चाँगुनारायणका मेयर मिश्र माधव पक्षको समानान्तर कमिटीबाट अलग – Nepal Press

चाँगुनारायणका मेयर मिश्र माधव पक्षको समानान्तर कमिटीबाट अलग

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले माधव नेपाल पक्षको समानान्तर कमिटीमा बस्न अस्वीकार गरेका छन् ।

नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाटै चुनाव जितेका र पछिल्लो पार्टी विवादमा पनि प्रचण्ड-माधव पक्षमा उभिँदै आएका मिश्रलाई नेपाल पक्षले वागमती प्रदेश कमिटी तथा भक्तपुर जिल्ला इन्चार्जको जिम्मा दिएको थियो ।

मिश्रले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री तथा संगठन विभाग प्रमुख बिष्णु पौडेल र केन्द्रीय सदस्य महेश बस्नेत लगायतका नेताहरुसँग छलफलपछि समानान्तर कमिटी बनाउने माधव नेपाल पक्षको साथ छाड्ने निर्णय गरेका हुन् ।

मिश्रले आफू समानान्तर कमिटीहरु गठन गरेर पार्टी विभाजनको पक्षमा उभिन नसकेको प्रतिक्रिया दिए । मिश्र पार्टी एकीकरणअघि पनि तत्कालीन एमालेको भक्तपुर जिल्ला इन्चार्ज थिए ।

भक्तपुरका अधिकांश नेता कार्यकर्ता महेश बस्नेतको पक्षमा उभिएकाले पनि मिश्रलाई एक्लै अघि बढ्न अप्ठेरो परेको थियो । उनले आगामी चुनावलाई समेत मध्यनजर गर्दै संस्थापन पक्षलाई साथ दिने निर्णय गरेका हुन् ।

भक्तपुरका चार नगरपालिकामध्ये तीनवटामा एमालेले जितेको थियो । तीमध्ये मध्यपुरका मेयर मदनसुन्दर श्रेष्ठ र सुर्यविनायकका बासुदेव थापा बस्नेतसँगै थिए ।

यसअघि बुधवारमात्रै धादिङका प्रदेशसभा सदस्य डा.रामहरी अधिकारी र संविधानसभा सदस्य धनवहादुर घलेले नेपाल पक्षको समानान्तर कमिटीबाट अलग रहेको विज्ञप्ति निकालेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर