लहान हत्या प्रकरण : शंकास्पद दुई व्यक्ति पक्राउ – Nepal Press

लहान हत्या प्रकरण : शंकास्पद दुई व्यक्ति पक्राउ

मृतककी श्रीमती भन्छिन्- सबै सामान दिन्छु नमार्नुस् भन्दा पनि हत्या गरे

जनकपुरधाम । गए राति १२ बजे लहानमा सुनचाँदी व्यवसायीको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका-७ का रामकृष्ण चौधरी भाग्दै गरेकै अवस्थामा पक्राउ परेका हुन् ।

शंकाकै आधारमा अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाले उनको पहिचान गोप्य राखेको छ ।

लहान नगरपालिका-२३ स्थित कोठा भाडामा लिएर सुनचाँदी पसल गरेका ४० वर्षीय प्रदीप विश्वकर्मालाई गोली हानी हत्या गरिएको छ । उनका श्रीमती ३७ वर्षीया अमिता विश्वकर्मामाथि लुटेरा समूहले खुकुरी प्रहार गरेका छन् । अमिताको उपचार लहानस्थित सप्तऋषि अस्पतालमा भइरहेको छ ।

विश्वकर्मा दम्पतीले लहान–२३ का वडाध्यक्ष कन्हैया गुप्ताको घरमा अमित ज्वेलर्स नामको सुनचाँदी पसल सञ्चालन गरिरहेका थिए । सुनचाँदी लुट्न गएकाहरूले प्रदीपको टाउकोमा खुकुरी प्रहार गरेको र छातीमा दुई गोली हानेर हत्या गरेको प्रहरीको भनाइ छ । श्रीमान्‌लाई बचाउन खोज्दा अमिताको हातमा लुटेरा समूहले खुकुरी प्रहार गरको बताइएको छ ।

अहिले घटनास्थलमा प्रहरीले कसैलाई जान दिएको छैन । घटनापछि स्थानीय शोकमा डुबेका छन् । अहिले घटनास्थलमा सर्वसधारणको भीड लागेको छ ।

‘सबै सामान दिन्छु नमार्नुस् भन्दा पनि हत्या गरे’
अस्पतालमा उपचाररत मृतककी श्रीमती अमिताले भनिन्, ‘राति करिब १२ बज्दै थियो । ड्याङडुङ गर्दै आएका हतियारधारीहरूले ढोका फोडे । मेरो श्रीमान् रोक्न खोज्दा टाउँकोमा खुकुरी हान्यो । अनि छातीमा दुई गोली मारेपछि मेरो श्रीमान् ढले । म बचाउन जाँदा उनीहरूले हातमा खुकुरी प्रहार गरेर घाइते बनाए ।’

‘कोहीले गोली हान्थ्यो, कोहीले खुकुरी । म त उनीहरूलाई देखेरै बेहोस् भएँ’, अमिताले सुनाइन्, ‘हजुर, सबै समान दिइहाल्छु मलाई नमार्नुस् भन्दा पनि उनीहरूले खुकुरी हान्यो । लुटेराहरू भागेपछि म बाहिर निस्केर छिमेकीहरुलाई उठाएँ, त्यतिबेलासम्म मेरो श्रीमान्‌को प्राण गइसकेको थियो,’ उनले भक्कानिँदै भनिन् ।

सुनचाँदी व्यवसायी संघका अध्यक्ष विकाश सारडाले यस घटनाप्रति दुःख व्यक्त गर्दै सबै अपराधीलाई चाँडो पक्राउ गरी कारबाहीका लागि माग गरेका छन् । उनले सिराहाका व्यवसायी असुरक्षित बनेको भन्दै शान्ति सुरक्षाको माग समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर