विराट गोल्ड कप: मछिन्द्रलाई हराउँदै पञ्जाव सेमिफाइनलमा – Nepal Press

विराट गोल्ड कप: मछिन्द्रलाई हराउँदै पञ्जाव सेमिफाइनलमा

विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी छैठौँ विराट गोल्डकपमा भारतको पञ्जाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाडौंलाई २–० गोलले हराउँदै पञ्जाव सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ३९ औं मिनेटमा पञ्जावले राजवीर सिंहको गोलबाट अग्रता लिएको थियो । जगदिप सिंहले दिएको क्रस पासलाई राजवीरले वान टचमै गोल गरे । आक्रामक भएर मैदानमा उत्रिएको मछिन्द्रले पञ्जावलाई दबावमा राखे पनि पहिलो हाफसम्ममा गोल गर्न सकेन । मछिन्द्रले पाएको गोल गर्ने थुप्रै अवसर खेर फाल्यो ।
खेलको २० औं मिनेटमा मछिन्द्रका उमेश राईले पेनाल्टी एरियादेखि गरेको वान भर्सेस वान प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए । खेलको २२ औं मिनेटमा पञ्जावका राजवीर सिंहले पेलान्टी ऐरियामा पाएको बललाई टच गर्न नसक्दा थप गोल गर्नबाट चुक्यो ।
३१ औं मिनेटमा पञ्जावका तरन्जित सिंहले डिबक्स एरियादेखि गरेको प्रहार बाहिरियो । दोस्रो हाफदेखि आक्रमक भएको पञ्जावका लागि खेलको ८३ औं मिनेटमा महावीर सिंहले गोल दोब्बर बनाए । सरबजीत सिंहले निकालिएको फ्रिकिकलाई उनले वान टचमै पोस्टको दिशा दिएका थिए । त्यही गोल निर्णायक सावित भयो ।
खेलको ५४ औं मिनेटमा मछिन्द्रका निशान्त लिम्बुले पेनाल्टी बक्सबाट गरेको प्रहार बाहिरिदा गोल फर्काउने अवसरबाट मछिन्द्र वञ्चित भएको थियो । ५९ औं मिनेटमा पन्जावका राजवीर सिंहले पेनाल्टी बक्सबाट गरेको प्रहार बाहिरिएको थियो । खेलको ‘म्यान अफ द म्याच’ जगदिप सिंह घोषित भए ।
सोमबारको खेल दुई विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच हुनेछ । पन्जावका प्रशिक्षक हर्नेक सिंहले लिग विजेता टिमलाई हराउन पाउँदा खुसी लागेको र त्यसको सबै श्रेय खेलाडीले पाउने प्रतिक्रिया दिए । केही खेलाडी घाइते भएको बताउँदै उनले सेमिफाइनलमा रिकभर गर्ने चुनौती आएको उल्लेख गरे । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले नेशनल लिगका कारण सबै खेलाडी उपस्थित नहुँदा सफलता हात नपरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर