आउँदा आउँदै फुटबल कोचको रवाफिलो शैलीः नो मोर डिफेन्स ! – Nepal Press

आउँदा आउँदै फुटबल कोचको रवाफिलो शैलीः नो मोर डिफेन्स !

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् अब्दुल्लाह अलमुताइरी । आज एन्फाले उनलाई पत्रकारसँग चिनायो । पहिलो झलकमै उनको फरक स्वभावबारे पत्रकारले भेउ पाए ।

सामान्यतया विदेशी कोचहरु नेपाल आउँदा नेपाली खेलाडी र टिमको प्रशंसाबाट सुरु गर्छन् । उनीहरुमा धेरै सम्भावना रहेको र आफूले त्यसलाई निखार्ने योजना सुनाउँछन् । अब्दुल्लाह भने फरक अन्दाजमा पेश भए । मसिनो स्वरमा उनले कडा–कडा कुराहरु राखे । उनी आफ्नो रणनीतिमा स्पष्ट देखिए, तर अतिरिक्त रवाफ पनि देखाए । उनले बारम्बार नेपालले अब सुन्दर फुटबल खेल्नेमा जोड दिएका थिए ।

अब्दुल्लाहले हालै सम्पन्न भएको थ्रि नेसन्स कपको विश्लेषणबाट सम्वोधन सुरु गरे । फाइनलमा बंगलादेशलाई पराजित गरेपछि नेपाली टिमको हाइहाइ भइरहेको छ । तर, प्रशिक्षकले यो त्यति धेरै सेलिब्रेसन गर्नुपर्ने जित नभएको भाव प्रकट गरे ।

उनले भने, ‘सारा नपालीले रातभरी खुशी मनाएको मैले हेरिरहेको थिएँ । तर मलाई लाग्छ हामीले सेलिब्रेसन त्यतिबेला गर्नुपर्छ जब एसिया कपका लागि क्वालिफाइ हुन्छौं । वा साग च्याम्पियनसीप जित्छौं ।’

प्रशिक्षक अब्दुल्लाहले सो खेलमा नेपाली टिमको प्रदर्शनलाई पनि गतिलो ठहर्याएनन् ।

उनले भने, ‘अहिले मैले त्यो खेलको विषयमा सोधेँ भने तपाईंहरु सबैले खुशी नै व्यक्त गर्नुहुन्छ होला । तर, म खुशी छैन । नेपालले ४९ मिनेट मात्रै प्रोफेसनल फुटबल खेलेको थियो । बाँकी फुटबल नै थिएन । हामीले हरेक म्याचमा ६० मिनेटभन्दा बढी प्रोफेसनल फुटबल खेल्नुपर्छ । हामीले सुन्दर फुटबल खेल्नुपर्छ ।’

तपाईं नेपाली फुटबल समर्थकहरुसँग के प्रतिवद्धता गर्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा पनि प्रशिक्षकको रवाफिलो जवाफ आयो ।

‘म अरु केही प्रोमिस गर्दिन । केवल एउटा प्रोमिस गर्छु । सबैजना नेपालीले आफ्नो टिममा गर्व गर्नुहुनेछ । सबैले यी लडाकुमाथि गर्व गर्नुहुने छ । नेपाल राष्ट्रको लागि खेलाडीहरुले लड्नेछन् ।’

अब्दुल्लाहले नेपाली फुटबलमा शान्तिपूर्ण माहोल हुनुपर्ने बताए । मिडियालाई पनि उनले खेलाडीको आलोचनामा नलेख्न घुमाउरो चेतावनी दिए ।

‘टिमका विषयमा मिडियामा नकारात्मक कुरा होस भन्ने म चाहन्न । यसमा तपाईंहरुले पनि ध्यान दिनुहुनेछ । खेल हार्यौं भने त्यसको सम्पूर्ण जिम्मेवार मलाई ठहर्याउनुस् । टिमले जित्यो भने सबै जस खेलाडीलाई दिनुस्, मलाई बिर्सिए पनि हुन्छ,’ उनले भने ।

पत्रकारले सोधे, ‘तपाईं नेपाली टिमलाई कुन शैलीमा मैदानमा उतार्न चाहनुहुन्छ ?’

प्रशिक्षकको स्ट्रेटफरवार्ड जवाफ आयो ।

उनले भने, ‘मैले निर्णय लिइसकेँ, हामी ४–३–३ मा खेल्नेछौं । हामी डिफेन्स गर्दैनौं । न हामी पूरै ९० मिनेट अट्याक गछौं न डिफेन्स गछौं । हामी केवल सुन्दर फुटबल खेल्नेछौ ।’

आफ्नो मूल्यांकनका लागि मिडियाले आफूलाई समय दिनुपर्ने उनले माग गरे ।

‘मलाई तुरुन्तै जज नगर्नुस् । विश्वकप छनोटका खेलमा मैले टिममा धेरै परिवर्तन गर्न भ्याउँदिन । यो टिमलाई उच्चस्तरको बनाउन मलाई समय चाहिन्छ,’ उनले भने । कति समय भन्ने चाहिँ खुलाएनन् ।

साफ च्याम्पियनसीप नेपालले जित्ने सम्भावनाका बारेमा उनले धेरै उत्साही कुरा गरेनन् । उनले यसका लागि आफूले सक्दो प्रयास गर्ने जवाफ दिए । साफ च्याम्पियनसीप खेल्ने सबै देशहरु लगभग एउटै रहेको उनले औंल्याए ।

‘नेपाली जनता साफ कप जितेर खुशी हुनका लागि हकदार छन् । तर, हामीले यसका लागि फाइट गर्नुपर्छ । समुह चरणबाट फाइनलसम्म स्टेप बाइ स्टेप जानुपर्छ । सार्कमा सबै टिमहरुको स्तर उही छ । त्यसैले जसले पनि जित्न सक्छ । म हामी जित्छौं भन्दिनँ, तर सक्दो प्रयास म गर्छु ।’

पत्रकारले सोधेको अर्को प्रश्न थियो, ‘अब नेपाली राष्ट्रिय टिमको खेलाडी कसरी छनाट गर्नुहुन्छ ?’ अब्दुल्लाहको उत्तर जिल्ल पार्ने थियो ।

उनले पहिले प्रतिप्रश्न गरे, ‘नेपालका लागि तीन वर्षयता राष्ट्रिय टिम, अन्डर–१९ र यु २३ मा कति खेलाडीले खेले ?’

पत्रकारबाट जवाफ आएन । अनि आफैंले जवाफ दिए, ‘५१ जना ।’

उनले ती प्रत्येक खेलाडीको एक–एक रिपोर्ट आफुसँग भएको दावी गरे ।

अब्दुल्लाहले भने, ‘कसले कतिपटक बल छोए, कति ड्रिब्लिङ गरे, कति क्रस गरे, कति गोल गरे, क्रस कति गरे पास सबै रिपोर्ट मसित छ । मैले २३ खेलाडी चुज गरिसकेको छु । अब ८ खेलाडीहरुको स्थान खाली छ क्वालिफायर्सका लागि ।’

‘अब तपाईंको कार्यकालमा नेपालको खेल शैली कस्तो हुन्छ ?’ पत्रकारले सोधे ।

उनले जवाफ दिए, ‘अनेस्टली भन्नुपर्दा यदि तपाईं धेरै डराउनुभयो भने केही पनि गर्न सक्नुहुन्न । कुवेतबाहिर कोच गर्दा ममाथि धेरै शंका गरिएको थियो । ३ महिनापछि फर्किन्छ भनेका थिए । तर, म जहाँ पनि सफल भएँ । एसियामा मेरो पाचौं देश हो । मैले यूरोपमा पनि सिकाएको छु ।’

‘यदि तपाईं केहीसँग पनि डराउनुभएन भने जे पनि हासिल गर्न सक्नुहुन्छ । फुटबलमा मात्र होइन जहाँ पनि यो लागू हुन्छ । धेरै डराउनुभयो भने केही गर्न सक्नुहुन्न । मलाई लाग्छ, हामीसँग केही छ । अब डराइदैन । डिफेन्स गरिदैन । नो मोर स्केयर । हामी ब्यूटीफुल र स्मार्ट फुटबल खेल्ने छौं,’ उनले भने ।

तपाईंसँग एनालिस्ट हुनुहुन्छ ? भन्ने अर्को प्रश्नमा उनले जवाफ दिए, ‘मलाई लाग्दैन कि चाहिन्छ ।’

आफ्नो आगामी योजना सुनाउँदै उनले नेपाल सुपर लिगपछि ट्रेनिङ क्याम्प हुने बताए । २० देखि ४० दिनमा नेपाल वा कतारमा हुन सक्ने उनको भनाइ छ । प्रत्येक महिना १४ देखि २१ दिन ट्रेनिङ गर्ने योजना उनले सुनाए ।

प्रशिक्षक अब्दुल्लाहले फुटबल करिअरबारे पनि जानकारी दिए ।

उनले भने, ‘म गोलकिपर थिएँ । मैले नेसनल टिममा खेलेको छैन । क्लवमा खेलेको छु । एउटा क्लवमा खेल्दा खेल्दै घाइते भएँ । त्यसपछि क्लवले भन्यो कि तिम्रो उपचार गर्न सक्दिनँ घर फर्क । त्यसपछि खेलाडीका रुपमा मेरो करिअर सकियो । अनि बिहे गरेँ परिवार बनाएँ ।’

‘२०११ बाट मैले प्रशिक्षकका रुपमा काम थालेँ । पहिले कुवेतकै क्लवहरुमा प्रशिक्षण गरेँ । त्यसपछि साउदी अरेबियामा गएँ । त्यहाँबाट किर्गिस्तानमा गएँ । त्यहाँको अन्डर १६ नेसनल टिमका लागि उत्कृष्ट रिजल्ट दिएँ । अनि कतार गएँ । त्यहाँको अन्डर २३ टिमले मेरो प्रशिक्षणमा ९ खेल खेल्यो । त्यसमध्ये ४ जित, ४ बराबरी र एक मात्र हार भयो । आफ्नो टिमलाई मैले आठौंबाट चौंथो पोजिसनमा ल्याएँ ।’

उत्कृष्ट प्रशिक्षणका कारण आफूले एक वर्ष तीन महिनामै प्रो लाइसेन्स सर्टिफिकेट पाएको उनले सुनाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर