सीके राउतका कार्यकर्तासँग अझै ‘स्वतन्त्र मधेस’ को झण्डा ! – Nepal Press

सीके राउतका कार्यकर्तासँग अझै ‘स्वतन्त्र मधेस’ को झण्डा !

जनकपुरधाम । जनकपुरस्थित बाह्रविघा मैदानमा सिके राउतको जनमत पार्टीको जारी प्रथम राष्ट्रिय महाधिवेशनमा कार्यकर्ताले ‘फ्रि मधेस’ को झण्डा बोकेका छन् । तत्कालीन स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतले सरकारसँग भएको ११ बुंदै सम्झौतामा बिखण्डनकारी गतिविधि प्रतिवद्धता जनाएका थिए ।

वार्ता गरेलगत्तै उनले राजनीतिक मूलधारमा आएको घोषणा गर्दै जनमत पार्टी गठन गरे । तर उनका कार्यकर्ता स्वतन्त्र मधेसको झण्डा बोक्दा पार्टीले नजरअन्दाज गरिरहेको छ ।

‘फ्रि मधेस’ को झण्डा बोकेका एक कार्यकर्ताले नेपाल प्रेससँग भने, ‘मधेसलाई अलग देश बनाउने एजेण्डा हामीले त्यागेको छैन ।’ राउतले खुल्ला रुपमा राजनीति गर्न मात्र सरकारसँग वार्ता गरेको र आफ्नो एजेण्डा नत्यागेको कार्यकर्ता बताउँछन् ।

महाधिवेशनको उद्घाटन सत्रमा कार्यकर्तालाई प्रशिक्षण दिइएको छ । अध्यक्ष राउतले सम्बोधन गर्न बाँकी छ भने पार्टीका केन्द्रीय नेताले अगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अहिले नेतृत्व चयन गर्न महाधिवेशन स्थलमै मतदान भइरहेको छ । मतदानपछि डा. राउतले सम्बोधन गर्ने र त्यसपछि बन्द सत्रपश्चात महाधिवेशन सम्पन्न हुने बताइएको छ ।

महाधिवेशनमा विभिन्न जिल्लाबाट सयौं गाडी चढेर हजारौंको संख्यामा कार्यकर्ता आएका छन् । जिल्लाबाट आएका कार्यकर्ताले भारतीय गाडी प्रयोग गरेको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर