नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसनबीच कर्जा प्रवाहमा समझदारी


काठमाडौं । उद्योग वाणिज्य महासंघ र डेभलपमेण्ट बैंकर्स एशोनियनबीच लघु, घरेलु साना तथा मझौला उद्योगलाई मागअनुसार सरल एवं सहज रूपमा कर्जा प्रवाह सहजीकरण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा व्यावसायीलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापनसम्बन्धी जानकारी दिन कार्यक्रम संचालन गर्ने, उत्पादनमूलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसाय प्रवद्र्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम संचालन गर्ने, उपयुक्त वित्तीय सेवाको छनौट र प्रयोग गर्न सक्ने क्षमता विकास गराउने लगायत उल्लेख छ ।
जोखिमका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्ने, कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगलाई प्रवाह गरिने कर्जालाई प्राथमिकतामा राखी प्रविधिमैत्री बनाउने र त्यसका लागि उचित तालिमको व्यवस्था मिलाउने लगायतका बिषयबस्तुमा सम्झौता भएको महासंघले जनाएको छ ।
समझदारीपत्रमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।