गर्भवती पेट देखाउने होड : मातृत्वको गौरव कि विदेशीको भद्दा नक्कल ? – Nepal Press

गर्भवती पेट देखाउने होड : मातृत्वको गौरव कि विदेशीको भद्दा नक्कल ?

काठमाडौं । नायिका प्रियंका कार्कीले केही दिनअघि आफू गर्भवती बनेको ‘खुलासा’ गर्दै ठूलो पेट देखाएर तस्बिर पोष्ट गरिन् । उनले उत्साहका साथ पोष्ट गरेको तस्बिरमा धेरै नकारात्मक कमेन्टहरु आए ।

तर, हतोत्साही नभइकन प्रियंकाले दिनहुँ आफ्नो ‘बेबी बम्प’ देखाएर सामाजिक सञ्जालमा चर्चा बटुलिरहेकी छन् । अनि, उनका आलोचक पनि नथाकिकन कमेन्ट गरिरहेका छन् ।

नायिकाले बेबी-बम्पसहितको तस्बिर यसरी पोष्ट गरेको यो पहिलो घटना भने थिएन । पछिल्ला वर्षमा महिला सेलिब्रिटीहरु गर्भवती भएपछि ठूलो भुँडी देखाएर फोटो सुट गर्ने, अनि सामाजिक सञ्जालमा पोष्ट गर्ने होड नै चलेको छ । उनीहरुले विदेशी सेलिब्रिटीको सिको गरेर यो ट्रेन्ड नेपालमा भित्र्याएको बुझ्न कठिन छैन ।

प्रियंका कार्की र पति आयुष्मान देशराज ।

नेपाली समाजमा पहिले गर्भवती अवस्थामा बाहिर निस्कन समेत महिलाहरु लाज मान्थे । अहिले पनि धेरै महिलाहरु आफ्नो गर्भवती पेट लुकाउन खोज्छन् । तर, पछिल्लो समयमा ह्वाङ्ग पेट देखाएर तस्बिर खिचाउने अनि सामाजिक सञ्जालमा पोष्ट गर्ने शहरीया महिलाहरुमा झांगिएको छ । विदेशीको संस्कृतिको प्रभावसँगै सेलिब्रिटीहरुमार्फत भित्रिएको यो प्रचलन अहिले आम महिलाहरुले पनि अनुसरण गर्न थालेका हुन् ।

यो ट्रेन्डलाई लिएर बौद्धिक समूहमा पनि फरक-फरक मतहरु छन् । गर्भावस्थालाई लाज र संकोचको रुपमा लिने परम्परागत मान्यतामा सुधार आएर महिलाहरु खुल्दै जानु सकारात्मक भएको एकथरिको भनाइ छ । अर्काथरि चाहिँ गर्भावस्था आफैंमा महिलाका लागि गर्वको कुरा भए पनि ठूलो पेटको तस्वीर खिचेर सामाजिक सञ्जालमा हाल्ने प्रचलनलाई भने विकृतिको रुपमा चित्रण गर्छन् ।

अभिनेत्रीहरुको होड

नेपालमा सम्भवतः पहिलोपटक अभिनेत्री ऋचा घिमिरेले एक नेपाली अखबारको लागि प्रेगनेन्सी फोटोसुट गराएकी थिइन् । दश वर्षअघि उनको त्यो फोटोसुट निकै चर्चित भएको थियो ।

अभिनेत्री सिर्जना सुब्बा
अभिनेत्री विनिता बराल पतिसँग अमेरिकामा ।

व्यवसायिक फोटोग्राफर कविन्द्रमान शाक्यले ऋचाको बेबी-बम्पको फोटो खिचेका थिए । पछिल्लो समय अमेरिका पलायन भएकी ऋचाको उक्त फोटोसुटलाई पछ्याउँदै अरुले पनि बेबी-बम्पवाला तस्विर सार्वजनिक गर्न थाले । त्यतिबेला प्रेगनेन्सी फोटोसुट गरेपछि ऋचाले मिश्रित प्रतिक्रिया प्राप्त गरेकी थिइन् ।

ऋचालाई पछ्याउँदै उनको पुस्ताकी अभिनेत्री अरुणिमा लम्साल, सञ्चिता लुइँटेल लगायतले फोटोसुट गरे । गर्भावस्थाको पे्रगेनेन्सी फोटोसुट गर्ने पछिल्लो पुस्ताका अभिनेत्रीमा निशा अधिकारी, सिर्जना सुब्बा, बिनिता बराल र पूर्वमिस नेपालहरु झरना बज्राचार्य, माल्भिका सुब्बालगायत छन् । श्रीमानसँग खिचेका बेबी-बम्पवाला तस्विरलाई उनीहरुले आफ्ना प्रशंसकमाझ सेयर गरेका थिए ।

नायिकाहरु प्रेगनेन्सी फोटोसुटलाई सकारात्मकरुपमा लिनुपर्ने बताउँछन् । गर्भावस्थालाई डरले होइन रमाइलोसँग सेलिब्रेसन गर्नुपर्छ भन्ने उनीहरुको बुझाइ छ ।

रंगमञ्चमा समेत चर्चित रहेकी अभिनेत्री सिर्जना सुब्बाको समेत बेबी-बम्पसहितको तस्विर निकै हिट रह्यो । केही वर्षअघि विहे गरेकी अभिनेत्रीले लकडाउनको समयमा प्रेगनेन्सी फोटोसुट गरेकी थिइन् । यसअघि उनले गर्भावस्थाकै बेला मञ्चन भएको नाटक महाभोजमा अभिनय गरेर चर्चा पाएकी थिइन् ।

नेपाल प्रेससँग कुरा गर्दै उनले समाजमा गर्भावस्थालाई लाजको रुपमा लिने भएकोले त्यस्तो धारणा बदल्न सामाजिक सञ्जालमा फोटो पोस्ट गरेको बताइन् । अरु नायिकाहरु पनि प्रेगनेन्सी फोटोसुटलाई सकारात्मकरुपमा लिनुपर्ने बताउँछन् । गर्भावस्थालाई डरले होइन रमाइलोसँग सेलिब्रेसन गर्नुपर्छ भन्ने उनीहरुको बुझाइ छ ।

प्रेगनेन्सी फोटोसुट पश्चिमा मुलुकमा चर्चा र प्रयोगमा रहे पनि नेपालमा भने यसले पछिल्लो केही वर्ष यतामात्र ब्यापकता पाएको हो । सन् १९९२ मा प्रतिष्ठित ‘भेनिटी फेयर’ म्यागजिनको कभरमा छापिएको हलिउड नायिका डेमी मुरेको बेबी बम्पसहितको तस्विर निकै हिट भएको थियो । उक्त तस्विरले हलिउडसहित संसारका अन्य स्थानमा पनि चर्चा पाएको थियो । उनै मुरे केही वर्षअघि नेपाल आइपुगेर माइती नेपालले भारतबाट उद्धार गरेका किशोरीलाई हेटौंडामा पुगेर भेटेकी थिइन् ।

गाायिका बियोन्से ग्रामी अवार्ड रेडकार्पेटमा ।

सन् २०१७ मा हलिउड गायिका बियोन्सेको फोटोसुट पनि चर्चामा रह्यो । उनले इस्टाग्राम र ट्वीटरमा बेबी बम्पसहितको तस्विर सेयर गर्दै आफू र पति गायक जे-जेडले जुम्ल्याहा सन्तानको प्रतीक्षा गरेको घोषणा गरेकी थिइन् । उनले ट्वीट गरेको उक्त पोस्टले १५ मिनेटमा ८ करोड लाइक र ३ लाख ८६ हजार ८१२ कमेन्ट प्राप्त गरेको थियो । यो पोष्टले एकैदिनमा सर्वाधिक लाइक र कमेन्ट पाउने ट्वीटर रेकर्ड राखेको थियो ।

अभिनेत्री मुरे र गायिका बियोन्सेको प्रेगनेन्सी फोटोसुटको नक्कल गदेै बलिउड नायिकाले पनि तस्बिर खिचाउन थालेपछि बेबी-बम्प फोटोसुटले अझै ब्यापकता पाउन थाल्यो । पूर्व विश्व सुन्दरी समेत रहेकी अभिनेत्री ऐश्वर्या राय, शिल्पा सेट्टी, ट्विङ्कल खन्ना, करिश्मा कपुर, जिनेलिया डिसुजा लगायतका अभिनेत्रीले प्रेगनेन्सी फोटोसुट गरेका थिए । अभिनेत्री तारा शर्मा तथा कोणकोणा सेनले प्रेग्नेन्सी फोटोसुट गराएर भारतीय मिडियामा चर्चा बटुलेका थिए ।

बलिउड नायिका अनुष्का शर्मा र उनका श्रीमान एवं भारतीय क्रिकेट कप्तान बिराट कोहलीले बेबी बम्प फोटोसुटमार्फत सन्तान आउन लागेको घोषणा गरेका थिए । कोहलीले आफू बाबु बन्न लागेको जानकारी ट्वीटमार्फत दिएका थिए । अनुष्का र विराटको उक्त पोस्टले इन्स्टाग्राममा २४ मिनेटमा १० लाख लाइक प्राप्त गरेका थिए ।

मातृत्वको सौन्दर्यकरणलाई नकारात्मकरुपमा लिनु हुँदैन

अमृता लम्साल, लेखिका

हाम्रो पालामा गर्भवती महिलाले ओढ्ने नओढी घरको ढोकाबाट बाहिर निस्कनुहुन्न भन्ने थियो । त्यो जमाना अहिले छैन । हरेक कुरा समय र परिवेशसँग परिवर्तन हुँदै जान्छ ।

आफूलाई मन नपरेपछि त्यसलाई नकारात्मक दृष्टिकोणबाट हेर्छौं । गर्भवती अवस्थामा फोटोसुट गर्नु एउटा ‘मुभमेन्ट’ हो । त्यो ‘मुभमेन्ट’ एउटी आमाको जीवनको लागि ठूलो उत्साहको क्षण हो । त्यसलाई सेलिब्रेट गरेको मात्र नभई त्यो त आफ्नो जन्मिने बच्चाको लागि एउटा इतिहास पनि हो ।

बा-आमाले म जन्मिँदा कति खुशी बनाएका रहेछन् भनेर बच्चाले भोली सोच्छन् । एउटा सौन्दर्यको दृृष्टिकोणले सेलिब्रेट गरेको बुझाइमा लिन सकिन्छ । पश्चिमीकरण त भन्छौं यसलाई तर, हामीले के कुरा चाहिँ मानेका छैनौं र ! आज कुनचाहिँ पुरुषले धोती फेरेर पिर्कामा बसेर औंसनी हालेर खाना खान्छन् ?

जनै कानमाथि हाल्ने कति छन् ? त्यो कुरालाई यसरी पनि विश्लेषण गर्न सकिन्छ । आफूलाई चाहिएको कुरा मात्र ठीक भन्ने जमातले जे कुरा पनि नकारात्मक देख्नु उनीहरूको दृष्टिदोष हो ।

पितृसत्तात्मक सोचले महिलाहरूको स्वतन्त्रता स्वीकार गर्न नसक्दा गर्भवती अवस्थाको फोटोसुट गर्दा नकारात्मक टिका-टिप्पणी हुन्छन् । तर, मेरो विचारमा एउटा आमा बन्न लागेको महिलाले मातृत्वको सौन्दर्यकरणलाई अभिव्यक्त गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर