प्रदीप गिरीको नजरमा रफ्फुवाल नेम्वाङ र अभिमन्यू बन्न नसकेका योगेश – Nepal Press

प्रदीप गिरीको नजरमा रफ्फुवाल नेम्वाङ र अभिमन्यू बन्न नसकेका योगेश

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरी समाजवादी चिन्तक र व्याख्याताको रुपमा चिनिन्छन् । उनले धेरै कम्युनिष्ट नेतालाई ‘पढाएका’ पनि छन् । राजनीतिक रुपमा फरक पार्टीको भए पनि उमेर र ज्ञानका कारण कम्युनिष्ट नेता गिरीको ‘व्यंग्य’ र ‘छेडखानी’ सहजै पचाउँछन् ।

आज प्रतिनिधिसभा बैठकपछिको अनौपचारिक क्षणमा यस्तै रोचक दृष्य देखियो । कांग्रेस नेता गिरीले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र सांसद योगेश भट्टराईबारे घोचक टिप्पणी गरे । पत्रकारमाझ प्रतिक्रिया दिइरहेका नेम्वाङलाई गिरीले ‘प्रधानमन्त्रीको रफ्फुवाल’ को संज्ञा दिए भने योगेशलाई ‘चक्रव्यूहमा जान डराएको अभिमन्यू’ का रुपमा चित्रण गरे ।

भएको यस्तो थियो:

प्रतिनिधिसभाको विशेष समयमा आफ्नो धारणा राखिसकेपछि कांग्रेस सांसद गिरी सोमबार सञ्चारमाध्यम सामु खुलेर कुरा गर्न चाहन्थे । यही कारण पत्रकारसंग प्रतिक्रिया दिइरहेका नेम्वाङको छेवैमा उभिएर उनले केहीबेर कुरा सुने । नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको बचाउमा धारणा दिइसकेपछि गिरीले मुख खोले, ‘कत्ति रफ्फु भर्नुहुन्छ ?’

गिरीको प्रतिक्रियामा खुलेर हाँसेका नेम्वाङले केहीबेर उनीसंग भलाकुसारी गरे र बाहिरिए ।

लगत्तै पत्रकार नजिक आएर कांग्रेस नेता गिरीले सोधे– रफ्फुवाल भनेको थाहा छ ?

पत्रकारले जवाफ नफर्काएपछि गिरीले आफैं भने– ल सुन्नुस रफ्फुवालको कथा ।

त्यसपछि सुरु भयो प्रदीप गिरीको कथा –

एकादेशमा एउटा बाठो मान्छे थियो, उहाँ (सुवास नेम्वाङ) जस्तै बाठो । त्यतिबेलाको एकजना राजासँग उसले जागिर मागेछ । ‘सरकार मलाई जागिर चाहियो । म तपाईलाई काम लाग्ने मान्छे हुँ । तर मलाई तलब चै धेरै चाहिन्छ’ बाठो मान्छेले भन्यो । त्यसपछि राजाले सोधेछन्, ‘यत्रो तलब दिन तैले काम चै के गर्छस् ?’

प्रत्युत्तरमा उसले भनेछ– सरकारले मनपरी बोले हुन्छ । मनपरी गरे हुन्छ । म रफ्फु गर्दिन्छु । कुरा मिलाइदिन्छु । राजाले उसलाई जागिर दिएछन् । एक दिन राजाले भद्र भलाद्मी भएको ठाउँमा कुरा थालेछन् ।

‘आज घोडा चढेर शिकार खेल्न गएको मेरो घोडा निकै तेजिलो परेछ । उ त्यो रुख छ नि, तेत्रै एक सय गजको रुख त मेरो घोडाले ठ्याक्कै नाघ्यो’, राजाले भनेछन् । राजाको कुरा सुन्नेले विश्वास गरेनन् । गाइँगुइँ बढ्यो । त्यही बेला राजाले आफूले जागिर दिएको बाठो मान्छेलाई आदेश गरेछन्– मैले बोलिहालेँ, ल रफ्फु भर ।

रफ्फुवालले भनेछ– ए बाबा राजाले भनेको सही हो । उहाँले रुख ठाडो थियो भन्नुभएको त छैन नि । रुख त ढलेको थियो, भाँच्चिएको थियो । त्यसलाई घोडाले नाघेकै थियो नि ।

यसरी राजाले बोलेको मनपरी कुरालाई सत्य सावित गराउन मेहेनत गर्ने पात्र थियो – रफ्फुवाल । सांसद गिरीले तिनै रफ्फुवालसंग नेम्वाङको तुलना गरिरहँदा नेम्वाङ भने हिँडिसकेका थिए । बरु एमालेकै सांसद योगेश भट्टराई नजिकै देखिए । यत्तिकैमा गिरीले प्रसंग बदले ।

महाभारतको प्रसंग कोट्याउँदै गिरीले प्रश्न गरे– महाभारतमा एउटा पात्र आउँछ अभिमन्यू भन्ने । त्यसबारे थाहा छ ?

पत्रकारले मिश्रित जवाफ दिएपछि छेवैमा रहेका योगेशप्रति लक्षित गर्दै गिरीले भने– योगेश भट्टराईको कमजोरी के हो भने, हिसाब–किताब गरेको गर्यै छ । अभिमन्यू भनेको मर्छु भन्ने जान्दाजान्दै चक्रव्यूँहमा हाम फाल्ने पात्र हो । महाभारतमा अभिमन्यू सर्वाधिक यशस्वी पात्र हो तर ऊ राजा भएन । अभिमन्यू जस्तै योगेश क्रान्तिकारी बन्लान् कि भनेको सक्लान् जस्तो छैन ।

सोही क्रममा योगेशले गिरीलाई सोधे– दाई त्यो अभिमन्यूलाई घिच्याउने पात्र छ नि के रे ?

गिरीले जवाफ दिए– जयद्रथ ।

पत्रकारसामु योगेशले अन्तिममा सुनाए – अहिलेको जमानामा जयद्रथ छैन के ।

त्यसपछि हाँसोका बीच पत्रकारले क्यामेरा बन्द गरे । केहीबेर भलाकुसारी गरेर गिरी र भट्टराई दुवै संसद भवनबाट बाहिरिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर