रहार गरे पनि राजस्थान रोयल्स पन्जाव किंग्सलाई हराएर आईपीएलको नयाँ सिजनमा सुखद सुरुआत गर्न असफल भएको छ ।

मुम्बईको वाङखेडे रंगशालामा २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थानलाई जितका लागि अन्तिम बलमा ५ रन आवश्यक थियो । अर्षदीप सिंहको बलमा उनले डीप कभरको क्षेत्रबाट छक्काको प्रयास गरेका थिए । दीपक हूडाको हातबाट क्याचआउट भएपछि पन्जाव किंग्स ४ रनले विजयी भयो ।

त्यसअघि सन्जुले कप्तानी पारी खेले । एउटा एण्डबाट लामो साझेदारी बन्न नसकिरहेको समयमा उनले १ सय १९ रनको शानदार शतक जोडे । जहाँ ६३ बलमा १२ चौका र ७ छक्का सामेल छ । सन्जु खेलको म्यान अफ द म्याचसमेत चुनिए । उनीबाहेक रियान पराग र जस बटलरले समान २५ तथा शिभम दूवेले २३ जोडेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले कप्तान लोकेस राहुलको ९१ रनको शानदार इनिङको सहयोगमा २२१/६ को स्कोर खडा गरेको थियो । ओपनर राहुलले ५० बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए । राहुलले दोस्रो विकेटका लागि क्रिस गेल (४० रन)सँग मिलेर ६७ र तेस्रो विकेटका लागि दीपक हूडासँग मिलेर १ सय ५ रनको साझेदारी गरेका थिए ।

हूडाको विष्फोटक पारीकै कारण पन्जावले २ सय रनको आँकडा पार गरेको हो । १८ औं ओभरमा आउट हुनुअघि उनले २८ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय पारी खेले । राजस्थानका चेतन साकारियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर