रात्रिकालीन व्यवसायीको सरकारलाई प्रश्न: राति ९ बजेपछि मात्रै कोरोना सर्ने हो ? – Nepal Press

रात्रिकालीन व्यवसायीको सरकारलाई प्रश्न: राति ९ बजेपछि मात्रै कोरोना सर्ने हो ?

लकडाउनले थलिएका व्यवसायीमाथि फेरि सरकारको ज्यादति

काठमाडौं । सरकारले कोरोना फैलन सक्ने भन्दै रात्रीकालिन व्यवसायमा कडाइ गर्ने नीति लिएको छ । लामो लकडाउनले थलिएका व्यवसायी सरकारको पछिल्लो निर्देशनले चिन्तित र आक्रोशितसमेत बनेका छन् । रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने व्यवसायी सरकारको निर्देशन आश्चर्यजनक रहेको बताउँछन् । दिनभरि जतिसुकै भिडभाड गरे पनि छुट हुने तर राति काम गरेर खानेलाई बन्देज गरिएकोमा उनीहरुको आक्रोश छ ।

ठमेल पर्यटन विकास परिषद्का महासचिव धुब्र अधिकारीले सरकारले रात्रिकालीन व्यवसायसँग छलफल नै नगरी राति ९ बजेपछि व्यवसाय बन्द गराउन निर्देशन दिएको बताए । राति ९ बजेदेखि मात्रै कोरोना सर्ने सरकारको सोचाइले आफूहरु अचम्भित भएको उनको भनाइ छ ।

उनले भने, ‘सरकारले रात्रिकालीन व्यवसायी सञ्चालकसँग छलफल नै नगरी रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द गराउन आग्रह गर्दा हामी समस्यामा परेका छौं । रात्रिकालीन व्यवसाय राति १० बजेदेखि सञ्चालन हुने हो । तर सरकारले राति ९ बजे नै बन्द गर्न भनेको छ ।’

ठमेलमा दिउँसोभन्दा पनि राति धेरै व्यापार हुने अधिकारीले बताए । तर ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गराउनु परेको खण्डमा व्यवसायमा गिरावट आउने र धेरैको रोजगारी खोसिने उनको भनाइ छ । ‘ठमेल पर्यटन विकास परिषद्मा जोडिएका व्यवसायीले करिब ४ लाखलाई रोजगारी दिएका छन्, अब ती मजदुरको रोजगारी संकटमा परेको छ,’ अधिकारीले भने ।

दिनभर बैंक, कर कार्यालय र सार्वजनिक स्थानमा जति भिडभाड भए पनि केही समस्या नहुने तर रात्रीकालिन व्यवसायलार्ई मात्रै अंकुश लगाउन खोज्नुले आफूहरुमाथि अन्याय भएको व्यवसायी बताउँछन् । कोरोना संक्रमण कसरी रोक्न सकिन्छ भनेर व्यवसायीसँग छलफल गरेर सरकार अगाडि बढ्ला राम्रो हुने उनीहरुको भनाइ छ ।

ठमेल, न्युरोड र दवारमार्ग लगायतका क्षेत्रमा भएका क्लब, दोहोरी साँझ र रेष्टुरेन्ट पनि ठमेल पर्यटन विकास परिषद्मा जोडिएका छन् । ९ महिना लामो बन्दपछि खुलेका व्यवसाय पुनः बन्द गर्न अग्रह गर्दा व्यवसायीहरु ठूलो समस्यामा परेका छन् ।

होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहाले रात्रिकालीन व्यवसायले जनस्वास्थ्यको मापदण्ड पुरा गरेर सञ्चालन गर्दा पनि सरकारले बन्द गर्न आग्रह गर्नु अन्यायपूर्ण भएको प्रतिक्रिया दिए । सार्वजनिक स्थानमा सामाजिक दुरी र माक्स विना नै हिँड्नेहरुलाई सचेत गराउनुपर्नेमा रात्रिकालीन व्यवसायलाई बन्द गरेर समाधान खोज्नु गलत रवैया भएको उनको भनाइ छ ।

उनले भने, ‘कोरोना राति ९ बजेपछि मात्र सर्ने भन्ने हुँदैन । हामी लकडाउनको समयमा पनि महिनाको २ अर्ब घाटा व्यहोरेर बसेका थियौं । सरकारले पुनः ९ बजेपछि व्यवसाय बन्द गर्न आग्रह गर्दा झन् समस्या परेको छ । रात्रिकालीन व्यवसायमा आउनेहरुले स्वास्थ्यको मापदण्ड पुरा गर्ने भएकाले सरकारले भनेकोजस्तो खतरा छैन ।’

उनी थप्छन्, ‘सबै मान्छेलाई आफ्नो ज्यानको माया हुन्छ । व्यवसायीहरुले पनि आफ्नो सुरक्षालाई ध्यान दिएर नै व्यवसाय सञ्चालन गरिरहेका छन् । सरकारले तोकेको मापदण्ड पुरा गरेर पनि व्यवसाय सञ्चालन गर्न नपाउनु चाहिँ बिडम्बना हो ।’ स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले गत बुधवार ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ को कार्यक्रममा बोल्दै कोभिड–१९ को रोकथामका लागि सरकारले लकडाउन नगर्ने बताएका थिए । तर रात्रिकालीन व्यवसायलाई बन्द गर्न आग्रह गरेर स्वास्थ्य मन्त्रालयले सूचना निकालेको छ ।

बुधबार जारी सूचनामा कोरोनाको नयाँ भेरियन्टका बिरामी संख्या बढ्दै गएकाले सर्वाजनिक यातायात र विद्यालयलगायत धेरै भिड हुने स्थानमा स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउन आग्रह गरिएको छ । त्यस्तै, रात्रिकालिन व्यवसाय तथा रेष्टुरेन्ट राति ९ बजेपछि कडाइका साथ बन्द गराउन पनि मन्त्रालयले निर्देशन दिएको थियो ।


प्रतिक्रिया

One thought on “रात्रिकालीन व्यवसायीको सरकारलाई प्रश्न: राति ९ बजेपछि मात्रै कोरोना सर्ने हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर