आगलागी हुँदा कालिकोटमा ६ घर जलेर नष्ट – Nepal Press

आगलागी हुँदा कालिकोटमा ६ घर जलेर नष्ट

कालिकोट । जिल्लाको पचालझरना गाउँपालिका-८ मा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागीमा गाउँपालिका-८ खोलीबजार, भुराबगरमा आगलागीमा ६ घर जलेर नष्ट भएका हुन् ।

आगलागी हुँदा दुर्गा सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृत सार्कीलगायत ६ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए ।

आगलागी हुँदा मानवीय क्षति नभएको र अन्य एउटै घरको करीब १० देखि १५ लाखसम्मको धनमालको क्षति भएको अध्यक्ष सेजुवालले जानकारी दिए । “घरमा रहेका सबै धनमाल जलेर नष्ट भएका छन्”, उनले भने, “एउटै घरको करीब १० लाखदेखि १५ लाखसम्म धनमालको क्षति भएको छ ।”

आगलागीपीडितलाई तत्काल खान र बस्नका खाद्यान्न वितरण गरिएको अध्यक्ष सेजुवालले बताए । “तत्काल खान र बस्नका लागि खाद्यान्नको व्यवस्था गरेको छौँ”, उनले भने, “आगलागी पीडित अहिले त्रिपाल टासेर बसेका छन् ।” आगलागी पीडितलाई घर निर्माणका लागि नेपाल सरकारको जनता आवास कार्यक्रममार्फत घर निर्माणको पहल थालिने अध्यक्ष सेजुवालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *